नेभिगेसन मेनु

‘जाँत’ को रौनक छायो सुदूर पहाडमा
सम्पादक:南亚网络电视
समय:2026-11-18 16:05

3222

सुदूरपश्चिम प्रदेशका बैतडीलगायत पहाडी जिल्लाका गाउँबस्तीमा मौलिक ‘जाँत’ मेलाको रौनक छाएको छ । कात्तिक शुक्लपक्ष सुरु भएसँगै मङ्सिर महिनासम्म चल्ने जाँतले यतिबेला सुदूरपश्चिमका डाँडाकाँडा, शक्तिपीठ र मठमन्दिरमा रमाइलो छाएको छ । 

त्रिपुरासुन्दरी मेलामा भारतबाटसमेत धार्मिक पर्यटक आउन थालेका छन् । जाँतको रौनक हेर्ने र पूजा गर्न भारतको उत्तराखण्डको पिथौरागढबाट बैतडी आइपुगेको सुरेन्द्र आर्यले बताउनुभयो । मेलामा भारतीय धार्मिक पर्यटकको घुइँचोले गोठालापानी बजारका होटेल अग्रिम बुक भएका छन् । जाँतमा भरातीय पर्यटक भित्रिँदा होटेल व्यवसायी उत्साहित बनेको होटेल पञ्चचुलीका सञ्चालक अमर कार्कीले बताउनुभयो ।  

बैतडी, डडेलधुरा र दार्चुलाका मेलामा भारतको उत्तराखण्ड, पिथौरागढ, चम्पावत र  झुलाघाटबाट हजारौँ दर्शनार्थी आउने जाँतले नेपाल–भारतबिचको धार्मिक सम्बन्ध प्रगाढ बनाउनुका साथै स्थानीय कृषि उपज, हस्तकला र ग्रामीण व्यापार व्यवसायलाई ठुलो टेवा पुगेको उद्योग वाणिज्य सङ्घ बैतडीका अध्यक्ष नरबहादुर चन्दले बताउनुभयो । 

कामको सिलसिलामा भारत तथा तेस्रो मुलुक गएका र बसाइँ सरेर तराईका कैलाली–कञ्चनपुर झरेका सुदूरपश्चिमेली आफ्ना कुलदेवताको पूजाआजा गर्न पुख्र्यौली थलो फर्किने व्रmम बढेसँगै गाउँघरमा उत्सवमय वातावरण बनेको सुर्नया गाउँपालिकाका दीपेन्द्र मडैले बताउनुभयो । 

समुद्री सतहबाट करिब दुई हजार नौ सय मिटर उचाइमा रहेको रौलेश्वर मन्दिरको डाँडामा देउरो लैजाँदा अग्लो डाँडामा दमाहा र झ्यालीले गुञ्जायमान बनेको उहाँले बताउनुभयो । सुर्नया गाउँपालिका–५ स्थित रौलाकेदारधाममा कात्तिक शुक्ल सप्तमी–अष्टमी तथा सिगास गाउँपालिकास्थित भूमिराज मन्दिरमा कात्तिक अन्तिम साता जात्रा लाग्छ ।  

जाँतले देउता पुज्ने कामसँगै दमाहा, झ्याली र भोक्करको गुञ्जनसँगै रातभर खेलिने देउडा र दिउँसो नाचिने वीरताको प्रतीक ‘चौलो’ ले सुदूरपश्चिमको प्राचीन संस्कृतिलाई जीवन्त बनाएको छ । 

शिवनाथमा छालाको ‘गिर’ 

सुदूरपश्चिममा सबैभन्दा धेरै जात्रा लाग्ने जिल्लामध्ये बैतडी प्रमुख हो । तल्लोस्वराड क्षेत्रको प्रमुख धार्मिक केन्द्र शिवनाथ गाउँपालिका–६,  शिवनाथधाममा हरेक वर्ष कार्तिक शुक्ल सप्तमीको राति ‘रतेडी’ र अष्टमीको बिहान ‘दिउसेडी’ जात्रा लाग्ने गर्छ ।  यो मेलामा शिवनाथ–५, कफाडीबाट सामूहिक देउरोसँगै परम्परागत ‘छालाको गिर’ (भकुन्डो) खेल्दै मन्दिर पुग्ने दृश्य यहाँको मुख्य आकर्षण हो । दशरथ चन्द नगरपालिका–८ स्थित १३ औँ शताब्दीतिर स्थापना भएको मानिने प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा कार्तिक शुक्ल अष्टमी र नवमीका दिन विशाल ‘रणसैनी जाँत’ अर्को आकर्षण बनेको छ । 

पञ्चेश्वरमा धुराजाँत 

पञ्चेश्वर गाउँपालिका–४, आमचोरास्थित अग्लो डाँडा (धुरा) मा रहेको कैलपाल मन्दिरमा कार्तिक कृष्ण तथा (मङ्सिर कृष्ण) षष्ठीको राति र सप्तमीका दिन भव्य ‘धुराजाँत’ लाग्ने गर्छ । मेलौली नगरपालिकास्थित मेलौली भगवती र दशरथ चन्द नगरपालिकास्थित निगलासैनी भगवती मन्दिरमा कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन विशाल मेला लाग्ने गर्छ ।  जिल्लाकै एक मात्र दलित पुजारी रहने बैतडी पाटनको बनारसीधाममा यही शुक्ल दशमी (मङ्सिर ३ गते) का दिन मेला लाग्ने गर्छ । 

डडेलधुराको देहीजाँत र बडालको ‘चौलो’ डडेलधुराको अमरगढी नगरपालिका–८ स्थित प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात ‘रतेडी’ र भोलिपल्ट ‘दिउसेडी’ मेला (देहीजाँत) लाग्छ । छचोडा, खनमडा, दुमडा र जिलोडा गाउँबाट देउरो आएपछि मेला सुरु हुन्छ । गन्यापधुरा गाउँपालिका–२ स्थित बडालमा लाटागन्याप देवताको भक्ति स्वरूप लाग्ने बडाल जाँतमा परम्परागत ढाल, तरबार, खुकुरी र भाला नचाउँदै खेलिने ‘चौलो’ नाच हेर्न हजारौँको घुइँचो लाग्छ ।  

दार्चुलादेखि बाजुरासम्म रौनक

दार्चुलाको मालिकार्जुन गाउँपालिका–३, मडस्थित राष्ट्रको सातौँ धाम मानिने मालिकार्जुन मन्दिरमा कार्तिक शुक्ल चतुर्दशी तथा मङ्सिरमा रात्रिकालीन र दिवा विशाल जात्रा लाग्दछ । अछामको कमलबजार नगरपालिका–७, जामा गाउँमा कार्तिक शुक्ल पञ्चमीदेखि चतुर्दशीसम्म लगातार १० दिन केदारनाथ मेला लाग्छ । 

बैतडी, डडेलधुरा र दार्चुलाका मेलामा भारतको उत्तराखण्ड, पिथौरागढ, चम्पावत र झुलाघाटबाट हजारौँ दर्शनार्थी आउने जाँतले नेपाल–भारतबिचको धार्मिक सम्बन्ध प्रगाढ बनाउनुका साथै स्थानीय कृषि उपज, हस्तकला र ग्रामीण व्यापार व्यवसायलाई ठुलो टेवा पुगेको छ ।   

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी