
छायानाथ रारा नगरपालिकाको पञ्जीकरण शाखामा नेटवर्क समस्या देखिएपछि सेवाग्राहीले नागरिकताको सिफारिस लिन पटकपटक वडा कार्यालय धाउनुपर्ने बाध्यता भएको छ ।
नेपाल टेलिकमको नेटवर्कले राम्रोसँग काम नगर्दा अनलाइनमार्फत गर्नुपर्ने काम प्रभावित भएपछि सेवाग्राही मर्कामा परेका हुन् ।
छायानाथ रारा नगरपालिका–३, माथितुमका स्थानीय धिरजबहादुर रोकायाले छोरीको नागरिकताको सिफारिस लिन तीनपटकसम्म वडा कार्यालय धाउँदा पनि काम हुन नसकेको गुनासो गर्नुभयो । उहाँका अनुसार कात्तिक २० र २७ गते तथा मङ्सिर १ गते गरी तीनपटक वडा कार्यालय पुग्दा नगरपालिकाको पञ्जीकरण शाखाबाट आवश्यक अनलाइन कोड प्राप्त नभएको भन्दै फर्किनुपरेको थियो ।
रोकायाले स्थानीय सरकारबाट सहज रूपमा सेवा पाउने अपेक्षा गरिए पनि सामान्य कामका लागि पटकपटक धाउनुपर्ने अवस्था रहेको बताउनुभयो । विगतमा गाविसबाटै समयमै सेवा पाउने गरेको स्मरण गर्दै उहाँले अहिले स्थानीय सरकारबाट अपेक्षाअनुसार सेवा प्रवाह हुन नसकेको गुनासो गर्नुभयो ।
उहाँकी छोरी सङ्गीता रोकाया नेपालगन्जमा कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ । उहाँले नागरिकताको सिफारिस लिन आउँदा कहिले नेटवर्क नचलेको त कहिले पञ्जीकरण शाखाबाट अनलाइन कोड प्राप्त नभएको भन्दै तीनपटकसम्म दुःख पाउनुपरेको बताउनुभयो । आफूजस्तै अन्य सेवाग्राहीले पनि यस्तै समस्या भोग्नुपरेको उहाँको भनाइ छ । सेवाग्राहीको काममा लापरबाही गर्ने कर्मचारीलाई राज्यले जिम्मेवार बनाउनुपर्ने उहाँले सुझाव दिनुभयो ।
छायानाथ रारा नगरपालिकाको पञ्जीकरण शाखाका कर्मचारी असल रोकायाले विगत आठ–दस दिनदेखि नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएकाले सेवा प्रवाहमा कठिनाइ भएको बताउनुभयो ।
उहाँका अनुसार जन्मदर्तालगायत व्यक्तिगत घटना दर्ता तथा नागरिकताको सिफारिसका लागि आवश्यक कोड समय–समयमा अद्यावधिक गर्नुपर्ने हुन्छ । उक्त कोड नगरपालिकाका १४ वटै वडा कार्यालयमा उपलब्ध गराउनुपर्ने भए पनि नेटवर्क समस्याका कारण समयमै अद्यावधिक गर्न नसकिएको हो ।
नगरपालिकाका प्रशासन प्रमुख विष्णु पौडेलले सेवाग्राहीको काम छिटोछरितो रूपमा सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिँदै आएको बताउनुभयो । नेपाल टेलिकमको नेटवर्कमा समस्या आए पनि वैकल्पिक रूपमा मोबाइल डाटा प्रयोग गरेर सेवा प्रवाह गर्न पञ्जीकरण शाखालाई सुझाव दिएको उहाँले बताउनुभयो । कार्यालयमा प्रभावकारी नेटवर्क विस्तारका लागि नेपाल टेलिकमको मुगु शाखासँग समन्वय भइरहेको उहाँको भनाइ छ ।
यता, नेपाल टेलिकम मुगु शाखाका प्रमुख विमलकुमार बुढाले जिल्लामा अप्टिकल फाइबरका ४० वटा लाइन चार दिनदेखि अवरुद्ध हुँदा नेटवर्क सेवामा समस्या आएको बताउनुभयो । अवरुद्ध लाइन सञ्चालनमा ल्याउन काम भइरहेको र अबको एक–दुई दिनभित्र समस्या समाधान हुने उहाँले जानकारी दिनुभयो ।

















