नेभिगेसन मेनु

गोरखा आउने पर्यटकको रोजाइमा भीमसेन पार्क
सम्पादक:南亚网络电视
समय:2026-11-17 16:01

bhimsen-park

 ऐतिहासिक महत्त्व बोकेको गोरखा जिल्ला इतिहास बुझ्न र अध्ययन गर्न चाहने पर्यटकका लागि सधैँ आकर्षणको केन्द्र रहँदै आएको छ ।

गोरखा घुम्न आउने विदेशी तथा आन्तरिक पर्यटकका लागि ऐतिहासिक गोरखा दरबार, धार्मिक आस्थाको केन्द्र कालिका मन्दिर, मनकामना मन्दिर र गोरखा दरबार सङ्ग्रहालय प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छन् ।

गोरखा भ्रमणमा आउने पर्यटक विशेषगरी जिल्लाको ऐतिहासिक विरासत र वीरताको इतिहास नजिकबाट अध्ययन तथा अवलोकन गर्न रुचाउँछन् । यिनै पर्यटकीय गन्तव्यसँगै राष्ट्रिय विभूति भीमसेन थापाको जन्मस्थलमा रहेको भीमसेन पार्क पनि नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

गोरखा नगरपालिका–४, फिनामस्थित भीमसेन थापाको जन्मस्थल पीपलथोकमा रहेको उक्त पार्क पछिल्लो समय गोरखा आउने आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्न थालेको हो । विशेषगरी शैक्षिक भ्रमणमा आउने अधिकांश विद्यार्थी राष्ट्रिय विभूति थापाको स्मृतिमा निर्माण गरिएको भीमसेन पार्कको अध्ययन तथा अवलोकनका लागि पुग्ने गरेका छन् ।

“जिल्लाभित्रका मात्र नभई बाहिरी जिल्लाबाट पनि दैनिकजसो भ्रमणमा आउने विद्यार्थी तथा अन्य आन्तरिक पर्यटक भीमसेन पार्क हेर्न आउँछन्,” पार्कको रेखदेख गर्दै आउनुभएकी निर्मला शर्मा वाग्लेले भन्नुभयो, “यहाँ आएर सबै खुसी भएर फर्कने गरेका छन्।” उहाँका अनुसार पछिल्ला केही दिनमा मात्रै करिब एक हजार पाँच सय जनाले पार्कको अवलोकन गरेका छन्।

पाल्पा, पर्वत, बागलुङ, सङ्खुवासभा, झापा, तनहुँ, लमजुङलगायत जिल्लाबाट गोरखा घुम्न आउने अधिकांश आन्तरिक पर्यटक एकपटक भीमसेन पार्क पुग्ने गरेको वाग्लेले बताउनुभयो । पार्क अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकले प्रवेश शुल्कबापत १० रुपैयाँ र विद्यार्थीले पाँच रुपैयाँ तिर्नुपर्ने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

पार्कमा रहेको भीमसेन थापाको पूर्णकदको सालिकसँग तस्बिर खिच्न पाउँदा विद्यार्थीहरू निकै खुसी हुने गरेको वाग्लेको भनाइ छ । पार्कबाट मनास्लु, हिमालचुली, गणेश हिमाल, लमजुङ हिमाल र माछापुच्छ्रे लगायतका हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । त्यस्तै, गोरखाका ऐतिहासिक तथा पर्यटकीय स्थल अजिरकोट, सिरानचोक गढी र लिगलिगकोटको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

पार्कबाट देखिने सुन्दर हिमशृङ्खला र मनोरम प्राकृतिक दृश्य पर्यटकका लागि थप आकर्षण बनेका छन् । गोरखा दरबारसँगै रहेको प्रसिद्ध कालिका मन्दिरबाट करिब १० मिनेटमै पुग्न सकिने भएकाले पनि भीमसेन पार्क आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो ।

पार्क अवलोकन तथा भ्रमणका लागि दैनिकजसो विभिन्न जिल्लाबाट पर्यटक आउने गरेको वाग्लेले बताउनुभयो । “कुहिरो र तुवाँलो नलागेको दिन यहाँबाट दृश्यावलोकन गर्न पाएपछि फर्केर जानै मन नलाग्ने रहेछ,” पार्कमा भेटिनुभएका बागलुङका कमल अधिकारीले भन्नुभयो, “भीमसेन पार्क ऐतिहासिक दृष्टिकोणले मात्र होइन, मनोरम दृश्यका कारण पनि साँच्चिकै मनमोहक रहेछ ।”

विसं १८३२ मा पीपलथोकमा जन्मनुभएका भीमसेन थापाले विसं १८६३ देखि १८९२ सम्म नेपालको मुख्तियारका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो।  उहाँको विसं १८९६ मा निधन भएको थियो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी