नेभिगेसन मेनु

छिचोलियो महादेवटार सुरुङ
सम्पादक:南亚网络电视
समय:2026-11-19 11:48

544

राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत नेपालकै सबैभन्दा लामो महादेवटार सुरुङ बुधबार छिचोलिएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेल मकवानपुरस्थित महादेवटार सुरुङ छिचोल्न पुग्नुभएको थियो । यसलाई राजधानीसँग तराई/मधेश जोड्ने रणनीतिक महत्वको द्रुतमार्ग निर्माणमा अर्को महत्वपूर्ण उपलब्धि मानिएको छ । द्रुतमार्गमा निर्माणाधीन सात वटा सुरुङमध्ये महादेवटार, धेद्रे र लेनडाँडा सुरुङका दुवैतर्फका खण्ड छिचोलिएको छ । सुरुङ निर्माणले गति लिएसँगै यही असोजसम्मको समग्र आयोजनाको भौतिक प्रगति ५०.५४ प्रतिशत र वित्तीय प्रगति ५२ प्रतिशत रहेको छ ।

ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ७०.९७७ किलोमिटर लामो द्रुतमार्ग निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएको छ । खोकना क्षेत्रको जग्गा अधिग्रहण, स्थानीय विवाद र निर्माण व्यवस्थापनका समस्याले आयोजनाको गति प्रभावित हुँदै आएको छ । बुधबार सुरुङ छिचोलिएको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारी नेपाली सेनाले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गर्नुभयो । नेपाली सेनाले राष्ट्रनिर्माण तथा विकासका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याउँदै आएको उहाँको धारणा थियो ।

उहाँले विकट भौगोलिक अवस्था, जटिल भूबनोट र प्रतिकूल परिस्थितिका बाबजुद राष्ट्रिय महत्वका सडक तथा पूर्वाधार निर्माणमा नेपाली सेनाले प्रदर्शन गर्दै आएको व्यावसायिक दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय तथा अनुकरणीय रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “विशेष गरी विकट भौगोलिक अवस्था, जटिल भूबनोट तथा प्रतिकूल परिस्थितिका बाबजुद राष्ट्रिय महत्वका सडक तथा पूर्वाधार निर्माणमा नेपाली सेनाले लामो समयदेखि गर्दै आएको व्यावसायिक दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय एवं अनुकरणीय रहेको छ ।” 

राष्ट्रपति पौडेलले काठमाडौँ उपत्यकालाई तराई/मधेशसँग प्रत्यक्ष जोड्ने आधुनिक प्रविधिमा आधारित द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने विश्वास पनि व्यक्त गर्नुभयो । द्रुतमार्ग सञ्चालनमा आएपछि यात्रा समय र दुरी उल्लेख्य रूपमा घट्ने, इन्धन खपत कम हुने तथा सवारीसाधन सञ्चालन र मर्मतसम्भार खर्चमा समेत बचत हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदानमार्फत देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा अहम् भूमिका निर्वाह गर्ने यो आयोजना समयमा नै सम्पन्न गर्न नेपाल सरकार तथा नेपाली सेना दृढ रहेको पाएको छु ।”  आयोजना समयमै सम्पन्न गर्न प्रभावकारी समन्वय र सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले निर्माणका क्रममा कुनै कसर बाँकी नराखी जिम्मेवारी पूरा गर्न र नेपाली सेनालाई सबै क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभयो ।

चार वटा बन्न बाँकी 

नेपाली सेनाले द्रुतमार्गमा कुल ११.२ किलोमिटर लम्बाइका सात वटा सुरुङ निर्माण भइरहेको जनाएको छ । सैनिक प्रवक्ता, सहायकरथी राजाराम बस्नेतले महादेवटार, धेद्रे र लेनडाँडा सुरुङका दुवैतर्फको भाग छिचोलिएको बताउनुभयो । यी सुरुङमा अब भित्री संरचना, सडक ढलान, निकास प्रणाली, विद्युतीकरण, सुरक्षा उपकरण तथा अन्य फिनिसिङका काम अघि बढाउने कार्य थालिएको बताउँदै प्रवक्ता बस्नेतले भन्नुभयो, “महादेवटार सुरुङ यस आयोजनाको मात्र नभई सडकतर्फ नेपालको सबैभन्दा लामो सुरुङ हो । यसको बायाँ सुरुङको लम्बाइ तीन हजार ४८६ मिटर रहेको छ । उक्त सुरुङमा ब्रेकथ्रु सम्पन्न भएको छ ।” उहाँका अनुसार तीन हजार ४२२ मिटर लामो दायाँ सुरुङमध्ये तीन हजार ३४२.७ मिटर निर्माण सम्पन्न भएको छ । यसअघि भदौ दोस्रो साता महादेवटारको समानान्तर अर्को सुरुङमा छिचोलिसकिएको छ । बुधबार दोस्रो सुरुङसमेत छिचोलिएपछि महादेवटारमा दुवैतर्फ सुरुङ खन्ने काम पूरा भएको छ ।

