
जाजरकोटका युवा प्रेमबहादुर बुढामगरको गाडीचालकबाट सुरु भएको जीवनको यात्रा अहिले सरकारी सेवाको शाखा अधिकृतसम्म पुगेको छ ।
भौगोलिक विकटता दुर्गम गाउँमा अभाव र सङ्घर्षलाई पराजित गर्दै अधिकृतमा सिफारिस भएका बुढामगर तत्कालीन माओवादी सशस्त्र युद्धमा बुवा गुमाएपछि पाँच वर्षको उमेरमै टुहुरो भएका प्रेमले मामाघरमा बसेर जेनतेन गाउँको सामुदायिक विद्यालयमा अध्ययन गरेका थिए । जीविकोपार्जनका लागि उहाँले जाजरकोट–नेपालगन्ज चल्ने बसको सहचालक हुँदै चालक भएर काम गरिहरनुभएको थियो ।
उच्चशिक्षाको अध्ययन सकेर २०७३ सालमा स्वास्थ्य सेवा कार्यालयको गाडी चलाउँदा लोक सेवाको सपना देखेको बताउने बुढाको सपना अन्ततः पूरा भएको छ ।
२०७८ सालमा सवारीचालकको जागिर छोडेर लोक सेवा आयोगको तयारी गरेको बुढा बताउनुहुन्छ । बागमती प्रदेशबाट सहायक पाँचौँ तह सरकारी सेवामा प्रवेश गर्नुभएको बुढा अहिले पाँचौँ तह हुँदै अधिकृतमा सिफारिस भई सरकारी सेवाको उच्च पदमा पुग्नुभएको छ ।
उहाँका अनुसार मैले मेहनत गरेँ भने सफल हुन्छु भन्ने लागेपछि गाडी छोडेर लगातार अध्ययन गरेर नै सफलता हात परेको हो ।













