
हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१, मा अवस्थित मुक्तिनाथ मन्दिरबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा मेची महाकाली यात्रासँगै नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) पुगेर समापन भएको छ ।
समुन्द्री सतहदेखि ३ हजार ६१० मिटरको उचाइँमा अवस्थित मुक्ति क्षेत्रको नामले चिनिने मुक्तिनाथबाट सुरू भएको रथयात्राको क्रममा संसारको जुनकुनै स्थानमा भए पनि एक पटक मुक्तिनाथको दर्शन र त्यहाँका १०८ धारा र जलकुण्डमा नुहाउँदा मोक्ष प्राप्ति हुने प्रचारसहित कालिगण्डकी करिडोरअन्तर्गत म्याग्दीबाट प्रवेश गरी काठमाडौं पुगेर काभ्रे हुँदै जनकपुरधाम लगायत मेचीदेखि महाकालीसम्मका ३५ भन्दा बढी जिल्लामा रथयात्रा गरिएको रथयात्रा सचिवालयका प्रमुख सिपी आचार्यले बताउनुभयो ।
उहाँका अनुसार स्वामी कमलनयनाचार्यको सत्सङकल्पमा सुरु गरिएको रथयात्रामा मुक्तिनाथ, गलेश्वरधामसहित पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म रहेका प्रमुख धार्मिकस्थलहरूको परिक्रमासहित प्रचार–प्रसार समेत गरिएको थियो ।
रथयात्राको प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले भन्नुभयो, ‘‘दामोदरकुण्डबाट बग्ने कालिगण्डकीको पवित्र जलसँगै मेची र महाकालीको यात्रा गरेका छौं, रथयात्रामा पुगेका पवित्रस्थलको जल गण्डकीमा अर्पण गर्नछौ ।’’ रथयात्रामा पुगेको जिल्लामा भक्तजनको स्वागत तथा बजार परिक्रममा गरिएको थियो ।
संसारमा कालीगण्डकी नदीमा मात्रै पाइने शालग्रामको संरक्षण तथा प्रचार–प्रसारका लागि समेत रथयात्राले सघाएको प्रबक्ता प्रपन्नाचार्यको भनाइ छ । रथयात्रालाई ज्योति बाबा स्वामी श्रीजी च्यारिटेवल ट्रप्स एवं नेपाल तीर्थस्थल विकास समितिले समेत सघाएको छ । यसैबिच रथयात्रा समापन भएसँगै मंगलबारदेखि नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) मा एक महिने महायज्ञ सुरु भएको छ ।
महायज्ञमा दैनिक सामूहिक संकल्प, कन्या पूजा तथा दीप प्रज्ज्वलनसहित दिवंगत आत्माहरुको शान्तिको कामनासहित पितृ मुक्तिको कार्य गरिने छ । मुक्तिनाथबाबा स्वामी कमलनयनाचार्यको उपस्थितिमा भएको रथयात्रासहित महायज्ञमा भक्तजनको उपस्थिति उत्साहजनक रहेको बताइएको छ ।










