
आज राष्ट्रिय कर दिवस । राष्ट्रिय कर दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । पोखरामा पनि कर दिवसको अवसरमा प्रभातफेरी गरिएको छ ।
आन्तरिक राजश्व कार्यालय पोखराको अगुवाइमा प्रभातफेरी निकालिएको हो । पोखराको सभागृहबाट सुरु भएको प्रभातफेरी सिर्जना चोक, रत्नचोक हुँदै आन्तरिक राजश्व कार्यालय पोखरामा पुगेर समापन गरिएको थियो ।
कर दिवसको नारा “कर न्याय र सुशासनको सुनिश्चिता, समृद्धिमा नागरिकको सहभागिता” भन्ने छ । प्रभातफेरीमा उद्योगी, व्यावसयी, पर्यटन व्यावयासी, सरकारी कर्मचारी लगायतको सहभागिता रहेको थियो । प्रभातफेरीमा सहभागी भएकाहरुले कर सम्बन्धी विभिन्न जानकारीमूलक प्लेकार्ड बोकेका थिए ।
आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख शिवप्रसाद ढुङ्गानाका अनुसार कर दिवस एक सातासम्म मनाइनेछ । मंसिर २ गतेदेखि ६ गते सम्म विभिन्न बस्तुगत संघ, संगठनहरुसँग अन्तक्र्रिया, मंसिर ५ र ६ गते मैत्रीपूर्ण फुटसल र मंसिर ७ गते करदाता सम्मान कार्यक्रम गरी कर सप्ताह समापन गरिने ढङ्गानाले जानकारी दिनुभयो ।
पोखरा कार्यालयमा आयोजित करदाता सम्मान कार्यक्रममा तीन जनालाई सम्मान गरिनेछ । २०५४ मंसिर १ गते नेपालमा आधुनिक कर प्रणालीको रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।













