नेभिगेसन मेनु

सडकका कुकुर व्यवस्थापन गर्न बागलुङमा होस्टेल सञ्चालन
सम्पादक:南亚网络电视
समय:2026-11-17 16:03

kukur

 सडकमा छाडिएका कुकुरको व्यवस्थापन चुनौती बनिरहेका बेला बागलुङ नगरपालिकाले भने कुकुरलाई आवसीय व्यवस्थापन गरेर नयाँ अभ्यास गरेको छ । 

कुकुर संरक्षण र व्यवस्थापनका लागि नयाँ अभ्यास सफल हुन थालेको छ भने १० वटाबाट सुरु भएको होस्टेलमा अहिले ३० वटा कुकुर रहेका छन् । बागलुङ बजारको सडकमा छाडिएका कुकुरलाई नियन्त्रणमा लिएर सुरक्षित आवास, खानपान र उपचारको व्यवस्था गर्न नगरपालिकाले “कुकुर होस्टेल” सञ्चालनमा ल्याएको हो ।

नगरपालिकाले पाँच महिनादेखि सामुदायिक तथा भुस्याहा कुकुरको उद्धार गरी होस्टेलमा राखेर पालनपोषण गर्दै आएको छ । स्थानीय सरकारले स्थापना गरेको नेपालकै पहिलो कुकुर होस्टेल भएको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । यसको सञ्चालन र व्यवस्थापनबारे बुझ्न अन्य स्थानीय तहले समेत चासो देखाउन थालेको उहाँको भनाइ छ । 

“कुकुरको समस्या हाम्रो मात्रै होइन, अन्य सहरमा समेत छ, सरकारी क्षेत्रले अभियानकै रुपमा सञ्चालनमा ल्याएको पहिलो होस्टेल हो । अहिले अन्य पालिकाले समेत हेर्न आउन थालेका छन्”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “हेटौडा उपमहानगरसहित स्याङ्जा र अर्घखाँचीका केही नगरपालिकाहरूले समेत कुकुर होस्टेल सञ्चालनका लागि कार्यविधि लगायत होस्टेल हेर्न आउनुभएको छ ।” 

बागलङ बजारमा सामुदायिक कुकुरको संख्या बढ्दै जाँदा सर्वसाधारणलाई आवतजावतमा समस्या हुनुका साथै कुकुरको टोकाइ र सडक दुर्घटनाको जोखिम बढेको थियो । कुकुरको टोकाइबाट एक हजार ८०० जनाले रेबिजविरुद्धको खोप लगाएपछि नगरपालिकाले यसको दीर्घकालीन व्यवस्थापनका लागि होस्टेल निर्माण गरेको हो ।

नगरपालिकाले बागलुङ नगरपालिका—३ गहतेमा पाँच रोपनी सार्वजनिक जग्गामा एक करोड रुपियाँ खर्चेर होस्टेल निर्माण गरेको जनाएको छ । नवप्रवर्तन कार्यक्रमअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसँगको साझेदारीमा निर्माण गरिएको होस्टेलमा नगरपालिकाको ३५ लाख र मुख्यमन्त्री कार्यालयको ६५ लाख रुपियाँ लगानी रहेको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी