नेभिगेसन मेनु

सडक पुग्यो, पुगेन बिजुली
समय:2026-11-19 18:42

batti-village-dailekh-yamraj

 चामुण्डा बिन्द्रासैनी नगरपालिका–१, पाल्त र सिमसेर गाउँमा विद्युत् पुग्न सकेको छैन । गाउँमा मोटरबाटो पुगे पनि विद्युत् विस्तार हुन नसक्दा स्थानीयले दैनिक सास्ती भोग्दै आएका छन् । 

विद्युत् सुविधा नहुँदा विद्यार्थीको पढाइ, मोबाइल चार्ज, सञ्चार सम्पर्क तथा घरायसी काम गर्न समस्या भएको छ । पाल्त, सिमसेर र केसी गाउँमा विद्युत् अभावकै कारण स्थानीयवासीले सौर्य ऊर्जा, टुकी र अन्य वैकल्पिक माध्यमको भर पर्नुपर्ने अवस्था छ । स्थानीयवासीले पटक पटक विद्युत् विस्तारको माग गर्दै आए पनि अहिलेसम्म सेवा पुग्न सकेको छैन । सडक विस्तारसँगै गाउँमा विद्युत्लगायत आधारभूत सुविधा पुर्‍याउनुपर्ने उनीहरूको माग छ । चामुण्डा बिन्द्रासैनी नगरपालिका–१, पाल्तगाउँका स्थानीय तपेन्द्र सिंहले अहिलेसम्म गाउँमा विद्युत् नपुग्दा स्थाीयवासी अँध्यारोमा बस्नु परेको बताउनुभयो । नगरपालिकाले आवश्यक सहयोग नगर्दा विद्युत् विस्तार हुने स्थानीयको आशा निराशामा परिणत भएको उहाँको भनाइ छ । विद्युत् नहुँदा बालबालिकालाई रातिको समयमा पढ्न, घरायसी काम गर्न तथा सञ्चारका साधन प्रयोग गर्न समस्या भएको उहाँले बताउनुभयो । सडक पुगे पनि विद्युत् पुर्‍याउन बर्सौंदेखि आग्रह गरिरहँदा पनि सुनुवाइ नभएको गुनासो उहाँको छ । उहाँले सम्बन्धित निकायलाई तत्काल विद्युत् विस्तारको व्यवस्था गर्न माग गर्नुभयो ।

यस्तै चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ का वडाका पाल्तटोलका करिब ५० र केसी टोलका १० घरधुरीमा विद्युत् सेवा नपुगेको वडाध्यक्ष उदय कामीले बताउनुभयो । वडा कार्यालयले विद्युत् विस्तारका लागि पहल गरे पनि विद्युत् कार्यालय, नगरपालिकाबाट आवश्यक सहयोग र बजेट उपलब्ध नहुँदा काम अघि बढाउन नसकिएको उहाँले जनाउनुभयो । 

यता विद्युत् विस्तारका लागि कार्यक्रम तथा बजेट स्वीकृत भए काम अघि बढाइने नेपाल विद्युत् प्राधिकरण दैलेखका प्रमुख टङ्कराज गिरीले बताउनुभयो । उहाँले विद्युत् लाइन विस्तारका लागि बजेट माग गरिएकाले बजेट प्राप्त भएपछि काम सुरु गरिने जानकारी दिनुभयो । जिल्लाका विभिन्न स्थानमा विद्युत् सेवा विस्तार, लाइन मर्मत तथा विद्युत् पोल गाड्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।    

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी