नेभिगेसन मेनु

छठको उमङ्गमा शीर्ष व्यक्तित्व
सम्पादक:南亚网络电视
समय:2026-11-16 12:06

322

 सङ्घीय राजधानी काठमाडौँमा व्यस्त रहने विभिन्न  दलका शीर्ष नेता तथा व्यक्तित्व यस वर्षको छठपर्व मनाउन मधेशका विभिन्न गाउँबस्ती, धार्मिक स्थल तथा छठघाटमा पुग्नुभएको छ । राजनीतिक भेटघाट, बैठक र पार्टीका गतिविधिमा व्यस्त रहने विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा उच्चपदस्थ व्यक्तिहरू छठपर्वको अवसर पारेर जनकपुरधाम, सर्लाही, रौतहट, महोत्तरी, पर्सा र सिराहाका विभिन्न धार्मिक स्थलमा पुगेर पूजाअर्चना र स्थानीयसँग भेटघाटमा सहभागी भएका हुन् ।

वीरगन्ज समाचारदाताका अनुसार सभामुख डोलप्रसाद अर्याल छठपर्वका अवसरमा वीरगन्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा आइतबार सहभागी हुनुभएको छ । घडिअर्वा पोखरीपरिसरको अवलोकन तथा स्थानीय श्रद्धालुसँग भेट गर्नुभएका उहाँ वीरगन्ज महानगरपालिका–१६ स्थित नगवा पोखरीको छठ पूजामा पनि सहभागी हुनुभयो । उहाँले बाराको जितपुरस्थित लालका पुल छठघाटमा, परवानीपुर गाउँपालिका–३, इटियाहीस्थित सानो टोल धोबीघाट पुगेर श्रद्धा र आस्थाको प्रतीकका रूपमा लिइने छठ पूजामा सहभागी हुनुभएको छ । 

महोत्तरी समाचारदाताका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले आइतबार बिहान महोत्तरीको लक्ष्मीनारायण मन्दिर तथा जलेश्वरनाथ महादेव मन्दिरमा पूजापाठ गर्नुभएको छ । उहाँ पत्नी निकिता पौडेलसहित जनकपुरबाट धनुषाको मुसहरनिया हुँदै मटिहानी पुग्नुभएको हो । उहाँसँगै महोत्तरी क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उज्ज्वल झा, नेता पुरुषोत्तम यादव, बब्लु गुप्ता, महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रमोद महतोसहितका नेताले छठ पूजा गर्नुभयो । सभापति लामिछानेले वैष्णव सम्प्रदायको प्रमुख मठका रूपमा चिनिएको लक्ष्मीनारायण मठको अवलोकनसहित मठमा रहेको प्रसिद्ध लक्ष्मीनारायण मन्दिरमा पूजापाठसमेत गर्नुभयो । 

ढल्केबर समाचारदाताका अनुसार रास्वपाका सभापति लामिछाने र उहाँकी धर्मपत्नी निकिता पौडेलले जनकपुरधामस्थित ऐतिहासिक गङ्गासागर पोखरीमा छठ पूजा गर्नुभएको छ । 

छठपर्व मनाउन जनकपुरधाम आउनुभएका लामिछाने दम्पतीले आइतबार साँझ गङ्गासागर पोखरीको घाटमा पुगेर परम्परागत विधि अनुसार अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्नुभएको हो । छठ पूजामा सहभागी हुँदा सभापति लामिछाने मिथिलाको मौलिक पहिचान झल्किने धोतीकुर्ता पहिरनमा देखिनुभएको थियो । उहाँकी धर्मपत्नी निकिता पौडेल पनि परम्परागत धार्मिक विधि अनुसार पूजामा सहभागी हुनुभएको थियो । त्यसै गरी नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पत्नी अञ्जना केसीसहित आइतबार बिहान आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ पुग्नुभएको छ । उहाँले स्थानीय छठघाटमा पुगेर छठीमाताको दर्शन तथा पूजाअर्चना गर्नुभयो । 

सर्लाहीको कार्यक्रम सकेर थापा  सोमबार बिहान वीरगन्जका विभिन्न छठघाटमा पुगेर व्रतालु तथा श्रद्धालुसँग भेटघाट गर्ने कार्यक्रम छ । 

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पनि छठपर्वमा सहभागी हुन सिराहा पुग्नुभएको छ । उहाँले सिराहाको लहानस्थित खुट्टीखोला पुगेर छठ पूजामा सहभागी भई व्रतालु तथा श्रद्धालुसँग भेटघाट गर्नुभएको हो । यस वर्ष छठपर्वको मुख्य दिन आइतबार अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिँदै छ । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि चार दिनसम्म मनाइने छठपर्व सम्पन्न हुने छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी