
एक दशकदेखि फूल खेतीमा रमाउँदै आएका कैलालीका पुष्प कृषक सीताराम चौधरीले तिहारमा मात्रै छ लाख रुपियाँभन्दा बढीको फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । टीकापुर नगरपालिका–१, वनगाउँमा फूल खेती गर्दै आएका उहाँले स्थानीयस्तरमै छ लाख २६ हजार रुपियाँ बराबरको फूल बिक्री गर्नुभएको हो । प्रतिकेजी चार सय रुपियाँका दरले १५ क्विन्टल ६५ केजी फूल बेचेको उहाँले बताउनुभयो । “सयपत्री फूल स्थानीयका घरमा पनि तयार भएकाले यस पटक फूल महँगो थिएन,” चौधरीले भन्नुभयो, “गत वर्षको तुलनामा यो तिहारमा बढी परिमाणमा फूल बिक्री गरेँ ।”
बेसिजन फूल खेतीसमेत गर्दै आएका चौधरीले अफ सिजनका बेला पनि प्रतिकेजी एक हजार रुपियाँसम्ममा सयपत्री बिक्री गर्नुभएको थियो । तिहारका बेला भने फूल सस्तो भए पनि राम्रो परिमाणमा बिक्री भएको उहाँको ठम्याइ छ । उहाँले टीकापुर, लम्कीचुहा नगरपालिकाका स्थानीय मागलाई नै धान्ने गरी फूल उत्पादन गर्नुभएको थियो तर तिहारका लागि खरिद गर्न टाढा टाढाबाट पनि मान्छे आएको चौधरीको भनाइ छ ।
तिहारमा फूल बिक्री गरेर आकर्षक आम्दानी गर्नुभएका चौधरीको बगैँचामा पुनः तिहारको बेला जस्तै फूल फुलिसकेको छ । अब मङ्सिरमा हुने विवाहका लागि फूलको माग आइरहेको उहाँले जानकारी दिनुभयो । चौधरीका अनुसार पाँच क्विन्टल फूलको माग धनगढीबाट छठपूजाका लागि पनि आएको थियो तर मूल्य नमिलेकाले फूल बारीमै छ । तिहारमा मात्रै फूलको महìव हुने होइन । विवाहलगायतका अन्य कार्यक्रमका लागि फूल माग भइरहन्छ । त्यसैले फूलको उचित मूल्य पाए मात्र बिक्री हुने छ ।














