एस् ए टी भी ४ श्रावण २०८२, काठमाडौँः बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुरस्थित खल्ला झगडिया गाउँ केही दिनदेखि आक्रान्त छ। कुन बेला ठुलो बाढी आउला अनि बगाएर लैजाला भन्ने चिन्तामा उनीहरू छन्। गाउँ नजिकैबाट राप्ती नदी बगिरहेको छ। नदीलाई छेकबार गर्ने भरपर्दो कुनै पूर्वाधार छैन। गत वर्षदेखि नै स्थानीय बासिन्दाले यहाँ बलियो तटबन्धको व्यवस्था गरिदिन माग गरेका थिए।
नदीले तीव्र रूपले कटान गर्न थालेपछि यहाँका स्थानीय बासिन्दा निकै त्रसित छन्। हरेक वर्ष आउने बाढीले उक्त क्षेत्रमा कटान गर्दै आएको छ। यस वर्ष पनि नदीले कटानलाई तीव्र पारेपछि उनीहरू त्रसित भएका हुन्। ‘गाउँ नजिकैबाट राप्ती नदी बगिरहेको छ, कति बेला ठुलो बाढी आएर लैजाने हो थाहा छैन,’ यहाँका स्थानीय भन्छन्।
नदीले एकातिर खेतीयोग्य जमिन कटान गर्न थालेको र अर्कोतिर बाढीले कुन बेला गाउँलेलाई नै बगाएर लैजाने हो भन्ने चिन्ता लागेको स्थानीय दुर्गाप्रसाद पाण्डेले बताए। ‘नदीले केही दिनदेखि तीव्र रूपमा कटान सुरु गरेको छ, यसको दीर्घकालीन समस्या समाधान खोजिएन भने गाउँ नै नरहने स्थिति आउने निश्चित छ,’ उनले भने। आफ्नो धार परिवर्तन गरेर राप्ती नदी गाउँतिर सोझिएपछि खेतीयोग्य जमिन कटान गरेको अर्का स्थानीय दिपेन्द्र पाण्डे बताउँछन्।
उनीहरूले नदी कटान समस्यालाई दीर्घकालीन रूपले समाधान गरिदिन माग गर्दै आएका छन्। स्थानीय सरकारसँग रहेको सीमित बजेटका कारण राप्ती नदी नियन्त्रणका लागि पूर्वाधार बनाउन सक्ने क्षमता हुँदैन। संघीय र प्रदेशका सांसदहरूले पटक–पटक अनुगमन गर्दै आएका छन्। संघ र प्रदेश सरकारले मात्र नदी कटानको समस्या दीर्घकालीन रूपले समाधान गर्न सक्ने भएकाले आग्रह गर्दै आएको यहाँका स्थानीय बताउँछन्।
नदी कटान रोक्न जनताको तटबन्ध आयोजनाले तत्कालका लागि अस्थायी तटबन्ध बनाउने प्रयास मात्रै गरेको छ। तर, स्थानीय बासिन्दाले उक्त क्षेत्रमा पक्की तटबन्ध नै निर्माण गर्नुपर्ने माग गरेका छन्। जनताको तटबन्ध आयोजना कार्यालयका उच्च अधिकारी, प्राविधिकसहित सरोकारवालाले शनिबार नदी कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। आयोजना कार्यालय लमहीका प्रमुख डा. नारायणप्रसाद सुवेदी फत्तेपुरको खल्ला झगडियामा राप्ती नदीको कटान रोक्न आपतकालीन पूर्वाधार निर्माणको काम भइरहेको बताए। ‘आपतकालीन रूपमा बाढीको कटान रोक्न बाँस गाडेर र बोरा भर्ने काम भइरहेको छ,’ उनले भने।
स्थलगत निरीक्षणमा पुगेका नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति पोषणराज केसीले फत्तेपुरको खल्ला झगडियामा राप्ती नदीले तीर रूपमा कटान गरेकाले तत्काल क्षति रोक्नुपर्ने आवश्यकता रहेको सुनाए। ‘तत्काल क्षति रोकिएन भने थप क्षति हुने अवस्था देखिन्छ। जनताको तटबन्ध आयोजनाले आपतकालीन रूपमा कटान रोक्ने प्रयास गरेको छ,’ केसीले भने। उक्त क्षेत्रमा बलियो तटबन्ध बनाउन आवश्यक रहेको उनको भनाइ छ।