नेभिगेसन मेनु

उखु किसानलाई मूल्यको चिन्ता
सम्पादक:南亚网络电视
समय:2026-11-17 16:25

331

 कञ्चनपुरका उखु किसानलाई यतिबेला उखु बिक्री गर्ने समय नजिकिँदै गर्दा उचित मूल्य पाउने हो वा होइन भन्ने चिन्ता बढेको छ । उखु क्रसिङको सिजन सुरु हुने समय भएसँगै किसान उखु काटेर चिनी मिलसम्म पुर्‍याउने तयारीमा जुटेका छन् तर उखुको मूल्य निर्धारणमा अन्योल कायम रहँदा किसानहरू चिन्तित बनेका हुन् । 

गत वर्षको तुलनामा यस वर्ष डिजेल तथा पेट्रोलको मूल्य बढेकाले खेतीपातीको लागत खर्चसमेत वृद्धि भएको किसानको भनाइ छ । त्यसमाथि समयमा रासायनिक मल उपलब्ध नहुँदा उखु उत्पादनमा समेत कमी आउने देखिएको छ । बढ्दो उत्पादन लागत र घट्दो उत्पादकत्वका कारण गत वर्षकै मूल्यमा उखु बिक्री गर्नु परे किसानलाई घाटा हुने अवस्था रहेको उखु उत्पादक हकहित संरक्षण समितिका अध्यक्ष हरि चन्द ठकुरीले बताउनुभयो ।

उहाँका अनुसार उखुको मूल्य सरकारले निर्धारण गर्ने भएकाले किसानहरू अहिले नयाँ मूल्यको प्रतीक्षामा छन् । उखु खरिद गर्ने चिनी उद्योग, किसानका प्रतिनिधि र सरकारबिच मूल्य निर्धारणका विषयमा छलफल भए पनि हालसम्म ठोस निष्कर्ष निस्कन सकेको छैन । किसानको उत्पादन लागतलाई आधार मानेर उखुको मूल्य निर्धारण गर्नुपर्ने उहाँको माग छ । लागतका हिसाबले आठ सय रुपियाँ प्रतिक्विन्टल मूल्य तोकिनुपर्ने किसानको माग छ । 

बेलौरी नगरपालिका–६ का किसान दिनेश चौधरीले खेतीमा भएको लगानी र बढ्दो लागतलाई ध्यान दिएर सरकारले यस वर्ष उखुको मूल्य निर्धारण गर्नुपर्ने बताउनु भयो । किसानले ठुलो रकम खर्च गर्नुपर्ने भएकाले उचित मूल्य नपाए उखु खेतीबाट अपेक्षित आम्दानी गर्न नसकिने उहाँको भनाइ छ ।

कञ्चनपुरमा वार्षिक करिब १२ हजार सात सय हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ । गत वर्ष जिल्लामा करिब ४३ लाख क्विन्टल उखु उत्पादन भएको थियो । यस वर्ष जिल्लामा करिब ४० लाख क्विन्टल उखु उत्पादन हुने अनुमान गरिएको अध्यक्ष ठकुरीले बताउनु भयो ।

गत वर्ष सरकारले उखुको प्रतिक्विन्टल मूल्य ६९० रुपियाँ निर्धारण गरेको थियो । उक्त मूल्यमा चिनी उद्योगले किसानबाट प्रतिक्विन्टल ६२० रुपियाँका दरले उखु खरिद गरेका थिए भने बाँकी ७० रुपियाँ सरकारले अनुदान स्वरूप उपलब्ध गराएको थियो । गत वर्ष कञ्चनपुरका उखु किसानले उखु बिक्रीबापत सरकारी अनुदान करिब २८ करोड रुपियाँ प्राप्त गरेका थिए ।

जिल्लाको दक्षिणी क्षेत्रका अधिकांश किसानको मुख्य आम्दानीको स्रोत उखु खेती नै हो । विशेष गरी बेलौरी, बेलडाँडी, पुनर्वास र लालझाडी क्षेत्रका किसानले व्यावसायिक रूपमा उखु खेती गर्दै आएका छन् । अहिले दोधाराचाँदनी, वेदकोट र शुक्लाफाँटा नगरपालिका क्षेत्रमा उखु खेती विस्तार गरिएको छ ।  

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी