कुनै समय थियो मानिसहरूले प्रेमको मानक शेक्सपियरका नाटक वा किम्बदन्तीहरूमा खोज्थे र भन्थे— ओहो, त्यस्तो त्याग र बलिदानले भरपुर प्रेम पो प्रेम! आजभोलिको सतही प्रेम के प्रेम!
स्वभावतः समयसँगै सबै कुराका मानक बदलिन्छन्। पछिल्ला वर्षहरूमा मैले आख्यान र गैर–आख्यानमा प्रेमका अनगिन्ती प्रसंगहरू भेटेको छु। तीमध्ये एउटा प्रेम कथा यस्तो अविस्मरणीय र प्रेरणादायी छ कि म चाहन्छु यो वर्षको प्रणय दिवसमा तपाईंहरू पनि त्यसलाई सुन्नुहोस्।
सुरूमा एउटा चेतावनी— यो कथाको पहिलो खण्डमा कहाली लाग्दो दुःख र हिंसाको वर्णन छ। त्यस्ता विषयमा अधिक संवेदनशील हुनुहुन्छ भने आफ्नो ख्याल राख्नुहोला। तर पहिलो खण्डले तपाईंलाई पारेको आघातलाई दोस्रो खण्डमा आउने प्रेमको वर्णनले पुर्न सक्नेछ भन्ने मेरो विश्वास छ।
यो कथाको पहिलो पात्र मामा जवाडी नामक कंगोली महिला हुन्। सन् २००८ मा उनी स्कुलबाट फर्किँदै थिइन्। बाटैमा छिमेकी देश रूवान्डाको एउटा कुख्यात सशस्त्र समूहले उनी र उनकी साथी नेमालाई कब्जा गरे। दुवैलाई त्यहीँ बलात्कार गरे।
त्यो बज्रपातबाट उनीहरूले त्यहीँ मुक्ति पाएनन्। गुरिल्लाहरूले तिनलाई जंगलतिर लगे। दैनिक सामूहिक बलात्कार गरे। रूखमा बाँधेर राखे। अलि दिनपछि अझ घना जंगलमा लगे। नयाँ गुरिल्लाहरूले पालैपालो बलात्कार गरे।
उनकी साथी नेमाले यो सबै सहन सकिनन् र जंगलमै बितिन्। मामा कसै गरी बाँचिन् र महिनौंको नारकीय यातनापछि भागेर गाउँ फर्किन्।
गाउँ फर्कनु के थियो, गाउँलेको छिछि दुरदुर सुरू भयो। ‘बलात्कृत केटी’ भनेर सबैले घृणा गर्न थाले। स्कुलमा साथीहरू उनीसित बस्न मानेनन्। उनी ‘अछुत’ भइन्।
केही महिनामा उनको पेट बढ्न थाल्यो। चाहेर पनि गर्भपतन गर्न पाइनन्। बच्चा जन्मियो।
गाउँ फर्किँदैमा उनी सुरक्षित थिइनन्। एक दिन कंगोको त्यो क्षेत्रमा सक्रिय झन्डै सय सशस्त्र समूहहरूमध्ये कुनै अर्को गुरिल्ला समूह घरमा आइपुग्यो।
उनीमाथि फेरि सामूहिक बलात्कार भयो। बाबुलाई समेत टर्च बालेर त्यो जघन्य अपराध हेर्न बाध्य पारे बलात्कारीहरूले। उनकी काकीलाई पनि बलात्कार गर्न खोजे तर प्रतिकार गर्न खोज्दा उनलाई त्यहीँ मारे।
त्यो जघन्य अपराधपछि मामा जवाडी छ महिना अस्पताल बसिन्। त्यहाँबाट परामर्श केन्द्रमा पठाइयो। त्यहाँबाट एउटा गैरसरकारी संस्थाले उनलाई काममा लगायो। तर कार्यक्षेत्रमा उनीमाथि दुर्व्यवहारको तेस्रो शृंखला चल्यो।
मन र शरीरभरि घाउ नै घाउ लिएर उनी कंगो र रूवान्डाको सीमानजिकै रहेको ल्विरो पुनर्स्थापना केन्द्रमा पुगिन्। त्यहाँ उनको कलिमासित भेट भयो।
यो कथाको दोस्रो पात्र कलिमाको पनि इतिहास उत्तिकै दर्दनाक थियो। सम्भवतः उनकी आमा मारिएकी थिइन् र उनलाई बेचिएको थियो। किन्नेहरूले रातदिन गरेको दुर्व्यवहार र हिंसाका कारण उनी कसैलाई विश्वास गर्न नसक्ने र आक्रामक बनेकी थिइन्।
दुई महिनाको प्रयासपछि सुरूमा दुई जनाबीच मित्रता भयो, अनि प्रेम।
त्यो प्रेमको सबैभन्दा बेजोड पक्ष— कलिमा मानिस थिइनन्, चिम्पान्जी थिइन्।
शिकारीहरूले वयस्क चिम्पान्जीलाई मारेर मासुका लागि बेचेपछि बच्चाहरूलाई पाल्तु जनावरका रूपमा मानिसहरूलाई बेच्थे, बेच्छन्। मानिसका घरमा सिक्रीले बाँधिएर जीवन गुजार्नु उनीहरूका लागि जेलभन्दा कम हुँदैन। त्यसबाहेक धेरै जसो त्यस्ता बच्चा चिम्पान्जीहरूले बाआमा लगायत समूहका वयस्कहरू मारिएका वीभत्स दृश्य हेरेका हुँदा विक्षिप्त भइसकेका हुन्छन्।
