एस् ए टी भी १ साउन २०८२, काठमाडौँः आव २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ। आव २०८०/०८१ को भन्दा यो १३.३३ प्रतिशतले बढी हो। आव २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व सङ्कलन भएको थियो ।
आव २०८१/०८२ मा १४ खर्ब १९ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य थियो। अर्ध वार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएको थियो। संशोधित लक्ष्यअनुसार ९१.६० प्रतिशत राजस्व सङ्कलन भएको छ।
अर्थ मन्त्रालय राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीका अनुसार विपद्, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरू हुँदाहुँदै पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उत्साहजनक रूपमा राजस्व सङ्कलन भएको बताए।
‘तयारी सुरु गरिसकेका छौँ। चालू आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्नेछौँ,' उनले भने। चालू आवमा १३ खर्ब १५ अर्ब राजस्व संकलनको लक्ष्य छ ।
आव २०७१/०७२ मा चार खर्ब पाँच अर्ब, २०७२/०७३ मा चार खर्ब ८१ अर्ब, २०७३/०७४ मा ६ खर्ब ९ अर्ब, २०७४/०७५ मा सात खर्ब २६ अर्ब, २०७५/०७६ मा आठ खर्ब २९ अर्ब राजस्व सङ्कलन भएको थियो।
त्यसैगरी २०७६/०७७ मा सात खर्ब ९३ अर्ब, २०७७/०७८ मा ९ खर्ब ३५ अर्ब, २०७८/०७९ मा १० खर्ब ६६ अर्ब, २०७९र०८० मा ९ खर्ब ५७ अर्ब र २०८०/०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ संकलन भएको थियो।