एस् ए टी भी ३० असार २०८२, काठमाडौंः प्रत्येक वर्ष जस्तै यस वर्ष पनि भक्तपुरको केदारनाथको शिर डोलेश्वरमा साउन १ गतेदेखि साउनी मेला सुरु हुने भएको छ। डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले सोमबार भक्तपुरमा पत्रकार सम्मेलन गरी साउन १ देखि सुरु भई भाद्र ६ गते समापन हुने जानकारी दिएको हो।
मेलाको क्रममा साउन १ गते बिहान ७ बजे चन्द्रविनायक मन्दिर पौखेलबाट डोलेश्वर मन्दिरसम्म कलश यात्रा सुरु हुने छ। मेला कार्यक्रमको उद्घाटन बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापाले गर्ने छन्।
यस्तै साउन ३ र ५ गते पण्डित बालकृष्ण अर्यालबाट धार्मिक प्रवचन एवं कलाकारहरूबाट भजनकीर्तन हुने जानकारी गराइएको छ। मेलाकै क्रममा साउन १० र १२ गते सुवी मानवबाट धार्मिक प्रवचन एवं कलाकारहरूबाट भजनकीर्तन हुने छ। साउन १७ र १९ गते धार्मिक प्रवचन एवं कलाकारहरूबाट भजनकीर्तन हुने छ।
साथै साउन २४ र २६ गते पण्डित जनार्दन पौडेलबाट धार्मिक प्रवचन एवं कलाकारहरूबाट भजनकीर्तन हुने जनाइएको छ। साउन ३१ गतेबाट धार्मिक प्रवचन एवं कलाकारहरुबाट भजन कीर्तन हुने र भाद्र ६ गते वार्षिक उत्सव तथा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाबाट साउनी मेलाको समापन हुने छ।
पत्रकार सम्मेलनमा केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले मेलामा विगत वर्ष झैँ यस वर्ष पनि उल्लेख्य मात्रा दर्शनार्थीहरूको भीड हुने हुनाले समितिले विभिन्न उप–समितीहरू गठन गरी कार्य बाँडफाँट गरी काम अगाडि बढाउने व्यवस्था गरिएको जानकारी गराए। साथै भक्तजनहरूलाई सहज रूपमा दर्शन गराउनको लागि विभिन्न संघ सस्था, टोल सुधार समिति, महिला समूहहरूसँग समन्वय गरी साउन १ देखि मेला अवधिभर सभ्य र भव्य रूपमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको जनाए।
सुरक्षा व्यवस्थाको लागि सिसि टिभी जडान गरिएको, कार्यक्रम अवधिभर भक्तजनहरूलाई सहज रूपमा दर्शन गराउन यथेष्ठ स्वयंमसेवकहरूको परिचालन गरिने उनले जनाए। भक्तजनहरूको आकस्मिक स्वास्थ्य परीक्षणको लागि रणशेर गण सूर्यविनायक भक्तपुर र अन्य अस्पतालहरूबाट स्वास्थ्य शिविर सञ्चालनमा गरिने जानकारी उनले जानकारी दिए। शान्ति सुरक्षाको लागि जिल्ला प्रहरी परिसर, जगाती प्रहरी वृत तथा डोलेश्वर प्रहरी चौकीबाट प्रहरीहरू परिचालन गरिने उनले जनाए।
यातायातलाई व्यवस्थित गर्नको लागि महानगरीय ट्राफिक प्रहरी परिसर सल्लाघारीबाट सहयोग लिइने उनले बताए। साथै यस कार्यक्रमलाई सभ्य र भव्य रूपमा सञ्चालन गर्नको लागि सम्पूर्ण आम समुदायहरूबाट सहयोगको अपेक्षा उनले राखे।
पत्रकार सम्मेलनमा सूयविनायक नगरपालिका वडा नं ८ सिपाडोलका वडा अध्यक्ष पुष्पराज बस्नेतले आफ्नो वडामा रहेको डोलेश्वर महादेवको मन्दिरलाई धार्मिक पर्यटकहरूको केन्द्र बनाउन सिंगो नगरपालिकाले नै लागिपरेको बताए। हिन्दुहरूको पवित्र तीर्थस्थल डोलेश्वर महादेव २०६६ साल भाद्र ६ गते केदारनाथको शिरो भागका रूपमा घोषणा भएको थियो। त्यस पश्चात यसको गरिमा दिन प्रतिदिन बढ्दै गइरहेको छ।