एस् ए टी भी ४ श्रावण २०८२, काठमाडौँः प्रतिस्पर्धात्मक खेलमा बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई हराउँदै जर्मनी महिला युरो कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । स्विट्जरल्यान्डमा जारी महिला युरो कपको १४औं संस्करणको क्वार्टरफाइनलमा जर्मनीले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ६–५ गोलले हराएको हो ।
प्रतियोगिताको बुधबार हुने सेमिफाइनलमा जर्मनीले स्पेनको सामना गर्नेछ । त्यसअघि मंगलबार पहिलो सेमिफाइनल खेल इङ्ल्यान्ड र इटालीबीच खेलिने छ । क्वार्टरफाइनलमा स्पेनले आयोजक स्विट्जरल्यान्डलाई २–० गोलले हराएको थियो ।
इटालीले क्वार्टरफाइनलमा नर्वेमाथि २–१ गोलको रोमाञ्चक जीत हासिल गरेको थियो भने इङ्ल्यान्डले स्विडेनलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पाखा लगाएको थियो ।
इङ्ल्यान्ड साविक विजेता हो । अघिल्लो सिजनको फाइनलमा इङ्ल्यान्डले जर्मनीलाई अतिरिक्त समयमा २–१ गोलले हराएको थियो ।
जर्मनी र फ्रान्सबीचको बासेलमा खेलिएको अन्तिम क्वार्टरफाइनल खेल निकै प्रतिस्पर्धात्मक थियो । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । त्यसबाट पनि नतिजा नआएपछि हार–जीतका लागि पेनाल्टी सुटआउटको सहारा लिनु परेको थियो ।
निर्धारित समयको १५औं मिनेटमा फ्रान्सले अग्रता लिएको थियो । फ्रान्सका लागि ओनेमा ग्रेस गेयोरोले पहिलो गोल गरिन् । त्यसअघि नै जर्मनी १० खेलाडीमा समेटिएको थियो । १३औं मिनेटमा जर्मनीकी क्याथरिन हेनरिच रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएकी थिइन् ।
१० खेलाडीमा समेटिए पनि खेलभर जर्मनीले फ्रान्सलाई दबाबमा राखेको थियो । निर्धारित समयको २५औं मिनेटमा जर्मनीका लागि स्जोक नुस्केनले जवाफी गोल गरिन् । त्यसपछि निर्धारित र अतिरिक्त समयमा दुवै टोलीबाट थप गोल हुन सकेन ।
अन्ततः खेल पेनाल्टी सुटआउटमा गयो र जर्मनी सेमिफाइनलमा पुग्न सफल भयो ।
जर्मनी महिला युरो कपको सबैभन्दा सफल टोली पनि हो । जर्मनीले हालसम्म आठपटक महिला युरो कपको उपाधि जितिसकेको छ । जर्मनी एक पटक उपविजेता पनि बनेको छ ।