नेभिगेसन मेनु

चन्द्रमा छुने भारतीय योजना
सम्पादक:南亚网络电视
समय:2023-07-14 14:04

thumb (5)

काठमाडौँ — सन् २०१९ सेप्टेम्बर ७ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चन्द्रयान–२ को विक्रम ल्यान्डरले चन्द्रमाको सतह छोएको दृश्य हेर्न भारतीय अन्तरिक्ष संस्था (इसरो) को केन्द्रीय कार्यालय पुगेका थिए । मोदीलगायतले पर्दामा ‘लाइभ’ हेरिरहेका बेला अचानक ल्यान्डरसँग भारतीय वैज्ञानिकहरूको सम्पर्क टुट्यो । सँगै, चन्द्रमाको सतह छुने भारतीय सपना पनि टुट्यो ।

इसरोका त्यसबेलाका प्रमुख के सिभानले भावुक हुँदै आँसु खसाले । मोदीले उनलाई धाप मार्दै अँगालो हाले । तामिलनाडुको किसान परिवारमा जन्मिएर इसरोको नेतृत्व गरेका वैज्ञानिक सिभान भावुक बनेको र मोदीले धाप मारेको भिडियो करोडौंले हेरेका थिए ।

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीले चन्द्रयान मिसन घोषणा गरेको ५ वर्षपछि अर्थात् सन् २००८ मा चन्द्रयानको पहिलो मिसन सुरु भएको थियो । उक्त मिसनअन्तर्गत चन्द्रमाको कक्ष (अर्बिट) मा लुनार अर्बाइटर पुर्‍याइएको थियो । उक्त परियोजनाका लागि भारतले त्यस बेला ३ सय ८६ करोड भारु खर्च गरेको अनुमान छ ।

चन्द्रमाको कक्षमा पुग्ने सपना पूरा भएपछि भारतले चन्द्रयानको दोस्रो मिसन घोषणा गर्‍यो । मिसन थियो– चन्द्रमाको सतहमा भारतीय यानलाई अवतरण गराउने । चन्द्रयान–२ लाई सन् २०१९ जुलाईमा सफलतापूर्वक प्रक्षेपण गरियो । चन्द्रमाको कक्षमा पनि पुग्यो । तर, सतहमा अवतरण गर्न सकेन । सफ्टवेयरमा भएको खराबी (ग्लिच) का कारण इसरोको उक्त मिसन सफल नभएको अनुमान गरिएको छ ।

चार वर्षपछि शुक्रबार भारतीय समयअनुसार दिउँसो २ बजेर ३५ मिनेटमा भारतले चन्द्रयान–३ चन्द्रमातर्फ पठाउँदै छ । कुनै मौसमी वा अन्य बाह्य वातावरणीय घटना नभए निर्धारित समयमा ‘फ्याट ब्वाई’ चन्द्रयान–३ लिएर सतिस धावन अन्तरिक्ष केन्द्रबाट उड्नेछ । यो अन्तरिक्ष यानले ३ लाख ८४ हजार किलोमिटरको यात्रा गर्दै अगस्ट २३/२४ वा सेप्टेम्बरको पहिलो सातासम्म चन्द्रमाको दक्षिणी ध्रुवमा ‘सफ्ट ल्यान्ड’ गर्नेछ । उत्तरी ध्रुवभन्दा धेरै फराकिलो क्षेत्र भएकाले दक्षिणी ध्रुव रोजिएको इसरोले जनाएको छ । धेरै छाया रहेको उक्त क्षेत्रमा पानीका कणहरू रहेको अनुमान छ ।

