नयाँदिल्ली — अमेरिकाले रक्षा क्षेत्रको प्रविधि भारतसँग साझा गर्ने भएपछि सैन्य क्षेत्रमा आत्मनिर्भर बन्ने लक्ष्य राखेको भारत हौसिएको छ । अमेरिकाले आफ्नो रक्षा प्रविधिको साझेदारी अन्य देशसँगै कमै मात्र गर्दै आएको छ । दुई देशबीच
बढ्दो सम्बन्ध र भूराजनीतिक परिस्थितिजन्य कारणले अमेरिका आफ्नो प्रविधि भारतसँग साझा गर्न तयार भएको हो ।
शतप्रतिशत अमेरिकी प्रविधि हस्तान्तरणका साथ भारतीय वायु सेनाको लडाकु विमानको इन्जिन अब भारतमै बन्ने भएको छ । यो सहमतिलाई सैन्य क्षेत्रमा दुई देशबीचको महत्त्वपूर्ण उपलब्धि मानिएको छ । भारतले अमेरिकासँग सैन्य प्रविधि सहयोगबारे प्रस्ताव गर्दै आएको थियो । भारतका रक्षामन्त्री राजनाथ सिंहले अमेरिकासँगको सम्झौतापछि भारत जेट इन्जिन बनाउने विश्वको चौथो राष्ट्र हुने बताएका छन् । ‘अब तेजस विमानमा मेक इन इन्डिया इन्जिन लाग्नेछ,’ उनले ट्वीट गरेका छन्, ‘भारत–अमेरिका रक्षा सहयोग नयाँ युगमा प्रवेश गरिसकेको छ ।’
भारतमै निर्मित तेजस एमके २ र एएमसीए लडाकु विमानमा अब अमेरिकी जेट इन्जिनको प्रयोग निश्चित भएको छ । अत्याधुनिक जेट इन्जिनको प्रयोगले भारतको लडाकु विमानको क्षमतामा वृद्धि हुनेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका यात्राका क्रममा गत साता द अमेरिकन मल्टिनेसनल कर्पोरेसन जेनरल एलेक्ट्रिक (जीई) र भारतको सरकारी स्वामित्वको हिन्दुस्तान एयरोनोटिक्स लिमिटेडबीच सम्झौता भएको हो ।
त्यस्तै, धेरै उचाइमा उड्न सक्ने अमेरिकी एमक्यू–९बी ड्रोनको एसेम्बल पनि भारतमा हुने भएको छ । उक्त ड्रोन हतियारले सुसज्जित हुनेछ । त्यसलाई पनि भारतको सैन्य क्षेत्रमा उपलब्धि मानिएको छ । ‘दुई देशबीच सेना–सेनाको सम्पर्क, सूचना आदानप्रदान, आर्टिफिसियल इन्टिलिजेन्स, आवासजस्ता क्षेत्रमा सहयोग तीव्रताका साथ बढेको छ,’ रक्षामन्त्री सिंहले भनेका छन्, ‘आज भारत अमेरिका सम्बन्ध वास्तवमा प्राकृतिक सहयोगीका रूपमा हेरिएको छ । दुवै देशमा समृद्ध लोकतान्त्रिक परम्परा छ र अब सुरक्षाको दृष्टिले पनि धेरै नजिक आएका छौं ।’
रक्षा क्षेत्रसँगै सेमीकन्डक्टर, एआई, क्वान्टम, दूरसञ्चार र हरित ऊर्जाजस्ता प्रविधिगत क्षेत्रमा पनि अमेरिकाले भारतलाई सघाउने भएको छ । रक्षा र प्रविधिगत साझेदारीले दुवै देशले आफ्नो सम्बन्ध बदलिने संकेत दिएका छन् । इतिहासमा अमेरिका र भारतबीच विश्वासिलो सम्बन्ध थिएन । भारत सधैं रुसको मित्र रहँदै आएको छ । तर, केही वर्षयता अमेरिका र भारत एक अर्कासँग निकट हुँदै गएका छन् । दिल्लीस्थित जवाहरलाल युनिभर्सिटीमा अन्तर्राष्ट्रिय अध्ययन संस्थानकी प्राध्यापक गीता कोचर मोदीको भ्रमणपछि अमेरिकासँग भारतको सम्बन्ध बलियो हुँदै गएको मान्छिन् । ‘भनिन्थ्यो, दुई देशबीचको सम्बन्ध त्यति बलियो छैन । तर यस पटकको सम्झौताले दुई देश प्राकृतिक मित्र हुन् भन्ने प्रमाणित गरेको छ,’ उनले भनिन् ‘प्रधानमन्त्री मोदीको अमेरिका भ्रमण धेरै हिसाबले सफल भएको छ ।’
