
प्राकृतिक विपद्का कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण तथा प्रभावितलाई सुरक्षित स्थानमा राख्ने उद्देश्यले बाँकेका स्थानीय तहले सुरक्षित आश्रयस्थल निर्माण गर्न थालेका छन् ।
यसैक्रममा बाँकेको राप्तीसोनारी गाउँपालिकाले विपद्का बेला दुई हजार जनासम्मलाई राख्न सकिने क्षमताका सुरक्षित आश्रयस्थल निर्माण गरी तयारी अवस्थामा राखेको छ ।
विशेषगरी वर्षायाममा राप्ती नदीमा आउने बाढीबाट हुन सक्ने डुबानको जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाले सुरक्षित आश्रयस्थल निर्माण गरेको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताउनुभयो ।
उहाँका अनुसार विपद् जोखिमलाई ध्यानमा राखेर गाउँपालिकामा हालसम्म पाँच वटा सुरक्षित आश्रयस्थल निर्माण सम्पन्न भएका छन् भने थप दुई वटा भवन निर्माणाधीन अवस्थामा छन् ।
अध्यक्ष पौडेलका अनुसार वर्षायाममा राप्ती नदी तथा विभिन्न खहरे खोलामा आउने बाढीका कारण गाउँपालिकाका विभिन्न बस्ती डुबानमा पर्ने, खेतीयोग्य जमिन कटान हुने तथा विद्यालय, स्वास्थ्य संस्था र सडकजस्ता पूर्वाधारमा क्षति पुग्ने जोखिम रहँदै आएको छ ।
उहाँले भन्नुभयो, “राप्तीसोनारी सबैखाले विपद्बाट प्रभावित हुने गाउँपालिका हो । वर्षायाममा राप्ती नदी र विभिन्न खहरे खोलामा आउने बाढीले बस्ती डुबानमा पर्ने, खेतीयोग्य जमिन कटान हुने तथा विद्यालय, स्वास्थ्य संस्था र सडकजस्ता संरचनामा क्षति पुग्ने गरेको छ ।”
यसैलाई ध्यानमा राखेर गाउँपालिकाले चालु वर्षका लागि विपद् प्रतिकार्य योजना पनि तयार गरेको जनाएको छ । बाढी तथा डुबानबाट प्रभावितको उद्धार गरी सुरक्षित आश्रयस्थलमा राख्ने, स्वास्थ्य उपचार, खाद्यान्न तथा राहत उपलब्ध गराउने र मनोसामाजिक परामर्श प्रदान गर्नेसम्मका व्यवस्था योजनामा समेटिएको गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले बताउनुभयो ।
उहाँका अनुसार प्रतिकार्य योजनाअनुसार स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको छ । वडा कार्यालय, वडा विपद् व्यवस्थापन समिति तथा गाउँपालिका विपद् व्यवस्थापन समितिमार्फत मनसुनअघि र मनसुनपछि आवश्यक तयारी तथा व्यवस्थापनका कामलाई निरन्तरता दिइएको छ ।
यसैगरी, हरेक वर्ष बाढी तथा डुबानको जोखिममा पर्दै आएका बस्तीका बासिन्दाको सुरक्षाका लागि डुडुवा गाउँपालिकाले पनि राप्ती नदी किनारका क्षेत्रमा सुरक्षित आश्रयस्थल निर्माण गरेको जनाएको छ ।











