
चिया बिक्री नहुँदा धनकुटाका किसानको बगानमै खेर जान थालेको छ । अन्य बाली छोडेर चिया खेतीतर्फ आकर्षित भएका किसान चिया बिक्री नहुँदा भने अहिले समस्यामा परेका छन् ।
पाख्रीबास नगरपालिका–७ स्थित राम्चेका गोविन्दबहादुर थापाले चियाको मूल्य नपाउँदा बगानमै खेर गइरहेको बताउनुभयो । २०५५ सालदेखि चिया खेती गर्दै आएका थापा चिया बिक्री नहुँदा मजदुरलाई ज्याला दिनसमेत समस्या भएको बताउनुहुन्छ । समस्यामा रहेको अवस्थामा नगरपालिकाले पनि सहयोग नगरेकाले किसान निराश भएको उहाँको भनाइ छ ।
१० रोपनी क्षेत्रफलमा चिया खेती गर्दै आएका पाख्रीबास–४ का अर्का कृषक धनबहादुर बस्नेतले चिया बिक्री नभए पनि चिया बगान जङ्गल जस्तै भएको बताउनुभयो । अहिले अन्य बाली पनि लगाउन सम्भव नभएकाले चियाकै कारण किसानले ठुलो रकम गुमाइरहेको उहाँले जानकारी दिनु्भयो ।
राम्चेकै अर्का किसान विमल राई किसानले माग गरेको मूल्यमा चिया उद्योगले खरिद नगर्दा अर्को समस्या थपिएको बताउनुहुन्छ । १५ रोपनी क्षेत्रफलमा चिया खेती गर्दै आएका राईले बिक्री नभएपछि तीन वर्षदेखि गोडमेल तथा छाँटकाँट नगरेको बताउनुभयो ।
पाख्रीबास नगरपालिका–४ र ७ को सिमानास्थित राम्चे अर्गानिक चिया उत्पादन सहकारी संस्था पनि पेट्रोलियम पदार्थको मूल्य बढेपछि सञ्चालनमा आउन नसकेर बन्द भएपछि किसानको चिया खरिद हुने विकल्प पनि सीमित भएको छ । उद्योगबाट उत्पादित ग्रिन टी, ब्लाक टी र ह्वाइट टीलगायतका स्पेसल चिया उत्पादन हुने गरेको थियो । पाख्रीबास नगरपालिका प्रमुख ज्ञानबहादुर गुरुङले आर्थिक अभावका कारण उद्योगहरूलाई सहयोग गर्न नसकिएको बताउनुभयो ।

















