
कालीकोटको खाँडाचक्र नगरपालिका–७, पिलीडाँडामा करोडौँ लगानीमा निर्माण गरिएको पिली भ्यु टावर र युद्ध सङ्ग्रहालय संरक्षण र हस्तान्तरण अभावमा जीर्ण बन्दै गएको छ । २०७९ साल असार २३ गते ठेक्का सम्झौता भएर दुई वर्षअघि निर्माण सम्पन्न भए पनि सम्बन्धित निकायको बेवास्ताका कारण यो संरचना अहिले जीर्ण अवस्थामा पुगेको हो ।
निर्माण व्यवसायीले काम सम्पन्न गरेर कार्यालयमार्फत स्थानीय तहको जिम्मा नदिएका कारण संरचना जीर्ण बन्दै गएको छ । कार्यालयले बारम्बार स्थानीय तहलाई दिन खोजे पनि स्थानीय तहले लिन नमानेर अलपत्र छोड्दा बनेका केही पूर्वाधार तोडफोडसमेत भइसकेका छन् ।
टावरको दायाँबायाँ लगाइएको ग्याबिन तार, स्विमिङ पुल, पानीका धारा सबै भत्किएका छन् तर यता खाँडाचक्र नगरपालिकाले भने डिभिजन वन कार्यालयले हस्तान्तरणको कुनै पहल नगरेको आरोप लगाएको छ । सशस्त्र द्वन्द्वको अन्तिम लडाइँ मानिएको पिली क्षेत्रलाई युद्ध पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले तत्कालीन जिल्ला विकास समितिले निर्णय गरेको थियो । पहिलो प्रदेश सरकारले त्यहाँ संरचना निर्माणका लागि २०७७/७८ मा बजेटसमेत विनियोजन गर्यो ।
सशस्त्र युद्धको अन्तिम लडाइँ २०६२ साल साउन २३ गते हुँदा १३ जना श्रमिक, ६२ जना तत्कालीन शाही नेपाली सेना र २८ जना विद्रोही माओवादीका लडाकु गरी कुल १०३ जनाको ज्यान गएको थियो ।
उक्त क्षेत्रलाई युद्ध पर्यटकीय क्षेत्र बनाउने सरकारी निर्णय अनुसार अन्य संरचनासहित भ्यु टावर निर्माणका लागि छ करोड ८९ लाख ९९ हजार रुपियाँको लगानीमा निर्माण गरिएको थियो ।
यस क्षेत्रमा युद्ध सङ्ग्रहालय, पोखरी, पार्क, प्रवेशद्वार, टिकट काउन्टर, शौचालय र दुई वटा चितुवासहितको तलाउयुक्त पानीपोखरीसमेत निर्माण गरिएको छ तर निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि स्थानीय तहलाई हस्तान्तरण दाबी गर्ने र कार्यालयले स्थानीय तहले लिन नमानेको भनेर आआफ्नै दाबी हुँदा भ्यु टावरपरिसरका सिसा र भित्ता फुटाउने गरिएको छ भने चोरीसमेत हुन थालेको छ ।
वडा नं. ७ का वडाध्यक्ष दीपकराज कार्कीले पनि स्थानीय तहको जिम्मा नलगाएकाले संरचना भत्किँदै गएको बताउनुभयो । आधारभूत आवश्यकताभन्दा बाहिर गएर करोडौँ रुपियाँ खर्चिए पनि त्यसको संरक्षण नहुँदा स्थानीय बासिन्दा चिन्तित भएका छन् ।
स्थानीय पङ्खबहादुर मल्लका अनुसार जनतालाई अस्पताल, विद्यालय र रोजगारीको खाँचो रहेको बेला राजनीतिक रूपमा अनुत्पादक क्षेत्रमा गरिएको करोडौँको लगानी बालुवामा पानी सरह भएको छ ।
डिभिजन वन कार्यालयले भ्यु टावर सञ्चालनका लागि खाँडाचक्र नगरपालिकालाई हस्तान्तरण गर्न खोजे पनि स्थानीय तहले लिन नमानेकाले निर्माण व्यवसायीलाई समस्या थपिएको छ । डिभिजन वन कार्यालय प्रमुख अमर साहले आफूले यसबारे केही बुझ्न नपाएको र इन्जिनियर, लेखासँगको समन्वयपछि मात्र भन्न सक्ने बताउनुभयो ।