त्यसै गरी धेद्रे सुरुङको एक हजार ७२८ मिटर लामो बायाँ र एक हजार ६५३ मिटर लामो दायाँ सुरुङमा छिचोलिएको छ । त्यस्तै लेनडाँडाको एक हजार ६३३ मिटर लामो बायाँ र एक हजार ६१२ मिटर लामो दायाँ सुरुङमा पनि छिचोलिसकिएको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य चार सुरुङमा भने खनाइको काम जारी छ । दुई हजार २५० मिटर लामो चन्द्राम भिर सुरुङमा ८४७.७ मिटर खनिएको छ । एक हजार ८७ मिटर लामो देवीचौर सुरुङमा १५३.६ मिटर र ५२० मिटर लामो सिसौटार सुरुङमा ६४.४ मिटर खनिएको छ । ५८३ मिटर लामो मौरीभिर सुरुङमा भने पोर्टल निर्माणको काम भइरहेको छ ।

सुरुङ निर्माणका लागि जटिल भूबनोट, चट्टानको प्रकृति, भौगर्भिक अवस्था र पानीको निकास व्यवस्थापन, सडकको सतह, भित्री अस्तर, प्रकाश, हावाको आवागमन, अग्नि नियन्त्रण र आपत्कालीन उद्धार प्रणाली जडान गर्नुपर्ने भएकाले ब्रेकथ्रुलाई सुरुङ निर्माणको एउटा महत्वपूर्ण चरणका रूपमा लिने गरिएको छ ।

८५ वटा पुलको ठेक्का

द्रुतमार्गमा सडक र सुरुङसँगै पुल निर्माण पनि महत्वपूर्ण पूर्वाधारका रूपमा अघि बढाइएको छ । आयोजना अन्तर्गत ८९ स्थानमा पुल निर्माण गर्नुपर्नेमा ८५ स्थानका पुलको ठेक्का सम्झौता भई निर्माण भइरहेको छ । खोकना खण्डमा पर्ने चार वटा पुलको भने ठेक्का व्यवस्थापन हुन सकेको छैन । हालसम्म पाँच वटा पुल निर्माण सम्पन्न भएका छन् भने ५७ स्थानका पुलको फाउन्डेसन, ४० स्थानका पुलको सबस्ट्रक्चर र १७ स्थानका पुलको सुपर स्ट्रक्चर निर्माण सम्पन्न भएको छ ।

द्रुतमार्गमा भौगोलिक अवस्था अनुसार अग्ला पुल निर्माण गरिएका छन् । कतिपय पुलको उचाइ ८२ मिटरसम्म रहेको छ । पहाडी भूभाग, खोल्सा र गहिरा खोँच पार गर्न अग्ला पुल निर्माण गर्नुपर्ने भएकाले पुलको जग, पिल्लर र माथिल्लो संरचना निर्माणमा विशेष प्रविधि तथा प्राविधिक दक्षता आवश्यक पर्ने आयोजनाले जनाएको छ ।

खोकनमा जग्गा विवाद 

द्रुतमार्ग निर्माणको सबैभन्दा जटिल पक्षमध्ये खोकना खण्डको जग्गा अधिग्रहण र स्थानीय विवाद रहेको छ । ललितपुरको खोकना–डुकुछाप क्षेत्रमा आयोजनाको सुरु बिन्दु, जग्गा अधिग्रहण र सवारी आवागमन व्यवस्थापनसम्बन्धी विषय अझै टुङ्गिन सकेको छैन । आयोजनाको विस्तृत आयोजना प्रतिवेदन अनुसार मूल्य निर्धारण भइसके पनि अधिग्रहण हुन बाँकी व्यक्तिगत जग्गा १३६ रोपनी र गुठीको जग्गा १४ रोपनी रहेको छ । त्यस्तै मूल्य निर्धारण हुन बाँकी जग्गा १६५ रोपनी छ । स्थानीय बासिन्दाले द्रुतमार्गसँगै स्मार्ट सिटी र बाहिरी चक्रपथलगायत आयोजना एकै क्षेत्रमा निर्माण गर्दा पुरातात्िवक तथा सांस्कृतिक सम्पदामा असर पर्ने भन्दै आपत्ति जनाउँदै आएका छन्  

हालसम्म आयोजनामा ९५ अर्ब १७ करोड रुपियाँ खर्च भइसकेको सेनाले जनाएको छ । द्रुतमार्ग सम्पन्न भएपछि काठमाडौँबाट तराई/मधेशको यात्रा छोटिने, व्यापार तथा पारवहन लागत घट्ने र राजधानी तथा तराईका आर्थिक गतिविधिबिचको सम्बन्ध थप बलियो हुने अपेक्षा गरिएको छ ।  सबैभन्दा लामो महादेवटार ब्रेकथ्रु समारोहमा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, पूर्वाधार विकासमन्त्री सुनील लम्साल, नेपालका लागि चीनका राजदूत चाङ माओमिङ, कोरियाका राजदूत पार्क जे क्युङ तथा प्रधान सेनापति अशोकराज सिग्देललगायतको सहभागिता थियो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी