
स्याङ्जामा दुई हजार ५७२ जनाको नाम मतदाता सूचीबाट हटाइएको छ । मतदाता नामावली अद्यावधिक गर्दा मृत्यु भएका र दोहोरो नामावलीमा परेका मतदाताको नाम हटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख श्रीराम थापाले हटाइएकामध्ये एक हजार ३०८ जना मृत्यु भएका र एक हजार २६४ जना दोहोरो नामावली भएका मतदाता रहेको बताउनुभयो । कार्यालयले गत असोजमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको थियो ।
अद्यावधिकका क्रममा मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन प्राप्त निवेदनका आधारमा ३४५ जनाको विवरण सुधार गरिएको थापाले बताउनुभयो । त्यस्तै ठेगाना र मतदान केन्द्र फरक परेका ७७२ जनाको निवेदनका आधारमा मतदान केन्द्र परिवर्तन गरिएको छ ।
निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम मतदाता नामावली अनुसार २०८३ भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा भएका स्याङ्जाका मतदाताको सङ्ख्या दुई लाख ४९ हजार ६३ पुगेको छ । मतदातामध्ये एक लाख २३ हजार ११२ पुरुष, एक लाख २५ हजार ९५० महिला र एक अन्य छन् ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा जिल्लामा दुई लाख ४८ हजार ८१६ मतदाता कायम थिए । अद्यावधिकपछि अघिल्लो निर्वाचनको तुलनामा २४७ मतदाता थपिएका छन् । स्याङ्जामा ११ स्थानीय तह र ९७ वडा छन् । जिल्लामा दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र, १९९ मतदान स्थल र ३२२ मतदान केन्द्र छन् ।















