एस् ए टी भी १ साउन २०८२, काठमाडौँः नेटो(उत्तर एटलान्टिक सन्धि सङ्गठन) ले भारत, चीन र ब्राजिलमाथि १ सय प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएको छ। नेटोका महासचिव मार्क रुटले बुधवार भने, ‘यदि तपाईँ चीनका राष्ट्रपति, भारतका प्रधानमन्त्री वा ब्राजिलका राष्ट्रपति हुनुहुन्छ भने तपाईँले बुझ्नुपर्छ,रुससँग व्यापार गरिरहनु महँगो पर्न सक्छ।’
रुटले अमेरिकी सिनेटरहरूसँग भेटपछि पत्रकारहरूसँग कुरा गर्दै भने, ‘यी तीनै देशहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति वार्तालाई गम्भीरतासाथ लिन दबाब दिनुपर्छ।’रुटले तीनै देशहरूमाथि ’सेकेन्डरी प्रतिबन्ध’ लगाउने धम्की पनि दिएका छन्। उनले भने, यदि यी देशहरूले रुसबाट तेल तथा ग्याँस किनिरहे भने, तिनीहरूलाई १ सय प्रतिशत सेकेन्डरी प्रतिबन्धको सामना गर्नुपर्नेछ।
नेटो महासचिवको यो चेतावनी त्यस समयमा आयो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई नयाँ हतियार दिने र रुसी साझेदारहरूमाथि भारी कर लगाउने घोषणा गरेका थिए।अहिले अमेरिका युक्रेनलाई पेट्रियट मिसाइलजस्ता आधुनिक हतियार दिने तयारीमा छ, ताकि युक्रेनले रुसी आक्रमणबाट आफ्नो रक्षा गर्न सकोस्।
ट्रम्पले सोमबार रुसमाथि युक्रेनविरुद्धको युद्ध रोक्न दबाब दिने प्रयास स्वरूप १ सय प्रतिशत ट्यारिफको धम्की दिएका थिए। ट्रम्पले भने, àम व्यापारलाई धेरै उद्देश्यका लागि प्रयोग गर्छु, तर युद्ध रोक्नको लागि यो निकै प्रभावकारी उपाय हो।’
ट्रम्पले भने, यदि पुटिनले ५० दिनभित्र युक्रेनसँग शान्ति सम्झौता गरेनन् भने रुसमाथि १ सय प्रतिशत ट्यारिफ लाग्नेछ। उनले स्पष्ट गरे, यो ’सेकेन्डरी ट्यारिफ’ हुनेछ, जसको अर्थ,रुसबाट तेल किन्ने देशहरू, जस्तै भारत र चीनमाथि पनि प्रतिबन्ध लाग्नेछ।जब ट्रम्पले यो धम्की दिएका थिए, नाटो महासचिव मार्क रुट पनि उनको साथमै थिए।
रुसी उप–विदेश मन्त्री सेर्गेई रियाबकोवले अमेरिका र नेटोको धम्कीलाई अस्वीकार गरेका छन्। उनले भने, ‘रुस ट्रम्पसँग वार्ताका लागि तयार छ, तर यस्तो अल्टिमेटम स्वीकार्य छैन।’