ब्रह्माण्ड अर्थात् सफ्टवेयरलाई मन्त्र। जुन सफ्टवेयरले ब्रह्माण्ड चल्छ, त्यो मन्त्र हो। जसबाट तपाईं पनि चल्नुहुन्छ र म पनि। देखिने संसार नै मन्त्रको पहिलो भाग हो, जसलाई वैश्वानर भनिन्छ। देखिने संसार भनेको भौतिक दृष्य। मानौं, रूख देख्दा आँखाले जे देख्छ र मस्तिष्कले जति विश्लेषण गर्छ, त्यति नै बुझ्ने हो। यसकारण वैश्वानरमा सीमा हुन्छ। मैले देखेको र तपाईंले देखेको रूखबीच भिन्नता आइहाल्छ। यसमा सीमित सोच हुन्छ, एकदमै सिमाना हुन्छ। समाज ईश्वर शब्दको अर्थ भगवान् भन्ने बुझ्छ। यसको पहिलो तह भनेको देखिने संसार हो। मन्त्रभित्र लुकेको सफ्टवेयर हो।
तैयस दोस्रो हो। यो विचारको लोक हो। कसैले देखेको रूखबारे मनन् र धारणा गर्यो भने एकदमै गहिराइ आउँछ अब। प्रत्येक व्यक्तिभित्र विचारको क्षमता छ। विचारको क्षमता रूखमाथि प्रक्षेपण गर्दा वा रूखलाई धारणा गर्दा अलग प्रकारले देखिन्छ। जस्तो, कविहरूले रूखहरू धेरै अग्लाअग्ला चित्रण गर्छन्। चित्रकारहरूले रूखहरूले आकाश छोइरहेका छन् र सूर्यसँग कुरा गरिरहेका हुन्छन् भनेर कोर्छन्। यो तैजस लोक हो। यो लोकको मन्त्र भौतिक विषयको सिमानामा बाँधिदैन। कविले काव्य बनाउन
सक्छ रुखलाई।
पूरै ब्रह्माण्ड जसरी बनेको छ, त्यसको संरचना आफैंमा मन्त्र हो। यस ओम् मन्त्रको प्रयोग जान्यौं भने पूरै ब्रह्माण्डलाई चलाउन जानिन्छ।
वैश्वानरमा सीमित व्यक्ति कहिले पनि कवि हुँदैन। आफूभित्रको लोकमा हेर्ने क्षमताले व्यक्तिलाई कवि बनाउँछ। विचारक बनाउँछ। दार्शनिक बनाउँछ, द्रष्टा बनाउँछ। तैजसको मन्त्रले मनलाई त्यहीअनुुसार विकास गर्छ। त्यही वृक्षसँग बस्नुभयो र वृक्षका बारेमा सोच्नु भएन। वृक्षकै ऊर्जामा रम्नुभयो। त्यसैलाई आफूभित्र प्रवेश गर्न दिनुभयो। त्यो वृक्षको शान्ति, उसको तपस्या। जो जन्मेदेखि एकैठाउँमा छ। उसलाई नगरकोट हेर्नु पनि छैन, न धुलिखेल नै। जे आयो त्यही खाएको छ। जे पर्यो, स्वीकार गरेको छ। त्यस वृक्षभित्रबाट उसले गहन कुरा सिक्छ।
सिर्जनात्मक चरणमा पुग्ने यसरी
तेस्रोमा म बसेमात्रै त्यो वृक्षको विराट छवि मभित्र बन्छ। बहुत शान्त वृक्षको जीवनको स्रोत, त्यसले जहाँबाट जीवन पाउँछ म पनि त्यही जीवनको स्रोतमा पुग्न सक्छु। त्यो वृक्षको जीवनको स्रोत र पूरै ब्रह्माण्डको जीवनको स्रोत एउटै हो। तेस्रो तह प्राज्ञतहको मन्त्रको साधना हो। यस्तोे व्यक्ति कुनै पनि वस्तुको स्रोतमा पुग्न सक्छ। पूरै ब्रह्माण्डलाई छुन्छ उसको चेतनाले। यो करिबकरिब दार्शनिकभन्दा पनि गहिरो ऋषि चेतनामा पुगेको अवस्था हो। दार्शनिक त विचारको क्षमता हो। दार्शनिक पचास–सय वर्षमा पुरानो हुन्छ। तर ऋषि कहिल्यै पुरानो हुँदैन। ऋषि अस्तित्वगत जगत् हो।
