
चिनियाँ दूतावासले सप्तरीको बलान बिहुल गाउँपालिकामा शैक्षिक तथा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले विभिन्न सामग्री सहयोग गरेको छ ।
दूतावासको ‘भाइबरेन्ट भिलेज’ कार्यक्रमअन्तर्गत विद्यालय, बर्थिङ सेन्टर तथा वडा कार्यालयलाई लक्षित गरी उक्त सहयोग उपलब्ध गराइएको हो ।
गाउँपालिकामा चिनियाँ दूतावासका राजनीतिक तथा प्रेस विभाग प्रमुख युकियान चेङ (प्रकाश)को उपस्थितिमा मङ्गलबार सामग्री हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमअन्तर्गत गाउँपालिका–६ सेहरा रौतहटस्थित जागेश्वर गहराई जनता माध्यमिक विद्यालयलाई ११० सेट बेन्चडेस्क, एक हजार १०० थान विद्यालय झोला, दुई हजार २०० थान कापी तथा डटपेन, इरेजर र पेन्सिललगायत शैक्षिक सामग्री उपलब्ध गराइएको विद्यालयका प्रधानाध्यापक भोला यादवले जानकारी दिनुभयो । विद्यालयलाई एउटा वासिङ मेसिनसमेत प्रदान गरिएको छ ।
त्यसैगरी, गाउँपालिकाभित्रका बर्थिङ सेन्टरका लागि १२ थान एयर कन्डिसनर ९एसी० तथा विभिन्न वडामा वडा कार्यालयमार्फत शुद्ध खानेपानी उपलब्ध गराउन पानी शुद्धीकरण प्लान्टसमेत सहयोग गरिएको छ ।
गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवको संयोजनमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रममा मधेशी आयोगका पूर्वअध्यक्ष विजय दत्त, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाको उपस्थिति थियो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि आवश्यक शैक्षिक सुविधा उपलब्ध हुनुका साथै बर्थिङ सेन्टरमा सेवा लिन आउने गर्भवती तथा सुत्केरी महिलालाई सहज वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास गरिएको प्रधानाध्यापक यादवले बताउनुभयो ।










