
अहिले सुर्खेत बसपार्कमा खुट्टा टेक्न मुस्किल हुन्छ । दसैँ–तिहार मनाएर काठमाडौं लगायतका प्रमुख सहर र कार्यक्षेत्र फर्कने यात्रुहरूको चाप अत्यधिक बढेसँगै सुर्खेत बसपार्क भरिभराउ भएको हो ।
काउन्टरमा सिट पाउन मुस्किल भएपछि यात्रुहरू सास्ती भोग्न बाध्य भएको बताएका छन् । एउटै सिटमा दुई वटासम्म टिकट काट्दा यात्रुहरुबिच झडप हुने गरेको छ । दैलेखको नारायण नगरपालिका –६ का सविन थापाले टिकट पाउन मुस्किल भएको बताउनुभयो ।
उहाँ अध्ययनका लागि काठमाडौैं बस्नुहुन्छ । दसैँ–तिहार मनाउन गाउँ आउनुभएका थापा अहिले काठमाडौं फर्किने तयारीमा हुनुहुन्छ । गाडीको टिकट नपाउँदा समस्या भएको उहाँले बताउनुभयो । चार दिनसम्म सुर्खेत बसपार्कमा धाउँदा पनि टिकट पाउन नसकको उहाँको दुखेसो छ ।
उहाँ बिहीबार बिहान १० बजे पुनः टिकटका लागि सुर्खेत बसपार्कमा आउनुभएको थियो । त्यसैगरी कालिकोटका रामबहादुर रावलले दसैँ–तिहार मनाउन घर आएका छोराछोरीलाई काठमाडौं पठाउन मुस्किल परेको बताउनुभयो । उहाँनले पनि बसपार्कमा टिकट पाउन हम्मे परिरहेको भन्दै दिनदिनै बसपार्कमा धाउँदा पनि टिकट नपाएको गुनासो गर्नुभयो ।
विद्यार्थी पुस्कर गिरी विद्यालय सुरु भइसकेको भए पनि टिकट नपाउँदा पढाइ नै छुट्ने चिन्तामा हुनुहुन्छ । उहाँ पनि काठमाडौँ बसेर अध्ययन गर्नुहुन्छ । मंगलबारदेखि विद्यालय र सरकारी कार्यालय सबै खुल्ने भएकाले पनि कर्मथलो फर्किनेहरूको लर्को लागेको हो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट काठमाडौंसम्म सिधा यातायात सेवा सञ्चालनमा छ । यो यात्राका लागि झन्डै २४ घण्टा लाग्छ । दैनिकजसो दिउँसो ४ बजे सुर्खेतबाट काठमाडौँका लागि छुटेको बस भोलिपल्ट बिहान ११–१२ बजे मात्रै काठमाडौँ बसपार्क पुग्ने गरेको बस व्यवसायीहरु बताउँछन् ।
घरभन्दा बाहिर रहेका परिवारका सदस्य दसैँ–तिहार मनाउन र आफूभन्दा ठुलाबडाको हातबाट टीका तथा आशीर्वाद ग्रहण गर्न देश–विदेशबाट गाउँ फर्किने गर्छन् । दसैँ–तिहार सकिएपछि देश–विदेश तथा आफ्नो कर्मथलोमा फर्किनेको भिड बढ्दा गाडी र हवाइजहाजको टिकट पाउन मुस्किल भएको छ ।
अधिकांश युवा वैदेशिक रोजगारीमा छन् भने कतिपयले काठमाडौंलाई कर्मथलो बनाएका छन् । चाडपर्व मनाएर कर्मथलो फर्किनेको भिड बढेसँगै टिकट पाउन समस्या भएको वीरेन्द्रनगर –१ का रमेश शाहीले बताउनुभयो । उहाँले भनेको समयमा टिकट नपाउने तथा पाइहाले पनि महङ्गोमा भाडा तिरेर यात्रा गर्नुपर्ने बाध्यता रहेको सुनाउनुभयो । अन्य समयमा सहज रुपमा यात्रा गर्ने गरेको भए पनि चाडपर्वको निकै समस्या हुनेगरेको उहाँको दुखेसो छ ।


















