
एस ए टिभी, काठमाडौं – बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सम्मानित ६ चिनियाँ चलचित्रको विशेष प्रदर्शन कार्यक्रम मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ।
‘टियानतान अवार्ड प्यानोरामा’ अन्तर्गत आयोजित चलचित्र सप्ताहको उद्घाटन निर्देशक सागर झानद्वारा निर्देशित चलचित्र ‘ट्रयाप्ड’ को प्रदर्शनसँग गरिएको हो। कार्यक्रम चीन चलचित्र प्रशासन, बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव तथा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको सहकार्यमा आयोजना गरिएको हो।
उद्घाटन समारोहमा नेपालका लागि चिनियाँ दूतावासका मिनिस्टर काउन्सिलर चउ पान प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा नेपालका लागि ब्राजिलका कार्यवाहक राजदूत सर्जियो काउटो, वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे, नेपाल कलाकार संघका अध्यक्ष उत्तम केसी, निर्देशक समाजका अध्यक्ष अरुण प्रधान, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, अभिनेता प्रमोद अग्रहरी लगायत चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले यस्ता सांस्कृतिक आदान–प्रदानका कार्यक्रमले नेपाल–चीन मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे। साथै, नेपाली चलचित्रलाई चिनियाँ बजारमा वितरण तथा प्रदर्शनका लागि यस्ता कार्यक्रम सहयोगी बन्ने अपेक्षा पनि व्यक्त गरे।

प्रमुख अतिथि चउ फानले चलचित्र मनोरञ्जनको माध्यम मात्र नभई समाज, संस्कृति तथा जीवनशैली बुझ्ने प्रभावकारी माध्यम भएको बताए। उनले यस्ता कार्यक्रमले दुई देशका जनताबीच आपसी समझदारी र सांस्कृतिक सम्बन्धलाई अझ नजिक बनाउने धारणा राखे।
वरिष्ठ निर्देशक तुलसी घिमिरेले नेपाली चलचित्रलाई चिनियाँ बजारमा पहुँच विस्तार गर्न सहकार्य र सहजीकरण आवश्यक रहेको उल्लेख गर्दै यसतर्फ पहल गर्न आग्रह गरे।

उद्घाटन सत्रपछि प्रदर्शन गरिएको चलचित्र ‘ट्रयाप्ड’ का निर्देशक सागर झानसँग दर्शक तथा सञ्चारकर्मीहरूले अन्तरक्रिया गरेका थिए। निर्देशक झानले आफ्नो किशोरावस्थाका अनुभव र सम्झनाबाट प्रेरित भएर चलचित्र निर्माण गरिएको बताए। उनले चलचित्रको कथा पूर्ण रूपमा काल्पनिक भए पनि त्यसमा आफूले देखेका र अनुभव गरेका परिवेशहरू समेटिएको स्पष्ट पारे।
अन्तरक्रियाका क्रममा नेपाली चलचित्र बजारमा ग्रामीण कथावस्तु लोकप्रिय भइरहेका बेला क्राइम–थ्रिलर शैलीको चलचित्र निर्माण गर्नुको कारणबारे सोधिएको प्रश्नमा निर्देशक झानले नेपाली दर्शकको रुचिबारे आफू जानकार रहेको र यो शैली नेपाली दर्शकका लागि नयाँ नभएको बताए।

प्रदर्शनमा सहभागी एक चिनियाँ दर्शकले विदेशमा आफ्नै भाषाको चलचित्र हेर्न पाएकोमा खुसी व्यक्त गरिन् भने नेपाली दर्शकहरूले पनि चलचित्रप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए।

काठमाडौंस्थित चिनियाँ सांस्कृतिक केन्द्र, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका कन्फुसियस इन्स्टिच्युटहरूको सहयोग रहेको उक्त कार्यक्रम बिहीबारसम्म सञ्चालन हुनेछ।
कार्यक्रमको पहिलो दिन ‘ट्रयाप्ड’ बाहेक ‘बियोन्ड द स्काइज’ र ‘समर डायरी’ चलचित्रसमेत प्रदर्शन गरिएको थियो।









