
सिमकोट–हिल्सा सडक खण्डको यारी हिल्सा क्षेत्रको नारा सडक अवरुद्ध भएको छ । आइतबार भएको हिमपातले सडकमा हिउँ जमेको कारण यातायात सेवा अवरुद्ध भएको हो ।
नारा लेकको सडक हिमपातले तेस्रो पटक अवरुद्ध भएको भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताउनुभयो । आइतबार परेको हिउँ सडकमा जमेपछि त्यसयता यातायात सेवा बन्द भएको हो । उहाँका अनुसार हिल्सामा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट ( विओपी ) को एक टोली सोमबार दिउँसो नारा लेकसम्म पैदल पुगेको र उक्त टोलीले सडकमा जमेको हिउँ नपन्छाएसम्म यातायात सेवा सुचारु हुन सक्ने अवस्था नरहेको जानकारी गराएको हो ।
यसको जानकारी हिल्सा सिमकोट सडक योजनालाई गराइसकेको र अब चाँडै सडकमा जमेको हिउँ पन्छाउने कार्य सुरु हुनेछ । यारीको सिपसिपबाट नाराको चोर लाग्ना सम्मको पन्द्र मिलोटिर सडकमा हिउँ जमेको उहाँले जानकारी दिनुभयो ।
हाल हिल्सामा सशस्त्र प्रहरी, नेपाल प्रहरी, भन्सार कार्यालय र अध्यागमन कार्यालयका कर्मचारी होटल ब्यवसायी गरी नब्बे जना बस्दै आउनुभएको छ । चीनको ताक्लाकोटका कामका लागि जानु भएको हुम्लाका युवायुवती पनि हुम्ला फिर्ता हुने क्रम जारी रहेको थियो । अब हिमपातले सडक अवरुद्ध भएपछि उहाँहरु समेत रोकिनु भएको छ ।
यसअघि असोज ९ देखि १२ गते र कात्तिक १२ देखि १४ गतेसम्म परेको हिमपातमा पनि उक्त सडकमा यातायात सेवा बन्द भएको थियो । पछि हिल्सा सिमकोट सडक योजनाले सडकमा जमेको हिउँ जेसिवी लगाएर पन्छाएपछि यातायात सेवा सुचारु भएको थियो ।