अमेरिकाले आफ्नो सहयोगी नेटो राष्ट्रहरूलाई पनि लडाकु विमानको इन्जिनसम्बन्धी प्रविधि साझा नगरेका बेला त्यसको निर्माण भारतमा गर्न सहमत भएकाले आपसी विश्वास बढाएको मानिएको हो । दुवै देशले भविष्यमा सुरक्षा चुनौतीहरू सामनाका लागि सहकार्य गर्ने संकेत दिएका छन् । सुरक्षा सहकार्य र आपसी हितसँगै दुवै देशले वैश्विक मुद्दामा पनि सहकार्य गर्ने बताएका छन् ।
प्राध्यापक कोचरका अनुसार भारत–अमेरिका सम्बन्धको प्रभाव एसिया र विशेष गरी दक्षिण एसियाका देशहरूमा पर्नेछ । ‘दक्षिण एसियामा अमेरिकाको प्रभाव पहिलेदेखि छ, त्यो झन् बढ्दै गएको छ । अफगानिस्तान, पाकिस्तानसँग उसको आफ्नै सम्बन्ध छ, नेपाल एमसीसीमा सहभागी भएपछि झन् प्रभाव बढेको छ,’ उनले भनिन्, ‘भारतको अमेरिकासँग सम्बन्ध राम्रो हुनु भनेको त्यसको प्रभाव यस क्षेत्रमा देखिनु हो ।’
अमेरिकाले हिन्द महासागर क्षेत्रमा भारतसँग सहकार्य गर्दै आएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले खाद्य, ऊर्जा क्षेत्रमा देखिएको संकट र जलवायु परिवर्तनको क्षेत्रमा पनि भारतसँग मिलेर काम गर्ने उल्लेख गरेका छन् । खाद्य, ऊर्जाको संकट र जलवायु परिवर्तनको मार खेपिरहेको दक्षिण एसियाका देशलाई अमेरिका र भारतको सहकार्यले प्रभाव पार्नेछ । वैश्विक हित, शान्ति र स्थिरताका लागि दुवै मिलेर काम गर्न उत्सुक रहेको नेताहरूको भनाइले पनि विशेष गरी चीनलाई हेर्ने दृष्टिकोण र दक्षिण एसियाका देशका सम्बन्धमा दुई देश एक ठाउँमा उभिन सक्छन् ।
भारत–अमेरिका सहकार्यले क्षेत्रीय शक्तिका रूपमा बढ्दै गएको चीनको चुनौतीलाई सन्तुलनमा राख्ने प्राध्यापक कोचरको भनाइ छ । ‘चीनले आफ्नो प्रभावसँगै थ्रेट पनि बढाउँदै लगेको छ । अमेरिका–भारतबीचको सहकार्यले त्यसलाई निश्चय पनि सन्तुलनमा राख्छ,’ कोचरले भनिन्, ‘अर्कोतर, दुई देशबीच सैन्य सहकार्यले सम्भावित क्षेत्रीय युद्धको सम्भावनालाई पनि कम गराउँछ ।’ पूर्वी लद्दाखको गलवानमा तीन वर्ष अगाडि भएको सैन्य झडपले बढाएको भारत र चीनबीचको तनाव अझै सामान्यीकरण भइसकेको छैन । अमेरिकाले आफ्नो चुनौतीका रूपमा चीनलाई हेर्दै आएको छ । अर्कोतिर रुस र युक्रेनबीचको युद्ध निरन्तर जारी छ । अमेरिकासहित पश्चिमा देशले रुसलाई प्रतिबन्ध तथा युक्रेनलाई सहयोग गरिरहेका बेला भारत रुससँग टाढिन चाहेको छैन । बरु, पश्चिमा देशको चेतावनी विपरीत रुससँग निरन्तर व्यापार गर्दै आएको छ ।
पाकिस्तानसँगको सुरक्षा चुनौती भारतका लागि सधैं एक खालको छ । यी सबै चुनौतीबीच भारत र अमेरिका एकआपसमा सहकार्यको दिशामा पुगेका छन् । सैन्य उपकरणका लागि भारतको ठूलो निर्भरता रुसमाथि छ । तर, रुस र अमेरिकाको सम्बन्ध राम्रो नरहेका बेला भारतले सैन्य उपकरणका क्षेत्रमा अमेरिकासँगको सहकार्यलाई पनि बढावा दिन खोजेको छ ।