
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको भार सबैमाथि समान रूपमा पर्नु न्यायोचित नहुने बताउनुभएको छ। जसको आर्थिक क्षमता बढी छ, उसले आफ्नो क्षमताअनुसार बढी योगदान गर्नुपर्ने र न्यून आय भएका नागरिकमाथि अनावश्यक करको भार पर्नु नहुने मुख्यमन्त्री थापाले बताउनुभएको हो।
राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय मकवानपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभयो । इमानदारीपूर्वक कर तिर्ने नागरिकलाई निरुत्साहित गर्ने र कर छली गर्नेले लाभ पाउने अवस्थाको अब अन्त्य हुनु पर्दछ, उहाँले भन्नुभयो।
कर प्रणालीमा न्याय भएन भने आर्थिक असमानता बढ्न सक्ने, कर प्रणाली न्यायपूर्ण भयो भने यसले सामाजिक न्याय, अवसरको समानता र आर्थिक समावेशीकरणलाई सहयोग गर्ने उहाँको भनाइ छ । करको उद्देश्य राज्यको ढुकुटी भर्नु मात्र नभइ न्यायपूर्ण र समावेशी अर्थतन्त्र निर्माण गर्नु रहेको उहाँले बताउनुभयो।
ूकर दिवसको नाराको दोस्रो महत्त्वपूर्ण पक्ष हो, सुशासनको सुनिश्चित्ता, नागरिकले सरकारलाई कर तिर्छन्, तर त्यसको बदलामा उनीहरूले गुणस्तरीय शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिँचाइ, सुरक्षा र सार्वजनिक सेवा प्राप्त गर्ने अपेक्षा राख्छन्, उहाँले भन्नुभयो। कर संकलनसँगै करको सदुपयोग र सार्वजनिक खर्चको पारदर्शिता सुनिश्चित गर्नु सरकारको प्रमुख जिम्मेवारी भएको उहाँको भनाए छ।
हामीले सडक बनेको छ कि छैन भन्ने मात्र होइन, त्यसले नागरिकको जीवन सहज बनायो कि बनाएन भन्ने पनि हेर्नुपर्छ, उहाँले भन्नुभयो, “अस्पताल निर्माण भयो कि भएन भन्ने मात्र होइन, नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाए कि पाएनन् भन्ने पनि हेर्नुपर्छ।”
विद्यालयको भवन बनेको छ कि छैन भन्ने मात्र होइन, विद्यार्थीले गुणस्तरीय शिक्षा पाए कि पाएनन् भन्ने पनि मूल्याङ्कन गर्नुपर्ने उहाँले बताउनुभयो। सरकारको सफलता कति बजेट खर्च भयो भन्ने आधारमा मात्र मापन हुनुभन्दा सार्वजनिक खर्चबाट नागरिकको जीवनमा कस्तो परिवर्तन आयो भन्ने आधारमा मापन हुनुपर्ने उहाँको धारणा थियो।
कर उठाउने सरकारभन्दा करको सदुपयोग गरेर नागरिकको जीवन बदल्ने सरकार बन्नु हाम्रो लक्ष्य हुनुपर्ने थापाले बताउनुभयो। समृद्धिमा नागरिक सहभागिता, समृद्धि सरकारको एकल प्रयासबाट मात्रै सम्भव नहुने थापाको भनाइ छ । किसान, श्रमिक, उद्योगी, व्यवसायी, उद्यमी, शिक्षक, कर्मचारी, युवा र आम नागरिक सबैको योगदान आवश्यक हुने उहाँले बताउनुभयो ।
किसानले उत्पादन गर्छन्, श्रमिकले श्रम गर्छन्, व्यवसायीले लगानी गर्छन्, उद्यमीले रोजगारी सिर्जना गर्छन् र नागरिकले कर तिरेर सार्वजनिक विकासमा योगदान पुऱ्याउने उल्लेख गर्दै उहाँले भन्नुभयो, “नागरिक करदाता मात्र होइनन्, उनीहरू राष्ट्र निर्माणका साझेदार हुन्, हामीले कर तिर्नुलाई बोझका रूपमा होइन, राष्ट्र निर्माणमा आफ्नो हिस्सेदारीका रूपमा बुझ्ने संस्कार विकास गर्नुपर्छ, सरकारले पनि करदातालाई सम्मान गर्दै उनीहरूको योगदानको कदर गर्न सक्नु पर्दछ ।’
कर नागरिकको योगदान भएको उहाँले बताउनुभयो । “सुशासन सरकारको जिम्मेवारी हो र समृद्धि हामी सबैको साझा लक्ष्य हो” उहाँले भन्नुभयो। राजनीतिक अर्थशास्त्रको पनि महत्त्वपूर्ण विषय भएको उहाँले बताउनुभयो। ‘राज्यले कसबाट कर उठाउँछ, कति उठाउँछ र त्यसबाट प्राप्त स्रोत कसको हितमा खर्च गर्छ भन्ने कुराले समाजको आर्थिक संरचना र राज्यको चरित्र निर्धारण गर्छ’ उहाँले भन्नुभयो। राजस्व कार्यालय प्रमुख लक्ष्मी पराजुलीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।











