दुई देशबीच निरन्तर वार्ता भए पनि सहमतिको प्रयास विफल, विवादित सीमा क्षेत्रमा सैनिक उपस्थिति बढ्दो
सीमामा तनाव भए पनि चीनसँग भारतको व्यापार भने बढेको बढ्यै
नयाँदिल्ली — तीन वर्षअघि पूर्वी लद्दाखको गलवानमा भएको सैन्य झडपले बढाएको भारत र चीनबीचको तनाव अझै सामान्यीकरण हुन सकेको छैन । दुवै देशका अधिकारी पटकपटक वार्तामा बसे पनि सीमा क्षेत्रमा शान्ति ल्याउने ठोस आधारहरू पहिल्याउन सकेका छैनन्, जसका कारण दुई देशबीच सीमामा कुनै पनि बेला तनाव उत्पन्न हुन सक्ने संशय यथावत् छ ।
सन् २०२० जुन १५ मा गलवान घाँटीमा दुवैतिरका सैनिकहरू एकआपसमा भिडेका थिए । सीमा क्षेत्रमा गस्तीमा रहँदा हतियारको प्रयोग नगर्ने सम्झौता भने दुवैले पालना गरेका थिए । दुवै पक्षका सैनिकबीच हिंस्रक झडप भएको थियो । त्यसमा २० जना भारतीय र ४ जना चिनियाँ सैनिक मारिएको सञ्चारमाध्यमले जनाएका थिए । उक्त घटनापछि दुवै देशका सैन्य अधिकारीबीच १८ पटकसम्म वार्ता भइसकेको छ । तर, ती वार्तामा दुवै देशबीचको वास्तविक नियन्त्रण रेखाको विषयमा कुनै सहमति हुन सकेको छैन । सीमा छुट्याउने नियन्त्रण रेखाको विषयमा दुई देशबीच विवाद छ ।
संघाई सहयोग संगठन (एससीओ), जी–२० र ब्रिक्स जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा दुई देशका उच्चस्तरीय राजनीतिज्ञहरूको भेट निरन्तर भइरहेको छ । पछिल्लो पटक गत मे ४–५ मा गोवामा एससीओको विदेशमन्त्री तथा अप्रिल २७–२८ मा एससीओकै रक्षा मन्त्रीस्तरीय बैठक भएको थियो ।
त्यसमा पनि भारत र चीनका समकक्षीबीच साइडलाइन वार्ता भए । तर, त्यसले पनि परिणाम दिएको छैन । गत साता भारतीय विदेशमन्त्री एस जयशंकरले चीनसँग निरन्तर आफूहरू संवादमा रहेको र सीमामा शान्ति नभएसम्म सम्बन्ध अगाडि बढाउन समस्या हुने बताएका थिए । भाजपा सरकारको ९ वर्ष पूरा भएको अवसरमा विदेश मामिलाको उपलब्धि सुनाउने क्रममा उनले चीनसँग सम्बन्ध सहज नभइसकेको बताए ।
‘चीनसँगको सम्बन्ध त्यतिबेला मात्रै राम्रो हुन सक्छ, जतिबेला सीमा क्षेत्रमा शान्ति हुनेछ,’ उनले भने, ‘भएका सम्झौता वा हुने सम्झौताको पालना हुनुपर्छ । सम्झौता उल्लंघन गरेर सम्बन्धलाई अगाडि बढाउन समस्या हुन्छ ।’ शान्ति कायम गर्ने प्रयासहरूसँगै दुवै देशले सीमा क्षेत्रमा बढाउँदै लगेको सैन्य तैनाथीले युद्धको तयारीलाई झल्काउँछ । अन्तर्राष्ट्रिय मिडियाहरूले दिएको रिपोर्टका अनुसार दुवै देशले लद्दाख क्षेत्रमा ५० हजारभन्दा बढी सैनिकलाई तैनाथ गरेका छन् । गतवर्ष डिसेम्बरमा अरुणचलको तवांग नजिकै यांग्त्से क्षेत्रमा पनि सैनिकहरू आमनेसामने परेका थिए । उनीहरूबीच झडपसमेत भएको थियो ।
