एस् ए टी भी ३१ असार २०८२, काठमाडौँः कञ्चनपुरको बेलौरी नगरपालिका-४ मा रहेको पर्यटकीय गन्तव्य बन्धातालको पर्यटन विकासका लागि पूर्वाधार निर्माण सुरु भएको छ।
सरकारले २०७५ मा घोषणा गरेको सय नयाँ पर्यटकीय गन्तव्यमध्ये बन्धातालमा पर्यटकीय पूर्वाधार निर्माणका लागि संघ सरकारको रु पाँच करोड ४३ लाख लागतमा निर्माण भइरहेको छ। ताललाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने लक्ष्यअनुसार गत जेठमा ठेक्का सम्झौता भएर काम भइरहेको बेलौरी नगरपालिकाका इन्जिनियर जगदिश जोशीले जानकारी दिए।
‘हाम्रो अवधारणा बीचमा मन्दिर बनाउने र मन्दिरसम्म जानका लागि पुल निर्माण गर्ने हो, छेउछाउमा पनि ट्रस्ट पुल बनाउने योजना हो,’ जोशीले भने, ‘यो योजनाअनुसार तालमा पूर्वाधार निर्माण गर्न रु २७ करोड लागत अनुमान गरिएको छ।’ उनले पहिलो चरणमा तालको चारैतिर पर्खाल निर्माण गरेर संरक्षण गरिने र पर्यटकको सहजताका लागि विभिन्न संरचना निर्माण हुने बताए।
सत्ताइस बिघा क्षेत्रफलमा फैलिएको यो तालको संरक्षण र पर्यटकीय विकासका लागि पालिकाले पनि नगर गौरवको योजनामा समेटेर बन्धाताललाई बेलौरीको चिनारीका रूपमा विकास गर्न खोजेको बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले बताए। ‘तालको विकासका लागि थप बजेटका लागि संघ र प्रदेश सरकारसँग माग गरिरहेका छौं,’ उनले भने, ‘नगरपालिकाको बजेटबाट पनि पर्यटकीय विकासका लागि पूर्वाधार निर्माण भइरहेका छन्।’ ताल परिसरमा पूर्वाधार निर्माणका लागि दाउत निर्माण सेवा र भूमिराज कन्स्ट्रक्सनले संयुक्त रूपमा गरिरहेका छन्।
गत जेठ ९ को ठेक्का सम्झौताअनुसार आगामी असार मसान्तभित्र काम सम्पन्न गर्नुपर्ने छ। स्थानीयका अनुसार गोलो घेरामा फैलिएको भएर तालको नाम बन्धाताल रहन गएको हो। उक्त तालमा विभिन्न प्रजातिका माछा, जलपन्छी र चराचुरुंगीको समेत अवलोकन गर्न सकिन्छ।