एक पटक त्यो मूल अजपा गायत्री वा बिज ब्रह्मको अनुभव गर्ने हो भने जीवनमा यति आनन्द, शान्ति र फलित हुन्छ कि व्यक्तिको जीवन हरप्रकारले सफल हुन्छ। तन–मन दुवै राम्रो हुन थाल्छ। उसका विचार, भावना र काम राम्रा हुन्छन्। उसको भाग्य नै खुल्छ।
अब वृक्षको प्राज्ञमा छिर्नु तेस्रो लोक हो। मन्त्रको तेस्रो सम्भावना हो। वृक्ष कहाँ छ भन्दा वृक्ष पृथ्वीमा छ पृथ्वी कहाँ छ भन्दा आकाशमा छ। आकाश कहाँ छ भन्दा सौर्यमण्डलमा छ सौर्यमण्डल कहाँ छ ? खोज्दै जानुभयो भने विराट फैलिएको ब्रह्म भेट्नु हुन्छ। त्यो ब्रह्मको अनुभव पनि तपाईंको अनुभव हो। त्यही वृक्षकै अनुभव हो। तपाईं ब्रह्मको अनुभवमा जानुभयो भने पूरै ब्रह्माण्डको स्रोत पत्ता लाग्छ। तपाईं अब पुराण लेख्न सक्ने बन्नुभयो।
तपाईं पूरै ब्रह्माण्ड जन्मेको ठाउँ नै पुग्नु भयो। तेस्रो लोक प्राज्ञलोक हो। पृथ्वी कसरी जन्मियो ? यहाँ भएका वस्तुहरू कसरी जन्मिए ? त्यसको स्रोत के हो ? पत्ता लगाउँछु र जन्मेको पत्ता लगाउनेबित्तिकै त्यसमाथि मेरो अधिकार हुन्छ। नयाँ पनि जन्माउन सक्छु मैले। त्यसकारण प्राज्ञलोकमा साधना गर्ने व्यक्तिले मन्त्रको बलले धेरै कुरा जन्माउन थाल्छ। उनीहरूको जीवन पनि फरक प्रकारको हुन्छ। तर जो चौथो लोकमा पुगेको छ। चतुर्थ लोकमा पुगेको व्यक्ति पूरै ब्रह्माण्ड जहाँबाट जन्मिन्छ, त्यही सकल ब्रह्माण्ड (ब्रह्म)को अनुभूतिमा प्रवेश गर्छ। त्यो ओम् हो। ओम्मा त चारवटै पर्छन्। तर यो चौथो मन्त्र सकल ब्रह्माण्डको पूर्णताको मन्त्र हो।
मन्त्रको चौथो तह सिद्धि प्राप्ति
चौथो तहमा पुगेर मन्त्र साधना गर्दा मानिस यति शान्त, आनन्दित र शक्तिशाली हुन्छ कि ऊ सकल ब्रह्माण्डको केन्द्रमै पुग्छ। अब तपाईंलाई केही चाहिँदैन। सबै तपाईंलाई प्राप्त हुन्छ। यसलाई प्राप्त प्राप्तव्य भनिन्छ। यो तहमा पुगेको व्यक्तिलाई तीनवटा गुणले सम्बोधन गरिन्छ। एउटा ज्ञात ज्ञातव्य, अर्को प्राप्त प्राप्तव्य र तेस्रो कृत कृत्य। ज्ञात ज्ञातव्य भनेको उसका लागि जान्न लायक केही पनि बचेन। प्राप्त प्रातव्यमा पाउनुपर्ने पनि केही रहेन, सबै प्राप्त छ। उसले मरेको पनि देख्यो जन्मेको पनि देखिसक्यो। भगवान् कृष्णले अर्जुनलाई विराट रूप देखाइदिए जस्तै। त्यसपछि तेस्रो उसले गर्नुपर्ने काम केही पनि बाँकी रहेन। कृतकृत्य हुन्छ ऊ।
तपाईंको शरीरमा रोग लागेको छ, सोको निवारण गर्ने मन्त्र हुन्छ। रोग के हो त ? ब्रह्माण्डको मूलमन्त्र ओम् हो। त्यससँग शरीर जति मात्रामा लयमा जाँदैन, त्यति मात्रामा रोग देखा पर्छ, यदि मूलतरंगसँग मिल्न सकेन भने।
