एस् ए टी भी ३२ असार २०८२, काठमाडौँः हिमालयन गार्जियन नेपालले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूसँगको सहकार्यमा नेपालको साहसिक पर्यटन क्षेत्रका लागि ‘कम्प्रिहेन्सिभ टेक्नोलोजी गार्ड (CTG)’ सेवा सुरु गरेको छ। यो सेवा अन्तर्गत यात्रा बीमा, आपत्कालीन उद्धार तथा स्वास्थ्य समन्वय सेवा, स्याटेलाइट सञ्चार सेवा, एडभेन्चर स्याटेलाइट उपकरण तथा स्मार्ट डिजिटल टुरिजम प्लेटफर्म उपलब्ध गराइनेछ।
असार ३१ गते राजधानीमा आयोजित एक भव्य कार्यक्रमबीच यस परियोजनाको उद्घाटन गरिएको हो। कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत महामहिम राजदूत छन् सोङ, भूतपूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, सांसद मनिष झा, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशी, तियान्चिन होल्डिङ लिमिटेडका डिपुटी जीएम वाङ छ्याङ, आईजीआई प्रुडेन्सियलका हेमराज ढकाललगायत पर्यटन, बीमा र प्रविधिका विभिन्न प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा महामहिम छन सोङले नेपालको विविध प्राकृतिक भूगोलको सुरक्षाका लागि प्रविधियुक्त उपाय आवश्यक रहेको उल्लेख गर्दै CTG परियोजनाले चीन-नेपाल सम्बन्धमा नयाँ अध्याय लेख्ने विश्वास व्यक्त गरे। “बीमा तथा उद्धार सेवामा दुवै देशबीचको सहकार्य पर्यटन सुरक्षाको अभिन्न पाटो बन्नेछ,” उनले भने।
पूर्व मन्त्री योगेश भट्टराईले कोभिड महामारीका बेला उच्च हिमाली भूभागमा पर्यटक उद्धारमा सरकारले बेहोर्नुपरेको कठिनाइको स्मरण गर्दै यस प्रकारका प्रविधियुक्त सुरक्षाका कार्यक्रमहरुले नेपाललाई सुरक्षित साहसिक गन्तव्य बनाउन सघाउने बताए। साथै उनले आन्तरिक हवाइ भाडा घटाएर पर्यटकहरूलाई थप आकर्षण दिने आवश्यकतामा जोड दिए।
यस सेवामा प्रयोग गरिने एसओएस उपकरणलाई पर्यटकले सँगै बोक्न सक्ने छन्, जसले इन्टरनेटबिना पनि काम गर्छ र -३० डिग्रीसम्मको चिसोमा समेत सञ्चालित हुन्छ। आपत्कालीन अवस्थाको जानकारी स्याटेलाइटमार्फत दुई मिनेटभित्र उद्धार संयन्त्रसम्म पुग्नेछ।
यस संयुक्त प्रयासले नेपालको पर्यटनमा प्रविधिको भरपर्दो सुरक्षात्मक छवि निर्माण गर्ने अपेक्षा गरिएको छ। परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI) अन्तर्गत रहेको र यसले चीन-नेपाल सीमापार प्रविधि सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।
हिमालयन गार्जियन नेपालको प्रविधिप्रतिको प्रतिबद्धता र दिगो मूल्यमा सुरक्षित सेवा दिने दृष्टिकोणले नेपाली पर्यटन उद्योगमा क्रान्तिकारी परिवर्तन ल्याउने निश्चित देखिन्छ।