
जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २० वर्षीया महिलाको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएको छ ।
अछामको मङ्गलसेन नगरपालिका–४ निवासी ती महिलामा जटिल प्रसूति समस्या देखिएपछि मङ्सिर १ गते तत्काल हवाई उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको हो ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गर्दै आएको हवाई उद्धार कार्यक्रममार्फत उक्त उद्धार गरिएको हो ।
दुर्गम तथा भौगोलिक विकटताका कारण सहज स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुविधासम्पन्न स्वास्थ्य संस्थासम्म पुर्याई आमा र शिशुको जीवन रक्षा गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।
प्रसूति जटिलताका कारण जोखिममा परेका महिलालाई तत्काल उद्धार गरी उपचारको पहुँचमा पुर्याउने यस कार्यक्रमले दुर्गम क्षेत्रका महिलाका लागि जीवनरक्षाको आधार प्रदान गर्दै आएको छ ।
















