नेभिगेसन मेनु

रसुवागढी सडक एकतर्फी खुला
सम्पादक:南亚网络电视
समय:2025-07-21 12:30


rasuwagadhi

एस् ए टी भी ५ श्रावण २०८२, काठमाडौँः भोटेकोशीमा आएको बाढीले क्षति गरेको १३ दिनपछि स्याफ्रुबेंसी–रसुवागढी सडक एकतर्फी सञ्चालनमा आएको छ । विभिन्न स्थानमा गरेर करिब एक किमि सडक बाढीले बगाएको थियो भने स्याफ्रुबेंसीदेखि रसुवागढीसम्म १६ किमिमा आवतजावत ठप्प भएको थियो । टिमुरे र रसुवागढीबीच सडक सम्पर्क टुटेको थियो । एम्बुलेन्स सञ्चालनदेखि खाद्यान्न ढुवानी गर्नसम्म समस्या भएको थियो ।

सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख शुभराज न्यौपानेका अनुसार आइतबारदेखि साना सवारीसाधनको आवतजावत सुरु भएको छ ।

‘शुक्रबारदेखि सञ्चालनमा ल्याउने गरी काम भएको थियो, तर लिङलिङ पहिरोमा सडकभन्दा तल रहेको भोटेकोशीलाई तर्काएर ५० मिटर भीरमा काम गर्नुपर्ने अवस्था आयो,’ न्यौपाने भन्छन्, ‘भित्तो कटान गरेर बनाएको सडक खोलाले बगाएपछि समस्या भयो, पछि भीरको भित्तामा रहेको चट्टान फोरेर सडक बनायौं, दुई दिन ढिला भयो ।’

अहिले साना सवारीसाधन मात्र सञ्चालन हुने सक्ने अवस्था छ । ठूला र मालवाहक सवारीसाधनका लागि दोस्रो चरणमा सडक सुधारको काम गरिने न्यौपाने बताउँछन् । ‘ठूला सवारीसाधन सञ्चालनमा ल्याउन कहाँ, कसरी काम गर्नुपर्ने हो, पहिला विस्तृत अध्ययन गर्छौं,’ उनी भन्छन्, ‘नेपाल–चीन जोड्ने मितेरी पुल बन्दासम्म सडक पनि बनाइसक्छौं ।’

स्याफ्रुबेंसीदेखि रसुवागढीसम्मको सडक खण्ड चीन सरकारको अनुदानमा दुई लेनको हुने गरी निर्माण अघि बढाइएको थियो, तर कामले गति लिन सकेन । ‘बाढीले बगाएको सडक खुलाउन एक/डेढ महिना नै लाग्ला भन्ने थियो, तर छोटो समयमा खुलाउन सक्यौं,’ उनी भन्छन्, ‘सडक स्तरोन्नतिको काम चीन सरकारको अनुदानबाटै हुने हो ।’

दोस्रो चरणमा कसरी काम गर्ने भन्नेबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागमा छलफल गरेर छिट्टै निष्कर्षमा पुग्ने उनको भनाइ छ । ‘चाड नजिकिएको छ, यही सडक भएर नाकाबाट सामान बोकेका मालवाहक सवारी ओहोरदोहोर गर्नुपर्नेछ,’ न्यौपाने भन्छन्, ‘चीनले सडक बनाउने हो कि हामीले भन्नेबारे केही निर्णय भएको छैन, यसबारे छलफल गरेर छिट्टै निर्णयमा पुग्छौं ।’

स्याफ्रुबेंसीदेखि रसुवागढीसम्मको १६ किमि सडक चीन सरकारको अनुदानमा बनिरहेको सडक विभागका महानिर्देशक विजय जैसी बताउँछन् । ‘ठेक्का २०१९ मा भएको हो, तर बीचमा कोभिड–१९ ले गर्दा ढिलाइ भयो,’ उनी भन्छन्, ‘सडक बनाउने कुरा चीन सरकारको हातमा छ, हामी छिटो बनाउन पहल गरिरहेका छौं ।’ स्याफ्रुबेंसीदेखि रसुवागढीसम्मको १६ किमिमध्ये बाढीपछि स्याफ्रुबेंसीबाट ३ र टिमुरेबाट रसुवागढीसम्मको ४ किमि सडक मात्र खुला थियो  । ९ किमि सडक कतै बगेको, कतै चिराचिरा परेको थियो ।

सडक खुलेसँगै गाउँमा दैनिक उपभोग्य वस्तु लैजान सहज भएको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ बताउँछन् । ‘अहिलेसम्म गाउँमा खाद्यान्न मौज्दात नै थियो,’ उनले भने, ‘एक साता जति सडक नखुलेको भए समस्या हुन्थ्यो, त्यो समस्या अब टरेको छ ।’ २४ असारमा भोटेकोशीमा आएको बाढीले सडक बगाएपछि टिमुरेसँगको सडक सम्पर्क टुटेको हो । आयात–निर्यात ठप्प भएकाले अहिले रसुवा भन्सार नाका सुनसान छ ।

दुई महिनाभित्र नेपाल–चीन जोड्ने अस्थायी बेलिब्रिज बनाउन चीन सकारात्मक देखिएको महानिर्देशक जैसीको भनाइ छ । उनका अनुसार उक्त अवधिभित्र दोस्रो चरणअन्तर्गत सडक सुधारको काम पनि सकिनेछ । गत बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चिनियाँ राजदूत छन सोङलाई मन्त्रालयमै भेटेर बाढीले क्षतिग्रस्त स्याफ्रुबेंसी–रसुवागढी सडक तथा दुई देश जोड्ने मितेरी पुल निर्माण छिटो गरिदिन आग्रह गरेका थिए ।

नाका जोड्ने अस्थायी पुल जतिसक्दो छिटो बनाउन चिनियाँ पक्षबाट प्रतिबद्धता आएको मन्त्रालयको भनाइ छ । ‘दसैंअघि नै अस्थायी बेलिब्रिज बनाउनेमा चीन सकारात्मक छ,’ मन्त्रालयका सचिव केशवकुमार शर्मा भन्छन्, ‘स्थायी पुल निर्माणका लागि पनि चीनले डिजाइनको काम तत्काल थाल्ने जनाएको छ ।’

उनका अनुसार वस्तु आयात गर्न रसुवा भन्सार नाकालाई दसैैंसम्म पुल निर्माणसँगै सडकलाई पनि सहज बनाइनेछ । रसुवागढीबाट केरुङतर्फ जाने २५ किमि सडकमा पनि बाढीले क्षति पुर्‍याएको छ । ल्हेन्दे खोलामा आएको बाढीले रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएसँगै दुई देशबीचको व्यापारिक सम्बन्ध टुटेको हो । यो नाका भएर दैनिक करिब सय मालवाहक सवारीसाधन ओहोरदोहोर गर्दै आएका थिए ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर