
“साँगुरो कोठामा कोचाकोच गरेर सुत्छौँ, कोल्टे फर्कन समेत गाह्रो हुन्छ, एक कैदीले भन्नुभयो, “हामीलाई मानवीय व्यवहार गरिएको छैन । बस्न, सुत्न उठ्न समस्या छ ।”
उहाँले नाम नखुलाउने सर्तमा भन्नुभयो, “क्षमताभन्दा बढी कैदीबन्दी कोचेर हामीलाई झन सास्ती दिइएको छ ।” बर्दिया कारागारमा क्षमताभन्दा झण्डै तीन गुणा बढी कैदी र थुनुवा हुँदा बस्नका लागि समस्या भएको उहाँको भनाइ छ ।
कारागार व्यवस्थापनमा पनि निक्कै समस्या हुने गरेको छ, एकसय ५० जनाको क्षमता रहेको बर्दिया कारागारमा चार जना आश्रित बालबालिका गरी चारसय ७२ जना रहेका छन् ।
कारागारको पुरुष ब्लक एकसय २५ जनाको क्षमता भए पनि तीनसय ९३ जना कैदीबन्दी रहेका छन् । उनीहरूमध्ये कैदी १२ जना विदेशीसहित दुईसय ८५ जना र थुनुवा आठजना विदेशीसहित एकसय ८ जना थुनुवा छन् ।
महिला कारागारको क्षमता २५ जनाको मात्र भए पनि चार जना बालबालिकासहित ७९ जना रहेका छन् । जसमध्ये दुई विदेशीसहित ३६ जना महिला कैदी रहेका छन् भने एक विदेशीसहित ३९ जना थुनुवा रहेका छन् । कारागारमा सबैभन्दा बढी जबरजस्ती करणी र लागु औषध मुद्दामा थुनामा छन् ।
कारागारमा हुनुपर्ने पर्याप्त कोठा नभएकाले बस्न गाह्रो भएको कैदीबन्दीहरूको गुनासो रहेको छ । शौच गर्न नुहाउन लगायत व्यक्तिगत सरसफाइका लागि समेत लामो लाइन बस्नु पर्ने बाध्यता रहेको छ ।
खेल्न र शारीरिक व्यायाम गर्नका लागि ठाउँ साँगुरो भएको हुनाले त्यसको पनि पर्याप्त सुविधा छैन । खाना पकाउने भान्सा सानो र साँगुरो भएको हुनाले खाना पकाउन र खान सास्ती भोग्नु पर्ने अवस्था रहेको कैदीबन्दीहरूको भनाइ छ ।
बर्दिया कारागारको प्रशासक लोकप्रसाद ढकालले क्षमताभन्दा धेरै कैदीबन्दी भएको हुनाले उनीहरुलाई न्युनतम सेवा सुविधा दिन कठिनाइ भएको बताउनुभयो । उहाँले भौतिक संरचनाको अभावमा बस्न खान समस्या रहेको बताउनुभयो । कारागारमा कैदीबन्दीलाई बस्न सहज होस् भनेर कोसिस गरिरहेका छौँ । उहाँले भन्नुभयो, “क्षमता भन्दा बढी कैदीबन्दी भएकाले पनि सेवा सुविधा दिन कठिनाइ भएको हो ।”
२०३४ सालमा नै निर्माण भएको पुरुष ब्लकतर्फको भवन जीर्ण रहेको छ । पर्याप्त हावा पास नहुने र बर्षातको समयमा चुहिने भएको हुनाले बस्न निक्कै समस्या रहेको कैदीहरू बताउँछन् ।
कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको र भवन पनि जीर्ण भएको हुनाले पटक पटक भवन निर्माणका लागि माग भए पनि हालसम्म निर्माण हुन नसकेको कारागार प्रशासक ढकालले बताउनुभयो । हाल मर्मत सम्हारका लागि थोरै बजेट आएको हुनाले सामान्य मर्मत सम्हार गर्ने योजना रहेको बताउनुभयो ।
बर्दिया कारागारको नाममा दुई विघा (४० कठ्ठा) भन्दा बढी जग्गा भए पनि महिला र पुरुष ब्लक र कार्यालय प्रयोजनका लागि बढीमा १५ कठ्ठा जग्गा प्रयोग भएको कारागार प्रशासनले जनाएको छ ।















