
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा पटक पटक भारी मात्रामा हिमपात हुँदा सुनखानी प्रहरी चौकीमा समस्या भएको छ । हिमपातले गर्दा प्रहरीलाई खाद्यान्न, दाउरा, खानेपानीलगायतको व्यवस्था गर्न कठिन भएपछि समस्या थपिएको हो ।
कात्तिक २९ गते फेरि भारी हिमपात भएपछि समस्या परेको लिमी सुनखानी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक मानबहादुर देउवाले बताउनुभयो । यो समस्या असोज ९ गतेबाट १२ गतेसम्म परेको हिमपात र कात्तिक १२ गतेबाट १४ गतेसम्म परेको हिमपातमा पनि भोग्नु परेको उहाँले बताउनुभयो । जिल्लाबाट लिनुपर्ने खाद्यान्न असोज पहिलो साताबाट लिन नसकेका कारण खाद्यान्नको व्यवस्थापन गर्न पनि प्रहरीलाई हम्मे हम्मे परिरहेको उहाँको भनाइ छ ।
हाल सुनखानी प्रहरी चौकीमा नौ जना प्रहरी कार्यरत छन् । चौकीमा खाद्यान्न सकिएपछि लिमीको हल्जी गाउँमा पुगेर मैदा, उवाको पिठो, आलु, केराउ ल्याएर व्यवस्थापन गर्नु परेको उहाँले जानकारी दिनुभयो । त्यसै गरी खानेपानीको धारामा बरफ जमेका कारण हिउँ बिलाएर खानेपानीको समस्या टार्ने गरिएको बताउँदै उहाँले दाउराको व्यवस्था पनि जेनतेन गर्ने गरिएको जानकारी दिनुभयो । निरन्तर हिमपात भइरहँदा तापक्रम पनि माइनस डिग्री सेल्सियसमा झरेका कारण चिसोबाट बच्न प्रहरीलाई समस्या हुने गरेको छ ।
प्रहरी चौकीको भवन पनि जीर्ण अवस्थामा रहेका कारण केही कोठामा हिउँ सिधै भित्र पर्ने गरेको छ । लिमीका वडाध्यक्ष पाल्जोर तामाङले सुनखानी प्रहरी चौकीका प्रहरीले एक किसिमको सजाय नै भोगी रहेको जस्तो स्थानीयले अनुभव गरेको बताउनुभयो ।
कात्तिक पहिलो हप्ता जिल्ला फिर्ता हुनुपर्ने प्रहरी हिमपातले न्यालु लेकको सडक बन्द भएका कारण लिमीमै बस्नु परेको छ । न्यालुको हिउँ पन्छाउने कार्य सुरु भएको भए पनि आइतबार फेरि थपिएकाले अब तत्काल न्यालुको हिउँ पन्छाउने र सडक खुलेसँगै प्रहरी जिल्ला फिर्ता हुन्छन् । लिमीको प्रहरी वैशाखदेखि कात्तिक पहिलो हप्तासम्म मात्र चौकी बस्ने र बाँकी हिउँदको समयमा जिल्लामा फिर्ता हुने गर्छन् ।