वैश्वानरमा मात्र काम गर्ने मान्छेको मनमा कहिल्यै सन्तुष्ट हुँदैन। दोस्रो लोकमा पुग्नेले देख्छ कि म वैचारिक लोकमा त छु तर वैचारिक लोकमात्र होइन, सुषुप्ती पनि छ। तेस्रोमा पुग्नेको हिरण्य गर्भ चल्छ। जसले सबैको कारण देख्छ, बुझ्छ। सृष्टिको विषयमात्रै बुझ्छ। चतुर्थमा पुगेको व्यक्तिलाई मन्त्र सिद्ध अथवा मन्त्र द्रष्टा भनिन्छ। मन्त्र शब्दको अर्थ विराट छ। अर्थ बुझ्नुअघि मन्त्रका रूपहरू बुझौं। यसका रूप दुइटा हुन्छन्। एउटा, स्थिर रूप, जसले सत्य प्रकट गर्छ। अर्को, चलायमान रूप। जसले प्रकृतिका विभिन्न नियम प्रकट गर्छ। मन्त्रको स्थिर रूपबाट नै चलायमान रूपहरू जन्मन्छन्। त्यसकारण मन्त्रको स्थिर नै बह्माण्डको कारण तŒव हो।
ब्रह्माण्डको मूल शक्ति परमात्मा नै ‘मूल मन्त्र’ हो। यसकारण ‘ओम्’ मूल मन्त्र हो। ओम् परमात्मा हो, परमात्माको मन्त्र हो अनि सच्चिदानन्दकोे मन्त्र हो। ओम् परमात्माको वाचक र ध्वनि पनि हो। ओम्सम्म पुग्ने शाखा, प्रशाखा र अरू सबै जति पनि छन् तिनमा धर्म अध्यात्मले काम गरेको छ। आजसम्म इतिहास र भविष्यमा जति पनि हुनेछन्, ती सबै ओम्का अवयवहरू हुन्। त्यो चाहिँ स्थिर मन्त्र पनि हो, गद्यात्मक मन्त्र पनि। ओम्मा स्थिरता र गतिशीलता पनि छ।
ओम् नै मूल मन्त्र
ओम् भनें भने ‘ओ’ भन्दा गतिशीलता आयो र ‘म’भन्दा रोकियो र सँगै स्थिरता पनि आयो। अब गतिशीलता र स्थिरता भनेको के हो बुझ्यौं भने मन्त्रको मूल अर्थमा प्रवेश गर्न सहज हुनेछ। पूरै ब्रह्माण्ड जसरी बनेको छ, त्यसको संरचना आफैंमा मन्त्र हो। यस ओम् मन्त्रको प्रयोग जान्यौं भने पूरै ब्रह्माण्डलाई चलाउन जानिन्छ। मन्त्रको गतिशील रूपको पहिलो अंग हो, ‘विराट’। विराट भनेको देखिने जगत् हो। मन्त्रको देखिने रूप हो जगत्। ओम् मन्त्र आफूभित्र देखियो र मन्त्रमा स्थिर भयो भने व्यक्ति मन्त्रको माध्यमबाट विराट जगत् पाउन सक्छ। मन्त्रको दोस्रो रूप ‘तैजस’ अर्थात् स्वप्न लोक हो। इन्द्रियले देख्तैन, मनले देख्छ। मनले जे जति कल्पना गर्छ, सबैलाई हिरण्यगर्भ भनिन्छ। हिरण्यगर्भ खासमा मन्त्र जान्ने क्षमता हो। बाहिर देखिने भौतिक संसार विराट छ तर धेरै गुणा शक्तिशाली सूक्ष्म तहमा हिरण्यगर्भ हुन्छ।
खुसी हुँदा र नहुँदाको संसार
मानौं कि, तपाईं भित्रबाट खुसी हुनुहुन्छ भने संसारलाई एक प्रकारले देख्नु हुन्छ। दुःखी हुनुहुन्छ भने तपाईंको हिरण्यगर्भ बिग्रियो। त्यो भित्रको स्वप्न वा विचारको क्षमता बिग्रिएपछि बाहिर देखेको संसार अलग हुन्छ। त्यसैले एउटै परिवारका दुई सदस्य हुँदा पनि एउटा साधु बन्दा, अर्को भने हिंस्रक बन्न सक्छ। एउटा सबैलाई मद्दत गर्नुपर्छ भनेर लाग्छ तर अर्को मान्छे सबैलाई बिगार्नु पर्छ भनेर। किनभने उसको हिरण्यगर्भ (भित्रको मन्त्र) बिग्रियो। व्यक्ति बन्ने मन्त्रले हो। व्यक्तिमा विचार जन्मने आफूभित्रको मन्त्रले नै हो। हिरण्यगर्भ जसको ठिक छ, उसले सबैलाई राम्रो देख्छ र राम्रो बनाउने प्रयास गर्छ। हिरण्यगर्भ जसको बिग्रियो, उसको जीवनको मूलमन्त्र नै बिग्रिने प्रकारको हुन्छ र अर्कालाई बिगार्ने प्रकारको बन्छ।
