नेभिगेसन मेनु

एकदिवसीय विश्वकप छनोटमा सुपर सिक्स चरण हटाइयो
सम्पादक:南亚网络电视
समय:2026-11-16 16:32

icc-odi-world-cup-trophy-1024x589

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगिताबाट सुपर सिक्स चरण हटाएको छ।

यसअघि लगातार तीन संस्करणमा प्रयोग गरिएको सुपर सिक्सको संरचना हटाउँदै आईसीसीले आगामी छनोट प्रतियोगिता नयाँ ढाँचामा सञ्चालन गर्ने निर्णय गरेको हो।

आगामी वर्ष फेब्रुअरी–मार्चमा हुने छनोट प्रतियोगितामा १० टोली सहभागी हुनेछन्। उनीहरूलाई पाँच–पाँच टोलीका दुई समूहमा विभाजन गरिनेछ। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। त्यसपछि सेमिफाइनलका विजेताबीच फाइनल हुनेछ।

यसअघि छनोट प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरी समूह चरणपछि सुपर सिक्स खेलाइन्थ्यो। त्यस क्रममा कुल ३४ खेल हुन्थे र शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउँथे। नयाँ ढाँचामा भने खेल संख्या घटाएर २३ मा सीमित गरिएको छ।

बालीमा आइतबार सम्पन्न बैठकपछि आईसीसीले नयाँ संरचनाबारे जानकारी दिएको हो। यसअघि जुलाईमा आईसीसी बोर्डले स्वीकृत गरेको सन् २०२७ को विश्वकपको परिमार्जित संरचनाअनुसार छनोट प्रतियोगिताको विजेताले १४ टोली सहभागी हुने मुख्य विश्वकपमा सिधै स्थान बनाउनेछ।

छनोट प्रतियोगितामा दोस्रो, तेस्रो र चौथो हुने टोलीले विश्वकपको पहिलो चरण अर्थात् सुपर सिरिज खेल्नेछन्। उक्त चरणबाट शीर्ष स्थान हासिल गर्ने टोलीले मुख्य प्रतियोगितामा प्रवेश पाउनेछ।

छनोट प्रतियोगितामा वेस्ट इन्डिज र आयरल्यान्ड वरीयताका आधारमा छनोट भएका छन्। त्यस्तै, विश्वकप लिग–२ बाट अमेरिका, नेदरल्यान्ड्स, स्कटल्यान्ड र ओमानले स्थान बनाएका छन्। बाँकी चार टोलीको टुंगो नेपालमा आगामी महिना हुने छनोट प्लेअफबाट लाग्नेछ।

छनोट प्लेअफमा लिग–२ का पुछारका चार टोली र च्यालेन्ज लिगका चार टोली सहभागी हुनेछन्।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी