
जिल्ला कारागार कालीकोटको जीर्ण भवनमा क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिँदा समस्या भएको छ । यहाँको भौतिक संरचना अत्यन्तै जीर्ण छ । जीर्ण भवनमा यति धेरै कैदी बस्नुपर्दा जीवनको जोखिम पनि उत्तिकै छ । कतिका मुद्दा चलिरहेका छन् केही अझै थपिन्छन् होला तर यो भवनमा कैदीलाई बास बसाउने ठाउँसमेत नभएको कारागार व्यवस्थापनको गुनासो छ ।
सीमित पूर्वाधार, साँघुरा कोठा र कैदीको बढ्दो चापका कारण जिल्ला कारागार कालीकोट व्यवस्थापनमा चुनौती थपिएको छ । २०३७ सालमा स्थापना भएको कारागार २०६५ सालमा मर्मत गरिए पनि अहिले जीर्ण बन्दै गएको छ ।
कारागारभित्र कैदी राख्ने क्षमता सीमित भए पनि कैदीबन्दीको सङ्ख्या बढ्दै जाँदा उपलब्ध संरचनाले धान्न नसक्ने अवस्था सिर्जना भएको हो । लामो समय भइसक्दा पनि गोलघेराको पर्खालसमेत मर्मत भएको छैन । पुरानो तथा जीर्ण भवनमा क्षमताभन्दा तेब्बर कैदी राख्नुपर्दा उनीहरूको बसोबास, स्वास्थ्य, सरसफाइ र दैनिक जीवनयापनमा समेत समस्या उत्पन्न हुने जोखिम बढेको छ ।
जिल्ला कारागार कालीकोटका निमित्त प्रमुख जेलर कर्णप्रसाद पण्डितले १५ जना पुरुष कैदी राख्ने क्षमता भएको भवनमा ४४ जनालाई व्यवस्थापन गर्दा समस्या बढिरहेको बताउनुभयो । उहाँले यहाँ अहिले ४४ जना पुरुष र चार जना महिला गरी जम्मा ४८ जना कैदी रहेको बताउनुभयो ।
कारागारको भौतिक संरचनासमेत पुरानो र जीर्ण अवस्थामा छन् । महिलाको भवनमा भने दश जनाको क्षमता भए पनि चार जना छन् । पुरुष कैदीलाई भने निकै समस्या छ । एकै लाइनमा सुताउनुपर्ने अवस्था छ पण्डितले भन्नुभयो । समय अनुसार संरचनाको मर्मत, सुधार र विस्तार हुन नसक्दा कैदीबन्दीको चाप व्यवस्थापन गर्न कठिन भइरहेको छ । पटक पटक लेखी पठाए पनि नयाँ भवनका लागि खासै बजेट व्यवस्थापन हुन नसकेको उहाँले गुनासो गर्नुभयो ।
कारागारलाई केवल कैदी थुन्ने स्थानका रूपमा मात्र नभई उनीहरूको मानव अधिकार, स्वास्थ्य, सुरक्षा र सुधारसँग जोडिएको संस्थाका रूपमा विकास गर्नुपर्ने हो, तर यहाँ बास बस्ने राम्रो अवस्था छैन । पर्याप्त भौतिक पूर्वाधार र आवश्यक सुविधाको अभावमा कारागारको उद्देश्य अनुसार सेवा प्रवाह गर्न चुनौती देखिएको छ । क्षमताभन्दा बढी कैदी राख्ने अवस्थाको अन्त्य गर्न कारागारको भौतिक संरचना सुधार, क्षमता विस्तार र वैकल्पिक व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ ।















