
धनकुटा घर भएका सशस्त्र प्रहरी बल नेपालमा कार्यरत दुई प्रहरी जवानले मनाङस्थित ६ हजार ३८ मिटर अग्लो चुलु हिमालको सफल आरोहण गर्दै पर्वतीय खोज तथा उद्धार तालिम पूरा गरेका छन् ।
धनकुटाको सहिदभूमि गाउँपालिका–२ निवासी तथा सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेडक्वार्टर छिन्ताङमा कार्यरत प्रहरी जवान प्रदीप श्रेष्ठ र महालक्ष्मी नगरपालिका–१, मारेककटहरे निवासी तथा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर झापामा कार्यरत प्रहरी जवान टेकेन्द्र आले मगर तालिममा सहभागी हुनुभएको हो ।
मनाङमा दुई महिनासम्म सञ्चालन भएको सि.नं. ३ उन्नत उच्च हिमाली खोज तथा उद्धारअन्तर्गतको पर्वतीय उद्धार तालिम गत कात्तिक २९ गते सम्पन्न भएको प्रहरी जवान श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार तालिममा ३४ जना प्रशिक्षार्थी र नौ जना प्रशिक्षक गरी ४३ जनाको सहभागिता थियो । अत्यधिक चिसो, हिमपहिरोको जोखिम र अक्सिजनको कमीका बाबजुद चुलु हिमालको चुचुरोमा पुगेर तालिम लिन पाउँदा खुसी लागेको उहाँले बताउनुभयो ।
तालिम सफलतापूर्वक सम्पन्न भएपछि टोलीले चुलु हिमालको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा र सशस्त्र प्रहरी बलको झण्डा फहराएको श्रेष्ठले जानकारी दिनुभयो ।
हिमाल आरोहण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेपछि प्रहरी जवान श्रेष्ठले भन्नुभयो, ‘६ हजार ३८ मिटर अग्लो चुलु हिमालको आरोहण मात्रै होइन, यो सफलता मेरो गाउँ, मेरो परिवार र सशस्त्र प्रहरी बललाई समर्पित गर्दछु ।’
तालिमबाट प्राप्त सिप र अनुभवले हिमाली क्षेत्रमा जोखिममा परेका तथा फसेका व्यक्तिको खोजी र उद्धार गर्न थप सक्षम बनाएको उहाँको भनाइ छ ।