ब्रह्माण्डको मूल तरंग ओम् हो भने मूलमन्त्र पनि ओम् हो। मभित्र ओम् नाम गरेको मन्त्र स्थिर भएको छ कि छैन ? छ भने म अत्यन्तै शान्त, प्रसन्न र जे गरे पनि ओजस्वी, तेजस्वी र सफल हुन्छु। म ब्रह्माण्डको मूल ओम्मा कति लयमा छु ? त्यसमा भर पर्छ।
मन्त्रको तेस्रो रूप हो, ईश्वर। ईश्वर के हो ? म स्वप्नलोक वा विचारको लोकमा पनि छैन, भौतिक लोकमा पनि छैन। गहिरो सुषुप्तिको अवस्था नै प्राज्ञ (ईश्वर)को रूप हो, प्राज्ञको मन्त्र हो। जुन गतिशील मन्त्रको तेस्रो रूप हो। अब मन्त्रमा आनन्द हुन्छ। जसलाई गहिरो निद्रा पर्छ, ऊ बहुत आनन्दमा जान्छ। बिहान उठ्दा चंगा हुन्छ। उसैले भन्न सक्छ, म स्वस्थ छु र सबै गर्न सक्छु। त्यो गहिरो निद्रामा मन्त्रको प्राज्ञ रूपसँग व्यक्तिको चेतना सम्पर्कमा आउँछ। ध्यानी व्यक्ति विराट लोकमा हुन्छ। मन्त्रले नै ‘म’लाई बनाएको हो। व्यक्ति ‘म’ले आजसम्म जति पनि कुरा सोच्छ ती सबैको आधारमा मभित्र मन्त्रको तरंग जन्मन्छ। सबै सोच जन्म–जन्मदेखि ‘मैले’ सोच्दै आएका कुरा ‘म’मा भावतरंगको रूपमा मन्त्र बनेर बसेका हुन्छन्। त्यो मन्त्र नै ‘म’बाट अभिव्यक्त हुने हो। यसप्रकार यी गतिशील मन्त्र तीनवटा छन्। यी मन्त्रलाई सक्रिय गर्ने र सकारात्मक बनाउने विधि हो, ‘मन्त्र साधना’। जसले तपाईंको भित्र नदेखिने आनन्दको लोक पनि बढाउँछ। विचारको लोक प्रज्वलित गराउँछ। र, तपाईंको बाहिरको भौतिक संसारलाई राम्रो बनाउँछ।
ग्र्याभिटेसन नै अध्यात्ममा ‘मन्त्र’
आधुनिक भौतिक विज्ञानमा गुरुत्वाकर्षणको नियम छ। उनीहरू भौतिक संसारको नियमलाई ‘ग्र्याभिटेसन’ भन्छन् हामी अध्यात्ममा ‘मन्त्र’ भन्छौं। त्यो मन्त्रको तरंगले गुरुत्वाकर्षण चल्छ। व्यक्ति वा पदार्थले ब्रह्माण्डको मूल गुरुत्वाकर्षणको तरंगसँग मेल नखाने काम गर्यो भने उसको मृत्युसम्म हुनसक्छ। त्यसैले मन्त्रको रूपमा रहेको ब्रह्माण्डको मूल नियमसँग व्यक्तिले आफूलाई तालमेल र एकाकार गर्नुपर्छ। त्यो मन्त्रसँग तालमेल गर्न सकें भने मेरो विराट र हिरण्यगर्भ ठिक हुन्छ अनि ईश्वर पनि ठिक ठाउँमा रहन्छ। अर्थात् तीनैवटा ‘म’भित्रका लोकहरू ठिक ठाउँमा आउँछन्। यो विराटलोकलाई गायत्री मन्त्रमा ‘भू’ अथवा ‘भूर्’ भनिन्छ। दोस्रो रूपलाई ‘भूव’ भनिन्छ। तेस्रोलाई ‘स्व’ लोक भनिन्छ। त्यही भएर ईश्वर भएको हो।