सीमामा कुनै पनि बेला तनाव हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै भारतले उत्तरी सीमामा सैन्य सामग्री र सैनिकको तैनाथी बढाउँदै लगेको छ । सीमासम्म सैन्य सामग्री पुर्याउन बाटोहरूको निर्माणलाई प्राथमिकता दिएको छ । सीमासम्म भौतिक पूर्वाधारहरूको निर्माण यतिबेला भारतको प्राथमिकतामा परेको छ ।
१९६२ मा दुवै देशबीच युद्ध भइसकेको छ । त्यसको पराजयको घाउ भारतले बिर्सिन सकेको छैन । त्यसैले युद्ध भइहाल्ने स्थिति आएमा त्यसको पूर्वतयारीलाई भारतले जोड दिएको देखिन्छ । उता, चीनले पनि सीमा क्षेत्रमा ठूलो सैन्य बन्दोबस्ती तयार पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाउँदै आएका छन् ।
गलवान घटनाको तीन वर्ष भएको दिन कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले ट्वीट गर्दै सरकारको दोषपूर्ण नीतिका कारण सीमा क्षेत्रका ६५ पेट्रोलिङ प्वाइन्टमध्ये २६ प्वाइन्टमाथि भारतले अधिकार गुमाएको आरोप लगाएका छन् । यस विषयमा धेरै पटक संसद्मा कुरा उठाउन खोजे पनि नपाइएको भन्दै उनले मोदी सरकारले देशलाई ‘अँध्यारोमा राख्न खोजेको’ आरोप लगाएका छन् ।
सीमामा तनाव भए पनि चीनसँग भारतको व्यापार भने लगातार बढेको छ । धेरै सामानका लागि चीनमाथि भारतको निर्भरता बढ्दै गएको आयातको तथ्यांकले देखाएको छ । सन् २०२०–२१ मा चीनसँग भारतको व्यापारघाटा ४४.३३ अर्ब अमेरिकी डलर थियो । लद्दाखको भिडन्तपछि व्यापार घाटा झनै बढ्यो । सीमामा तनाव बढेकै वर्ष चीनसँगको द्विपक्षीय व्यापारमा ४३.३ प्रतिशतले वृद्धि हुन पुग्यो ।
एकातिर दुश्मनी र अर्कोतिर सस्तो सामानका लागि चीनमाथिको निर्भरताले भारत समस्यामा परेको छ । सन् २०२१ मा चीनसँग भारतको व्यापार १ सय २५ अर्ब डलरको थियो । त्यसमा ९४.५७ अर्ब डलरको सामान भारतले चीनबाट आयात गरेको छ । जबकी २८.१ अर्ब डलरको सामान मात्रै चीनमा निर्यात गरेको छ । त्यसभन्दा अघिल्लो वर्ष दुई देशबीच भएको ८६ अर्ब डलरको व्यापारमा आयातको हिस्सा ६५ अर्ब डलर थियो ।
गतवर्ष दुई देशबीचको व्यापार १ सय ३६ अर्ब डलर पुग्यो । सोही वर्ष चीनसँग भारतको व्यापार घाटा एक सय अर्ब डलर पार गरेको छ । २०१४–१५ मा यस्तो व्यापार घाटा ४८ अर्ब डलर थियो । ९ वर्षमा व्यापार घाटा दोब्बरले वृद्धि भएको छ । त्यस्तै, २००३–२००४ मा चीनबाट हुने आयात ४.३४ अर्ब डलरको मात्रै थियो । त्यसको १० वर्षपछि २०१३–०१४ मा व्यापार बढेर ५१.०३ अबर डलर पुगेको थियो । सन् २०२१ मा व्यापार सय अर्बको सीमालाई नाघ्दै १ सय २५ अर्ब डलर र २०२२ मा १ सय ३६ अर्ब डलर पुगेको छ ।
औषधि बनाउने कच्चा पदार्थदेखि इलेक्ट्रोनिक सामान, इलेक्ट्रिक मेसिनरी धेरै सामानको आयात भारतले चीनबाट गर्दै छ । प्लास्टिकबाट निर्मित सामग्री, गार्मेन्ट, जुत्ता, चप्पल, खेलौना, अर्गानिक केमिकल, स्पेयर पार्ट्स, टेलिभिजन, मोबाइल, सवारीसाधनका पार्टपुर्जा, आइरन र स्टिलजस्ता सामानको आयात चीनबाट हुने गरेको छ ।