नेभिगेसन मेनु

विष्णु गाउँपालिकामा ३९७ परिवारलाई लालपुर्जा
समय:2026-11-19 18:51

Lalpurja-Photo

 भारतीय सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिका –५, फेन्हरा र वडा ६, सिमरा गाउँका ३९७ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्रदान गरिएको छ । 

वर्षौदेखि गाउँ ब्लक जग्गामा बसोवास गर्दैआएको स्थानीयलाई नापी कार्यालय मलङ्गवाले सम्पूर्ण प्रक्रिया पूरा गरी लालपुर्जा उपलब्ध गराएको हो । लालपुर्जा तयार भएकामध्ये अधिकांशलाई पालिकामै पुगेर वितरण गरिसकिएको नापी कार्यालय मलङ्गवाका प्रमुख सुमनकिशोर मिश्रले जानकारी दिनुभयो । 

पालिकामा कार्यक्रम आयोजना गर्दा उपस्थित हुन नभ्याएकाको लालपुर्जा सदरमुकाम मलङ्गवास्थित कार्यालयबाटै वितरण गरिने कार्यालय प्रमुख मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “३९७ जनाको लालपुर्जा तयार पारेका छौँ । हामी पालिकामा पुग्दा लिन आउन नभ्याउनु भएकाले कार्यालयमै आएर आ–आफ्नो पुर्जा बुझिरहनुभएको छ ।”

२०७१ सालमा नाप, नक्सा भएको गाउँ ब्लक जग्गाको अहिले बल्ल लालपुर्जा तयार पारेर वितरण गरिएको हो । पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित नापी कार्यालयका प्रमुखसहितको उपस्थितिमा लाभग्राहीलाई लालपुर्जा प्रदान गरिएको विष्णु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले बताउनुभयो । 

वर्षौदेखि भोगचलन गर्दै आइरहेको जग्गाको स्वामित्व पाएपछि फेन्हरा र सिमरा गाउँका स्थानीय दङ्ग परेका छन् । यो ठाउँमा अझै ३० प्रतिशत गाउँ ब्लक जग्गा दर्ता हुन बाँकी रहेको नापी कार्यालय मलङ्गवाका प्रमुख मिश्रले बताउनुभयो । 

कार्यालयले गाउँ ब्लक जग्गामा बसोवास गर्ने करिव चार हजार परिवारलाई यो वर्ष लालपुर्जा वितरण गर्ने योजना बनाएको उहाँले जानकारी दिनुभयो । विष्णु गाउँपालिकाको अध्यक्ष जवाहारलाल यादवले लामो प्रतिक्षापछि जग्गाको पुर्जा पाएपछि फेन्हरा र सिमरा गाउँमा खुसी छाएको बताउनुभयो । 

जग्गाको पुर्जा भएसँगै पैसाको खाँचो परेका बेला बैङ्क तथा वित्तीय संस्थाबाट ऋण निकाल्न मिल्ने भएपछि गाउँले खुसी रहेका गाउँपालिका अध्यक्ष यादवको भनाइ छ । उहाँले छुट भएका र दर्ता हुन बाँकी रहेका अझै ३० प्रतिशत गाउँ ब्लक जग्गाको पनि तत्काल प्रक्रिया अघि बढाइ दिन माग गर्नुभएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी