
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय महिला छनोट क्रिकेट प्रतियोगिता–२०८३ दाङको घोराहीमा सुरु भएको छ ।
लुम्बिनी प्रदेश क्रिकेट सङ्घको आयोजना तथा दाङ जिल्ला क्रिकेट सङ्घको समन्वयमा घोराही उपमहानगरपालिका–१७ स्थित गुलरिया क्रिकेट मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव तिरणदाज गौतमले गर्नुभएको थियो ।
प्रतियोगिताको उद्घाटन गर्दै सदस्यसचिव गौतमले क्रिकेट खेलमा राम्रो सम्भावना रहेकाले महिला खेलाडीलाई निरन्तर अभ्याससँगै खेल क्षमता विकासमा ध्यान दिन आग्रह गर्नुभएको थियो । उहाँले प्रतियोगिताले खेलाडीको क्षमता विकासका साथै उत्कृष्ट खेलाडीको पहिचान गर्न सहयोग पुग्ने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा घोराही उपमहानगरपालिका–१७ का वडाध्यक्ष रामलौटन चौधरी र नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनले सम्बोधन गर्दै खेलकुद क्षेत्रको विकासका लागि निरन्तर प्रतियोगिता आयोजना र पूर्वाधार विकासमा जोड दिनुभएको थियो ।
मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगिता मङ्सिर ६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा लुम्बिनी प्रदेशका दाङ, रुपन्देही, नवलपरासी पश्चिम, बर्दिया, बाँके, कपिलवस्तु र पाल्पा जिल्लाका महिला खेलाडीको सहभागिता रहेको प्रदेश क्रिकेट सङ्घका सदस्य तथा प्रतियोगिता संयोजक बालकृष्ण खत्रीले जानकारी दिनुभएको छ ।
प्रतियोगिता संयोजक खत्रीका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका साथै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टोलीमा छनोट हुनेछन् । प्रतियोगिताको उद्घाटन खेल दाङ र कपिलवस्तुका खेलाडीबीच भइरहेको छ ।

















