
नेपालको दार्चुलामा मात्र बसोबास रहेको सौका समुदाय विस्तारै चिसो बढ्न थालेपछि गर्मी हुने ठाउँतिर बसाइँ सर्न थालेका छन् । व्यास गाउँपालिका–१, तिङ्करमा बसोबास गर्दै आइरहेका सौका समुदायका मानिस चिसो बढ्न थालेपछि गर्मी खोज्दै झर्न थालेका हुन् ।
उनीहरू आफ्नो थातथलो (तिङ्कर, छाङरु) गाउँबाट सदरमुकाम खलङ्गा बसाइँ सर्न थालेका छन् । परम्परागत रूपमा विगतदेखि नै गर्मीयामको छ महिना तिङ्कर, छाङरुगाउँमा बस्ने सो समुदाय हिउँदको छ महिना सदरमुकाम खलङ्गामा बसाइँ सर्ने गर्छन् । बसाइँसराइ गर्नुलाई सौका समुदायको भाषामा ‘कुञ्चा’ सर्नु भनिन्छ । गत वैशाख दोस्रो साता गाउँ उक्लेको सौका समुदायको ‘कुञ्चा’ सदरमुकाम खलङ्गा झर्न लागेको हो । सौका समुदायका मानिसको सदरमुकाम खलङ्गा र गाउँ दुवै ठाउँमा बसोबास रहेको छ ।
नेपालतर्फबाट खलङ्गा झर्ने खासै बाटो नभएका कारण सौका समुदायको ‘कुञ्चा’ भारतको बाटो हुँदै खलङ्गा झर्दै आइरहेको छ । हिउँदयाम सुरु भएसँगै चिसो छल्न थातथलोबाट सदरमुकाम खलङ्गा झर्न लागेको तिङ्करका स्थानीय दानसिंह टिङ्करीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँमा चिसो बढेको छ, तिङ्करगाउँका सबै परिवार आयौँ ।” तिङ्करगाउँको ‘कुञ्चा’ खलङ्गा झरिसकेको तथा छाङरुको ‘कुञ्चा’ एक सातापछि झर्ने छाङरुका स्थानीय योगेशसिंह बोहोराले बताउनुभयो । गत वर्ष मङ्सिर १ गते सदरमुकाम खलङ्गा झरेको ‘कुञ्चा’ यस वर्ष कात्तिकको अन्तिम साता झरेको उहाँले बताउनुभयो । छाङ्रुस्थित नेपाल–भारत सीमाक्षेत्र सीतापुल भएर भारतको बाटो हुँदै सदरमुकाम खलङ्गा आइपुगेको उहाँले बताउनुभयो । सौका समुदायका बालबच्चा, परिवार र वस्तुभाउसहित ‘कुञ्चा’ सर्ने गर्छन् । सदरमुकाम खलङ्गाबाट २८ कोस टाढाको दुरीमा रहेको तिङ्कर र छाङ्रुका मानिस भारतको बाटो हुँदै पैदल ‘कुञ्चा’ सर्ने गर्छन् ।
नेपालबाट यहाँसम्म पुग्ने खासै बाटो छैन । भारतीय बाटो प्रयोग गर्दा सुरक्षाकर्मीको दुव्र्यवहार खेप्नुपर्ने, अनुमति लिनुपर्नेलगायतका समस्या रहेको टिङ्करीले बताउनुभयो । ‘कुञ्चा’ सर्दा भारतको बाटो प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले बाटोघाटो तथा सडक निर्माण गर्नुपर्ने यहाँका स्थानीयले माग गरेका छन् । सदरमुकाम खलङ्गाबाट तिङ्करगाउँ पुग्न छ दिनको पैदलयात्रा गर्नु पर्छ । व्यासको छाङरुगाउँमा १२५ र तिङ्करगाउँमा ७० परिवारको बसोबास रहेको व्यासी सौका समाज दार्चुलाले जनाएको छ ।
आफ्नै भाषा, संस्कृति मौलिकता र पहिचान भएका आदिवासी जनजाति व्यासी सौका समुदायका मानिस जिल्लाको व्यास, राप्ला र सितोलामा आदिमकालदेखि बसोबास गर्दै आइरहेका छन् । सौका समुदायका मानिसले ‘रं’ भाषा बोल्ने गर्छन् । वर्षभरि एक मात्रै खेती हुने तिङ्कर र छाङरुका स्थानीयले उवा, नप्पल, फापर र आलुलगायतका अन्नबाली उत्पादन गर्ने गर्छन् ।


