इसरोले दुर्घटना हुन सक्ने सबै किसिमको अवस्था परीक्षण गरेर चन्द्रयान–३ प्रक्षेपण गर्न लागेको हो । यस मिसनका लागि सेन्सर, एलगोरिदिम, इन्जिन, क्यालकुलेसनलगायत सबै किसिमका कमजोरी अध्ययन गरिएको छ । यस पटक विक्रम ल्यान्डरले चन्द्रमाको सतह छुनेमा इसरोका वैज्ञानिकहरू ढुक्क देखिन्छन् । यो मिसन सफल भए भारत अन्तरिक्ष अन्वेषणको क्षेत्रमा अर्को शक्ति राष्ट्र बन्नेछ । अर्थात् चन्द्रमाको सतहमा पुग्ने चौथो मुलुक बन्नेछ । चन्द्रमाको सतहमा अहिलेसम्म अमेरिका, रुस र चीन मात्रै पुगेका छन् । भारत मंगल ग्रहको कक्षमा पुग्ने पनि चौथो मुलुक हो । उसले सन् २०१४ मा आफ्नो मंगलयान मंगल ग्रहमा पुर्‍याएको थियो ।

इसरोले प्रक्षेपणको सम्पूर्ण तयारी भएको जनाएको छ । इसरोले चन्द्रयान प्रक्षेपणको लाइभ प्रसारण गर्दै छ । इसरोको एलभीएम ३ रकेट लन्चरबाट चन्द्रयान–३ लाई चन्दमामा पठाइँदै छ । ४३.५ मिटर अग्लो यो रकेटलाई ‘फ्याट ब्वाई’ नामले समेत चिनिन्छ । यो भारतको सबैभन्दा ठूलो र धेरै भार बोक्न सक्ने रकेट हो । यसले यसअघि ६ वटा मिसन सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

चन्द्रयान–३ मिसनमा ३ वटा मोड्युल (भाग) छन्– प्रोपल्सन, ल्यान्डर र रोभर । विक्रम ल्यान्डरभित्र प्रज्ञान रोभरलाई राखिएको छ । प्रक्षेपणको दौरान पहिलो चरणका लागि सोलिड, दोस्रोमा लिक्विड र तेस्रो अवस्थामा हाइड्रोजन र लिक्विड अक्सिजन इन्धनको प्रयोग गरिएको छ ।

रकेट प्रक्षेपण भएको १६ मिनेटपछि अर्थात् भारतीय समयअनुसार २ बजेर ५१ मिनेटमा ‘फ्याट ब्वाई’ ले चन्द्रयानलाई पृथ्वीभन्दा १७९ किलोमिटरको उचाइमा पुर्‍याइसकेको हुनेछ । त्यसपछि चन्द्रयान रकेटबाट छुट्टिएर उक्त उचाइबाट पृथ्वीको ५/६ पटक फन्को लगाउनेछ । त्यो बेला गोलाकार घेरामा चन्द्रयान पृथ्वीदेखि १७० किलोमिटर माथि र ३६ हजार ५ सय किलोमिटर टाढा भइसकेको हुनेछ । चन्द्रयान पृथ्वीको गुरुत्वबलबाट हुत्तिएर चन्द्रमातिर जानेछ । चन्द्रयानसँगै रहेको प्रोपल्सन मोड्युल करिब एक महिनापछि चन्द्रमाको कक्षमा पुग्नेछ, जुन चन्द्रमाको सतहभन्दा सय किलोमिटर माथि छ । त्यसपछि अनुकूलता हेरेर चन्द्रयानलाई चन्द्रमाको सतहमा पुर्‍याइन्छ ।

बाकस आकारको प्रोपल्सन मोड्युलमा सोलार प्यानलहरू जडान गरिएका छन्, जसभित्र विक्रम ल्यान्डर र त्यसभित्र प्रज्ञान रोभर छन् । सोलार प्यानलबाट अवतरणका बेला आवश्यक पर्ने ऊर्जा उत्पादन हुनेछ । रातको समयमा सो क्षेत्रमा माइनस ४० डिग्रीसम्म तापक्रम हुने हुन्छ । त्यो तापक्रममा ब्याट्री र अन्य विद्युतीय सामग्रीले काम गर्न सक्ने ग्यारेन्टी हुँदैन । प्रकाश नहुँदा सोलार प्यानलले काम गर्न नसक्ने भएकाले सूर्यको प्रकाश पर्ने समयमा चन्द्रयान अवतरण गराइने इसेरोले जनाएको छ । अवतरणका लागि प्रायः चन्द्रमा र पृथ्वीबीचको दूरी कम भएको समय रोजिन्छ ।

