एस् ए टी भी ६ साउन २०८२, काठमाण्डौंः निर्णायक खेलमा सोमबार बंगलादेशसँग पराजयसँगै नेपालले साफ यु–२० महिला च्याम्पियनसिपमा लगातार दोस्रोपल्ट उपाधि जित्ने अवसर गुमाएको छ। चार राष्ट्र सहभागी डबल राउन्ड रोबिन लिगको शीर्ष स्थानमा रहने टोली विजेता बन्ने थियो। तर, च्याम्पियनसिपको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग ४–० को फराकिलो अन्तरले पराजित भएसँगै नेपाली टोली उपाधिबाट वञ्चित भयो। बंगलादेशको जितमा सागोरिकाले ह्याट्रिकसहित चार गोल गरिन्।
पछिल्लो संस्करण सन् २०२३ मा सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपमा पनि नेपाल उपविजेता भएको थियो। नेपाली टोलीले सेमिफाइनलमा भारतलाई हराउँदै बंगलादेशसँग उपाधि भिडन्त तय गरेको थियो। तर, फाइनलमा भने नेपाल ३–० को फराकिलो हार सामना गर्न बाध्य भयो। यसपल्ट उपाधि जित्ने लक्ष्यसहित नेपाल बंगलादेश गएको थियो।
यद्यपि, नतिजा उस्तै रह्यो र नेपालको च्याम्पियन हुने सपना पूरा हुन सकेन। समान ६ खेलबाट बंगलादेशले १८ अंक र उपविजेता नेपालले १२ अंक जोड्यो। यस संस्करणमा दोस्रोपल्ट नेपाल बंगलादेशसँग पराजित हुन पुग्यो। पहिलो खेलमा ३–२ ले पराजित भए पनि नेपाली टोलीले उत्कृष्ट चुनौती दिएको थियो। उक्त खेलमा उत्कृष्ट पुनरागमन गर्दै नेपाल अन्तिम समयसम्म बराबरीको संघारमा थियो। तर, केही समय बाँकी छँदा गोल सामना गरेपछि नेपालले त्यो खेल गुमाएको हो। दोस्रो खेलमा भने नेपालले घरेलु टोलीसँग निरीह प्रदर्शन गर्यो। पहिलो हाफमा नेपालले एक गोल मात्र बेहोर्यो। दोस्रो हाफमा भने नेपालले एकपछि अर्को गोल सामना गर्यो।
खेलको आठौं मिनेटमै सागोरिकाको गोलबाट बंगलादेशले अग्रता लियो। नेपालको रक्षापंक्ति र गोलकिपर सुजाता तामाङको कमजोरीको फाइदा उठाउँदै घरेलु टोलीले पहिलो गोल गरेको हो। मध्य भागबाट आएको थ्रु बल नियन्त्रणमा लिँदै सागोरिकाले गोलकिपर सुजाता बिट भएको अवस्थामा खाली पोस्टमा गोल गरेकी हुन्। यसपछि नेपालले गोल फर्काउन सकेन र पहिलो हाफमा बंगलादेश १–० ले अगाडि रह्यो। दोस्रो हाफमा पनि सागोरिकाको आक्रमणमा नेपालको रक्षापंक्ति फितलो बन्यो। ५१औं मिनेटमा सागोरिकाले उत्कृष्ट टर्न गर्दै दोस्रो गोल गरिन्। लामो पासमा उनले नेपाली डिफेन्डरलाई जिल्याउँदै गोल गरेकी हुन्।
यसपल्ट पनि नेपालकी गोलकिपर अगाडि बढेको अवस्था थियो। सात मिनेटमपछि नै उनले ह्याट्रिक पूरा गर्दै नेपालमाथि पूर्ण दबाब बनाइन्। बंगलादेशको डिफेन्स लाइनबाट आएको बललाई नियन्त्रणमा लिँदै सागोरिकाले गोलकिपर सुजाता अगाडि बढेको अवस्थामा पेनाल्टी बक्सबाहिरबाट गोल गरेकी हुन्। बंगलादेशले ७७औं मिनेटमा गोल गर्दै खेल पूर्ण रूपमा नियन्त्रणमा राख्यो। मुक्ति अख्तरले दिएको उत्कृष्ट थ्रु बललाई नियन्त्रणमा लिएकी सागोरिकाले गोलकिपर सुजाता अगाडि बढेको अवस्थामा ओभर हेड सट हान्दा उक्त बल गोलमा परिणत भयो। जितसँगै बंगलादेश अपराजित यात्रा कायम राख्दै यु–२० महिला साफ च्याम्पियनसिपको उपाधि जित्न सफल रह्यो।
नेपालकी स्ट्राइकर पूर्णिमा राई १० गोलसहित सर्वाधिक गोलकर्ता बनिन्। यसबापत उनले गोल्डेन बुट प्राप्त गरिन्। अर्की स्ट्राइकर मीना देउवा पनि सात गोल गर्दै सर्वाधिक गोल गर्ने सूचीमा तेस्रो स्थानमा रहिन्। तर, पनि उनीहरू उपाधि दिलाउन असफल रहे। बंगलादेशकी सागोरिकाले समान ६ खेलबाट आठ गोल गरिन्। सागोरिकाले मस्ट भ्यालुएबल प्लेयर र मिली अक्तरले बेस्ट गोलकिपरको ट्रफी पाए। पछिल्लो सात वर्षमा बंगलादेशको महिला टोलीले पाँच उपाधि भित्र्याएको छ।