
थारू समुदायको कला, संस्कृति र पहिचान संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको दंगीशरणस्थित थारू सांस्कृतिक ग्राम तथा पार्क सञ्चालनमा नआउँदै जीर्ण बन्न थालेको छ ।
लुम्बिनी प्रदेश सरकारको करिब डेढ करोड रुपियाँको लगानीमा २०७९ सालमा निर्माण गरिएको सांस्कृतिक ग्राम तथा पार्क तीन वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।
उचित संरक्षण र व्यवस्थापनको अभावमा पार्कमा झाडी उम्रिएको छ भने सांस्कृतिक ग्रामको भवनसमेत तोडफोड र बेवास्ताका कारण जीर्ण बन्दै गएको छ । दंगीशरण गाउँपालिका–३ र ५ को बीचमा पर्ने करिब ८२ बिघा क्षेत्रफलमा फैलिएको रानीवनको उत्तर तथा पश्चिम क्षेत्रमा सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरिएको हो । प्राकृतिक सुन्दरताले भरिएको रानीवन क्षेत्रमा निर्माण गरिएका संरचना सञ्चालनमा आउन नसक्दा अहिले प्रयोगविहीन बनेका छन् ।
पार्कमा पिकनिक स्थल, सिमेन्टका कुर्सी, टेबल र बेन्च निर्माण गरिएका छन् । पार्कको चारैतिर ब्लक बिछ्याउनुका साथै पर्खाल लगाइएको छ । त्यस्तै, पार्कभित्र पैदल हिँड्नका लागि गोरेटो बाटोमा टायल बिछ्याइएको छ । तर, संरक्षण र व्यवस्थापन नहुँदा यी संरचना प्रयोगविहीन अवस्थामा छन् ।
दंगीशरण गाउँपालिकाका पूर्वअध्यक्ष भागीराम चौधरीका अनुसार सांस्कृतिक ग्रामको भवन निर्माणमा करिब डेढ करोड रुपियाँ र पार्क निर्माणमा जनश्रमदानसहित ५५ लाख रुपियाँ खर्च भएको छ । थारू समुदायको सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र पहिचान स्थापित गर्ने उद्देश्यले आफू गाउँपालिका अध्यक्ष हुँदा यसको निर्माणका लागि पहल गरिएको उहाँले बताउनुभयो ।
दंगीशरणलाई पर्यटनसँग जोडेर स्थानीय आर्थिक गतिविधि बढाउने लक्ष्यसहित निर्माण गरिएको संरचना सञ्चालनमा आउन नसक्नु दुःखद भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “थारू राजा दंगीशरणको दरबार रहेको सुकौराकोट नजिकै छ । यही वडामा थारू सांस्कृतिक सङ्ग्रहालय पनि छ ।
यी दुवै क्षेत्रलाई सांस्कृतिक ग्रामसँग जोडेर व्यवस्थित रूपमा सञ्चालन गर्न सके दंगीशरणलाई छिट्टै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिन्थ्यो । तर प्रभावकारी कार्यान्वयन र व्यवस्थापन हुन नसक्दा सांस्कृतिक ग्राम तथा पार्क प्रयोगविहीन बन्न पुगेको छ ।”
थारू समुदायको मौलिक कला, संस्कृति, रहनसहन र ऐतिहासिक सम्पदाको संरक्षण गर्दै नयाँ पुस्तालाई आफ्नो पहिचानसँग जोड्ने उद्देश्यले निर्माण गरिएको संरचना उपयोगमा नआउँदा राज्यको लगानीको प्रतिफलसमेत प्राप्त हुन सकेको छैन ।
प्राकृतिक सुन्दरता र सांस्कृतिक महत्त्व बोकेको रानीवन क्षेत्रमा निर्माण गरिएको पार्कलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने सम्भावना छ । यता, दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले सांस्कृतिक ग्राम तथा पार्कको अवस्थाबारे प्रतिक्रिया दिन चाहनुभएन । उहाँले यस विषयमा पछि कुरा गर्ने भन्दै पन्छिनुभयो ।
प्रदेश सरकारमार्फत निर्माण गरिएको संरचनाबारे प्रदेश सरकारसँगै बुझ्नुपर्ने उहाँको भनाइ थियो । पार्कमा ३० वटा सिमेन्टका कुर्सी राखिएका छन् भने करिब एक किलोमिटर गोरेटो बाटोमा टायल बिछ्याइएको छ । पिकनिक स्थलसमेत निर्माण गरिएको छ । तर, सञ्चालन र संरक्षणको योजना नहुँदा करोडौँको लगानीमा बनेका संरचना उपयोगविहीन बन्दै गएका छन् ।