ल्विरोको पुनर्स्थापना केन्द्र त्यसरी अवैध रूपमा बेचिएका चिम्पान्जीका बच्चा उद्धार गरेपछि पठाउने ठाउँ हो। त्यहाँ रहँदा मामाले केही कामको जिम्मा लिइन्— ती बच्चाहरूलाई खुवाउने, खेलाउने र हेरचाह गर्ने।
वर्षौंपछि पहिलोपल्ट मामाले आफूलाई ‘बलात्कृत केटी’ भनेर मूल्यांकन नगर्ने साथीहरू भेटिन्। चिम्पान्जीका बच्चाहरूसित निर्धक्क हाँसिन्, खेलिन्। तिनलाई माया दिएर वियोग र हिंसाका कारण परेको मानसिक आघातबाट बाहिर आउन सघाइन्।
बदलामा आफ्नो मनभित्र पत्रैपत्र बनेर बसेको पीडालाई पनि ‘प्रोसेस’ गरिन्। हाँस्नु र खेल्नु कुनै बेला उनको कल्पनाभन्दा बाहिरका कुरा थिए भने अब दैनिक जीवनको हिस्सा बने।
विज्ञ मानिसले दिएको मनोपरामर्शले जुन मानसिक घाउहरू पुर्न सकेका थिएनन्, तिनलाई निकटतम तर फरक प्रजातिका बच्चाहरूसितको प्रेमले पुर्न थाल्यो।
उनलाई पछिल्ला धेरै वर्षहरूमा जति मानिसले स्पर्श गरेका थिए, ती सबै हिंस्रक र दानवीय थिए। ती मानिसका पुरुष हातहरू उनका लागि छुराभन्दा कम थिएनन्। उनले धेरै मानिसहरूबाट सुनेका वचन पनि छुराभन्दा कम निर्मम थिएनन्।
जटिल र जेलिएको गृहयुद्धमा उनीजस्ता किशोरी र महिलाहरू सबै पक्षका पहिलो निशाना बनेका थिए। उनकी साथी र काकी झैं नमारिनेहरू हरदम बलात्कार र कठोर हिंसाको जोखिमबाट गुज्रिरहेका थिए। त्यसैले हिंसा नचलिरहेको बेला पनि उनीहरू आतंकको छायामा थिए। शरीरमा पीडा नहुँदा पनि उनीहरू भयंकर मानसिक पीडाबाट गुज्रिरहेका थिए।
एउटा तथ्यांक भन्छ— कंगोको सानो भौगोलिक क्षेत्रमा दिनमा औसतमा बीस बलात्कारका घटना घट्छन्।
यो कटु यथार्थका बीच मामा जवाडीले ल्विरोको पुनर्स्थापना केन्द्रमा प्रेम र वात्सल्यका साथ निर्धक्क जीवन बिताउन पाइन्।
यो कथा मलाई यसरी टुंग्याउन मन थियो। तर कुनै पनि कथाको उज्यालो र संयोगान्त टुंगो अक्सर आख्यानमा मात्रै सम्भव हुन्छ।
पछिल्लो पटक मैले थाहा पाउँदा ल्विरोमा गृहयुद्धको ज्वरो उत्तिकै थियो। बलात्कार लगायतको हिंसाको पारा उस्तै। लोप हुने संघारमा रहेका त्यहाँको जंगलका चिम्पान्जीहरू जोगाउने जागिर खाने वार्डेनहरू त्यहाँ संसारकै उच्च दरमा मारिइरहेका थिए। वयस्क चिम्पान्जीलाई मारेर बेचेपछि बच्चाहरूलाई ज्युँदै बेच्ने उपक्रम उस्तै थियो।
ल्विरो पुनर्स्थापना केन्द्रमा दिउँसो मामा जवाडीले हाँसखेल गर्दै चिम्पान्जीका बच्चाहरूलाई बोतलमा पाउडर दूध घोलेर ख्वाउँथिन्। तर रात रातभर वरिपरिका बस्ती र जंगलबाट मेसिन-गनको आवाज आइरहन्थ्यो। १९९० को दशकमा रूवाण्डमा कुख्यात आम नरसंहार मच्चाउने हुतु विद्रोही समूहका गुटहरू कंगोका जंगलमा स्वतन्त्रतापूर्वक घुमिरहेका थिए। बलात्कारलाई हतियारका रूपमा प्रयोग गर्ने क्रम उस्तै थियो।
तर त्यसका बाबजुद पनि मामा ल्विरोमा टिकेर आफूजस्तै वियोग र पीडामा रहेका चिम्पान्जीका बच्चाहरूको सेवा गरिरहेकी छन्। स्पेनी मनोविज्ञ लोरेना कार्डेसोजस्ता महिलाहरूले आफ्नो ज्यानै जोखिममा पारेर ल्विरोजस्तो गृहयुद्धका कारण अस्तव्यस्त ठाउँमा गएर मामाजस्ता मानिस र कलिमाजस्ता चिम्पान्जी दुवैको सेवा गरिरहेका छन्।
अनि गृहयुद्धको भयावह हिंसा र पीडाबीच पनि मानिस र चिम्पान्जीका शरीर र मनका घाउहरूमा मलमपट्टि गरिरहेका छन्। चौतर्फी हिंसा र निर्ममताका बीच पनि प्रेम, सद्भाव र सम्भावनाको ढोका खोलिरहेका छन्। हत्या, हिंसा र सबै खाले अपराधका बीचमा पनि प्रेम र जीवनले हार खाइसकेको छैन।
मेरा लागि आधुनिक युगको उत्कृष्ट प्रेमको मानक त्यही हो।