प्रोपल्सन मोड्युलको तौल २१ सय ४८, ल्यान्डरको १७ सय ५२ केजी र प्रज्ञान रोभरको २६ केजी तौल छ । यो मिसनमा अर्बाइटर राखिएको छैन । चन्द्रयान–२ कै अर्बाइटरसँग सञ्चार गराउन सकिने इसरोका वैज्ञानिकहरूको भनाइ छ । अर्बाइटर मोड्युल नभएपछि प्रज्ञान रोभरले विक्रम ल्यान्डरसँग सञ्चार गर्ने इसरोले जनाएको छ ।

इसरोका प्रमुख एस सोमनाथले गत सोमबार चन्द्रयान–२ मिसनको अनुभवका कारण पनि शुक्रबारको मिसन सफल हुनेमा ढुक्क रहेको बताएका छन् । ‘विक्रम ल्यान्डरमा भएको कमजोरीबाट धेरै पाठ सिकेका छौं,’ उनले भनेका छन्, ‘त्यसबेला ५ वटा इन्जिनले गतिलाई घटाउन नसक्दा क्र्यास भएको थियो ।’ उनले ५ सय वर्गमिटर क्षेत्रमा अवतरण गराउन खोज्नु पनि मिसन असफलताको अर्को कारण भएको भारतीय सञ्चारकर्मीलाई बताएका छन् । यस पटक धेरै क्षेत्रफल भएको ठाउँमा चन्द्रयानको ल्यान्डर अवतरण हुँदै छ । ल्यान्डरका ४ वटा खुट्टा र थ्रस्टर छन् भने रोभरका ६ वटा चक्का छन् । ल्यान्डरमा भएका थ्रस्टरले गति सीमित गराउन ब्रेकको काम गर्छन् । यिनले अवतरणका क्रममा ल्यान्डरलाई सन्तुलित बनाउन पनि भूमिका खेल्छन् ।

इसरोका अनुसार ल्यान्डरले चन्द्रमाको सतहमा छोएपछि रोभर बाहिर निस्कनेछ र चन्द्रमाको अध्ययनमा लाग्नेछ । रोभरमा भएको अल्फा पार्टिकल एक्सरे स्पेक्टोमिटरबाट चन्द्रमामा पाइने खनिजहरूको रासायनिक अवस्था पनि अध्ययन गरिनेछ । चन्द्रमाको माटो र ढुंगामा पाइने तत्त्वहरूको पनि अध्ययन हुनेछ । रोभरको आयु एक चन्द्र दिन अर्थात् १४ पृथ्वी दिनसम्म रहनेछ ।

चन्द्रयानमा सेप (स्पेक्ट्रोपोलारिमेट्री अफ ह्याबिटेबल प्लानेट अर्थ) नामक ‘पेलोड’ पनि छ, जसले वैज्ञानिक मिसनअन्तर्गत चन्द्रमामा रहेर पृथ्वीको अध्ययन गर्नेछ । ल्यान्डरमा ‘राम्भा–एलपी’ पनि छ जसले चन्द्रमाको प्लाज्मा आयोन र इलेक्ट्रोन्सको घनत्व अध्ययन गर्नेछ । यस्तै चन्द्रमाको सतहको तापक्रम पनि हेर्नेछ । अवतरण भएको क्षेत्रमा तरंग (सेस्मिसिटी) को पनि अध्ययन हुनेछ ।

यो मिसनका लागि भारतले ६ सय १५ करोड भारु अर्थात् करिब ७५ मिलियन अमेरिकी डलरभन्दा बढी खर्च भएको अनुमान छ । चन्द्रमामा पहिलो मानव पाइला भने १९६९ जुलाई २० मा टेकिएको हो । नील आर्मस्ट्रङ, बज एड्रिनहरूलाई एपोलो–११ ले चन्द्रमामा पुर्‍याएको थियो । भारतले यसअघि चन्द्रयान–२ जुलाईमै प्रक्षेपण गरेको थियो । चन्द्रयानको पहिलो मिसन भने अक्टोबरमा गरिएको थियो । चन्द्रयान–३ मिसन सफल भए भारतको भविष्यको अन्तरिक्ष अन्वेषणमा थप सघाउ पुर्‍याउनेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर