
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसद तथा नेता ११ दिने भ्रमणका लागि आइतबार चीन प्रस्थान गरेका छन्। पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन गएको हो।
भ्रमण टोलीलाई रास्वपाका प्रवक्ता जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए।
आचार्यको नेतृत्वमा रहेको टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली र प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी सहभागी छन्। त्यस्तै, सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा पनि टोलीमा छन्।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले बेइजिङ, हाङचाउ र सिचुवानलगायत क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ। टोलीले विशेषगरी चीनले प्रविधि, नवप्रवर्तन, औद्योगिक विकास र सार्वजनिक सेवा प्रवाहमा हासिल गरेका उपलब्धिबारे अध्ययन गर्ने जनाएको छ।
टोली सदस्य एवं रास्वपाको विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागका प्रमुख डा. आनन्दबहादुर चन्दले चीनको प्रविधिगत विकासलाई नेपालको आवश्यकता र क्षमताअनुसार उपयोग गर्ने सम्भावनाबारे अध्ययन गरिने बताएका छन्।
उनका अनुसार कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङ, डिजिटल प्रविधि, कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा, शिक्षा, औद्योगिक उत्पादन र उद्यमशीलता विकासका क्षेत्रमा चीनले अपनाएका नीति तथा संस्थागत अभ्यासबारे जानकारी लिने योजना छ।
त्यस्तै, टोली सदस्य डा. धनञ्जय रेग्मीले भ्रमणले नेपाल र चीनबीच आपसी समझदारी तथा सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। आर्थिक, प्राविधिक तथा विकासका क्षेत्रमा दीर्घकालीन सहकार्यको आधार तयार गर्नु भ्रमणको अर्को उद्देश्य रहेको उनको भनाइ छ।
चीन प्रस्थान गर्नुअघि प्रतिनिधिमण्डलले प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाट गरेको थियो।


















