
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच बिहीबार चीनको सेन्जेनमा ऐतिहासिक शिखर वार्ता हुँदै छ । यो शीर्ष वार्तालाई विश्व समुदायले निकै उत्सुकतापूर्वक प्रतीक्षा गरेको छ । यसअघि बुधबार रात्रिभोजमा तीनै जना नेताबिच भेटवार्ता भएको छ ।
चीनको सेन्जेनमा बुधबारदेखि सुरु भएको बुधबार एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनले विश्वका तीन शीर्ष नेताहरूलाई एकै ठाउँमा जुटाएको हो । चीनका राष्ट्रपति सी चिनफिङसहित एसिया प्रशान्त क्षेत्रका नेताहरूले खुला व्यापार, निष्पक्ष प्रतिस्पर्धा र समावेशी विकासलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ । उहाँहरूले व्यापार तथा लगानीका अवरोध घटाउँदै क्षेत्रीय सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
सेन्जेनमा आयोजित एपेक व्यवसायी सम्मेलनमा राष्ट्रपति सीले चीनले बजार पहुँच विस्तार र भन्सार शुल्क घटाउँदै व्यापारसम्बन्धी नियममा सुधार गर्ने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय व्यापारमा स्थिरता र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । अमेरिका र चीनबिच भन्सार शुल्क तथा उन्नत प्रविधिको पहुँचलाई लिएर मतभेद कायम रहेका बेला सीले खुला व्यापारको पक्षमा धारणा राख्नुभएको हो । यसैबिच क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले चीनसँग पारस्परिक कर घटाउने सहमति गर्नुभएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले प्रतिबन्ध, शुल्क र निर्यात नियन्त्रणको प्रभावकारितामाथि प्रश्न उठाउँदै एसिया प्रशान्त क्षेत्रसँग आर्थिक सम्बन्ध विस्तार रुसको प्राथमिकता रहेको बताउनुभयो । रुसले सन् २०३५ मा एपेकको अध्यक्षता गर्ने प्रस्तावसमेत गरेको छ ।
एपेकका २१ सदस्यले विश्वको ६० प्रतिशत आर्थिक गतिविधि र आधा व्यापार हिस्सा ओगट्छन् । रुसका राष्ट्रपति पुटिनले अमेरिकाका राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सीसँग हुने त्रिपक्षीय शिखर सम्मेलनले प्रमुख शक्तिबिचको सम्बन्ध सुधार्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा व्यक्त गर्नुभएको छ ।
बुधबार एपेक शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले बिहीबार हुने तीन देशका नेताबिचको पहिलो त्रिपक्षीय बैठक अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । पुटिनले वर्तमान विश्वमा बढ्दो सैन्य तथा राजनीतिक जोखिम र विश्व अर्थतन्त्रमा देखिएको विभाजनबिच आपसी सहकार्य र संवादको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विभाजनभन्दा एकता, आधिपत्यभन्दा समानता, अलगावभन्दा साझेदारी र अल्टिमेटमभन्दा संवादलाई प्राथमिकता दिनु पर्छ ।” सन् २०२२ मा युक्रेनमाथि रुसले आक्रमण गरेपछि मस्कोमाथि पश्चिमी मुलुकहरूले लगाएको आर्थिक प्रतिबन्ध असफल भएको पुटिनले दाबी गर्नुभयो । रुसले ती प्रतिबन्धको सामना गर्दै सम्मानपूर्वक आफ्नो अवस्था कायम राखेको उहाँको भनाइ थियो ।
फिलिपिन्ससँग सहकार्य
अमेरिकाका राष्ट्रपति ट्रम्पले फिलिपिन्ससँग रक्षा तथा ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने बताउनुभएको छ । उहाँले फिलिपिन्सको पहिलो आधुनिक आणविक ऊर्जा परियोजनामा अमेरिकी प्रविधि उपयोग गर्न सकिने उल्लेख गर्नुभयो । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले बुधबार मनिलास्थित राष्ट्रपति भवनमा ट्रम्पलाई सैनिक टुकडी र ब्यान्डसहित स्वागत गर्नुभएको थियो । राष्ट्रपति ट्रम्प चीनको सेन्जेन आउने क्रममा फिलिपिन्स पुग्नुभएको अमेरिकी निजी टेलिभिजन संस्था सिएनएनले जनाएको हो ।
अमेरिका र फिलिपिन्सबिच आपसी समझदारी र सहकार्य हुँदै आएको छ । राष्ट्रपति मार्कोसको कार्यकालमा अमेरिकी सेनाको पहुँच र संयुक्त सैन्य अभ्यास विस्तार भएको छ । गत अप्रिलमा १७ हजारभन्दा बढी सैनिक सहभागी १९ दिने संयुक्त अभ्यास गरिएको थियो ।
ट्रम्प र सानेबिच भेटवार्ता
अमेरिकाका राष्ट्रपति ट्रम्प र जापानका प्रधानमन्त्री साने ताकाइचीबिच भेटवार्ता भएको छ । जापानको विदेश मन्त्रालयका अनुसार दुवै नेताबिच फिलिपिन्सको मनिलामा आयोजित रात्रिभोजका क्रममा कुराकानी भएको हो ।
फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले आयोजना गर्नुभएको रात्रिभोजमा भएको भेटमा दुवै नेताले इन्डो–प्यासिफिक क्षेत्रका विषयमा निकट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको जापानी विदेश मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री साने बुधबार एपेक शिखर सम्मेलनमा सहभागी हुन चीनको सेन्जेन जानुभएको छ । प्रधानमन्त्री बनेपछि उहाँको यो पहिलो चीन भ्रमण हो । जापानी सरकारका मुख्य प्रवक्ता मिनोरु किहाराले अमेरिका–चीन, चीन–रुस तथा अमेरिका–चीन–रुस सम्बन्धलाई जापानले नजिकबाट नियालिरहेको बताउनुभएको छ । उहाँले जापानको राष्ट्रिय हित र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरताका लागि अमेरिका–जापान गठबन्धन बलियो हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।


















