एस् ए टी भी ६ साउन २०८२, काठमाण्डौंः नेपालले चीनसँग सीमापार प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन गर्ने भएको छ । रसुवागढी केरुङ सीमापार प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन सम्बन्धमा सोमबार दुई देशका अधिकारी सहमत भएका हुन् ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ नेतृत्वको प्रतिनिधि मण्डलबिच सोमबार अर्थ मन्त्रालयमा भएको भेटवार्ताका उक्त सम्भाव्यता अध्ययनसम्बन्धी माइन्युट भएको हो ।
माइन्युटमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य र सिड्काका अध्यक्ष सियाओदोङले हस्ताक्षर गर्नुभयो । यसबाट रसुवागढी केरुङ प्रसारण लाइन निर्माणसम्बन्धी सम्भाव्यता अध्ययनको काम अगाडि बढ्ने छ ।
उपप्रधानमन्त्री पौडेलसँगको भेटवार्तामा प्रसारण लाइनसहित विभिन्न चार वटा परियोजना सञ्चालन गर्ने समझदारी पनि भएको छ । जसमा चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र निर्माण र निजामती कर्मचारी अस्पतालको विस्तार सम्भाव्यता अध्ययनसम्बन्धी समझदारीपत्र छन् । यी समझदारीमा नेपालका तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनका तर्फबाट सिड्काका अध्यक्षले हस्ताक्षर गर्नुभयो ।
समझदारी अनुसार उक्त अस्पतालमा एक हजार ८३४ वर्गमिटर क्षेत्रमा फैलिएको बोनम्यारो क्यान्सर उपचार केन्द्रको निर्माण तथा आवश्यक मेसिनरीको जडान हुने छ ।
नेपाल र चीनबिच मानव संसाधन विकाससम्बन्धी समझदारीपत्रमा पनि सो क्रममा हस्ताक्षर भयो । यसबाट एक हजार २७० जना सरकारी कर्मचारीलाई चीनका विभिन्न संस्थाले आयोजना गर्ने द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा भाग लिने अवसर प्राप्त हुने छ ।
कार्यक्रममा अर्थमन्त्री पौडेलले उच्चस्तरीय भ्रमणले दुईपक्षीय सम्बन्धलाई अझ उचाइमा पु¥याउने विचार व्यक्त गर्नुभयो । अर्थ सचिव उपाध्यायले हस्ताक्षर भएका परियोजनाले नेपालको स्वास्थ्य क्षेत्र, मानव संसाधन विकास र सीमापार विद्युत् व्यापारमा योगदान पुग्ने र यसबाट नेपाली जनताका लागि फाइदाजनक हुने बताउनुभयो ।
पुनर्निर्माणमा चीनले सघाउने
रसुवा जिल्लामा बाढीले पु¥याएको भौतिक संरचनाको पुनर्निर्माणमा चीनले सहयोग गर्ने भएको छ ।अर्थ मन्त्रीसँगको भेटवार्तामा सिड्काका अध्यक्ष सियाओदोङले भौतिक संरचनाको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रक्रिया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिनुभयो ।
अर्थमन्त्री पौडेलले विपत्लगत्तैको पुनर्निर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भौतिक संरचनाको पुनर्निर्माणप्रति देखाएको तत्परता, चासो र प्रतिबद्धताका लागि चिनियाँ पक्षलाई धन्यवाद दिनुभयो । “आयातनिर्यातका लागि मात्र होइन, राजस्वका हिसाबले पनि रसुवा नाका महìवपूर्ण छ । त्यसैले पुनर्निर्माणलाई छिटो अघि बढाउँछौँ,” अर्थमन्त्री पौडेलले भन्नुभयो ।