एस् ए टी भी ५ श्रावण २०८२, काठमाडौँः धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेको संख्या दोब्बरभन्दा बढीले बढेको छ। यो साउन १ गतेदेखि बिहान ८:०० देखि बेलुकी ८:०० बजेसम्म धरहरा खुला गरिएको छ।
समय थप भएपछि यहाँ आउनेको संख्या दोब्बरभन्दा बढीले बढेको धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए। 'बिहान ८:०० देखि बेलुकी ७:०० बजेसम्म टिकट खुल्छ। समय थप हुँदा धेरै राम्रो भएको छ। यहाँ आउनेको संख्या पहिलेभन्दा धेरै बढेको छ,' उनले भने।
त्यसअघि दैनिक बिहान १०:०० देखि बेलुका ४:०० बजेसम्म मात्र धरहरा खुला हुन्थ्यो। त्यतिबेला दैनिक करिब एक हजार २०० जनाले अवलोकन गर्थे, तर पछिल्लो तीन दिनमा आठ हजार ६३८ जनाले अवलोकन गरेका छन्। साउन १ गते दुई हजार ५००, २ गते दुई हजार ६३१ र ३ गते तीन हजार ५०७ जनाले धरहरा अवलोकन गरेको राईले बताए। उनले भने अनुसार साउन १ देखि ३ गतेसम्ममा रु १५ लाख ५६ हजार ६५० संकलन भएको छ।
विसं २०८१ मंसिरदेखि २०८२ असार मसान्तसम्ममा रु पाँच करोड १२ लाख ६२ हजार ९९५ संकलन भएको एकाइले जनाएको छ।