गायत्री मन्त्र ‘ओम् भूर् भुवः स्व तत्सवितुर्वरेण्यं भर्गो देवस्य धिमहि धियो यो नः प्रचोदयात्’ तीनवटा लोकको कुरा हो। तीनवटै लोक प्रकाशित हुन् भनेर गायत्री मन्त्रलाई भनिरहेको हुन्छ। तीनवटैलाई उज्यालो बनाउन सकुँ भनेर ब्रह्माण्डको मूल मन्त्रलाई पुकारिरहेको हुन्छ व्यक्ति। ब्रह्माण्डको मूल मन्त्र ओम् हो। त्यही भएर ओम् भूर्भूर्वः स्वः भन्छौं। हे ओम् मेरा लोकहरू प्रकाशित गर। त्यसकारण ओम् परमात्माको मन्त्र हो। त्यो ओम्सँग मिल्दाजुल्दा तरंगहरू टिक्छन्। होइन भने जो व्यक्तिको तरंग ओम्सँग मिल्दोजुल्दो छैन, ऊ रोगी र चिन्ताग्रस्त हुन्छ। ऊ तरंगबाट पनि बाहिर जान्छ। तरंगबाट बाहिर जानु मृत्यु हो। मन्त्रको तरंगमा प्रवेश गर्नु जन्म हो।
यन्त्र, मन्त्र र तन्त्र
ब्रह्माण्डको मूल तरंग ओम् हो भने मूलमन्त्र पनि ओम् हो। मभित्र ओम् नाम गरेको मन्त्र स्थिर भएको छ कि छैन ? छ भने म अत्यन्तै शान्त, प्रसन्न र जे गरे पनि ओजस्वी, तेजस्वी र सफल हुन्छु। म ब्रह्माण्डको मूल ओम्मा कति लयमा छु, त्यसमा भर पर्छ। परमात्मारूपी ओम् मन्त्र त्यो ध्वनिको रूपमा पनि प्रकट हुन्छ। चित्रको रूपमा पनि ओम् देख्छौं। प्रत्येक व्यक्तिको आभामण्डल छ, मन छ। त्यो आफैंमा मन्त्र हो। मेरो शरीर पनि स्वयंमा मन्त्र हो। अर्को प्रकारले हेर्ने हो भने सत्यका तीनवटा रूप छन्, यन्त्र, मन्त्र र तन्त्र।
सामान्यतः भौतिक विषय मसिन आदिलाई यन्त्र भनिन्छ। अध्यात्मले अभौतिक परमात्मासम्म जान पनि यन्त्र शब्द प्रयोग गर्छ। त्यही भएर हामी श्रीयन्त्र (लक्ष्मी यन्त्र) प्रयोग गर्छौं। देखिनेबाट नदेखिने विषयसम्म जाने विज्ञान हो, यन्त्र। दोस्रो, मन्त्र। मन्त्रको अर्थ विराट स्वरूप पनि हुन्छ। जसमा तन्त्र र यन्त्र दुवै पर्छन्। मनलाई सञ्चालन गर्ने मनको तन्त्रलाई मन्त्र भनिन्छ। तेस्रो हुन्छ, तन्त्र। तन्त्र भनेको वस्तु र आत्माको जोड हो। कुनै वस्तुको आत्मासँग जोड हेर्नु पर्यो भने त्यो तन्त्र हो। आत्मा भनेको ओम् हो। तन्त्र, मन्त्र, टुना, मुना भनेर असाध्यै दुरुपयोग भएको पनि छ। वास्तवमा तन्त्र शब्द कसैलाई बिगार्ने अर्थमा बुुझ्नु हुँदैन। तन्त्र आत्माको तरंग र मन्त्रसँग ओम्लाई एकाकार गर्न प्रयोग गर्ने विधि हो। आफू विराट बन्ने विधि हो, तन्त्र।
विभिन्न प्रकारका मन्त्रहरूको मूल अर्थात् बीज मन्त्र चाहिँ ओम् नै हो। किनभने ओम्बाटै सबै मन्त्र प्रकट भएका हुन्। हिन्दू धर्मावलम्बीको मात्रै होइन, बौद्ध, इसाइ, इस्लामहरूमा जति पनि मन्त्र छन्, सबै मन्त्रहरूको मूलमा ओम् नै छ। हरेक विषयको मन्त्र हुन्छ। तपाईंको शरीरमा रोग लागेको छ, सोको निवारण गर्ने मन्त्र हुन्छ। रोग के हो त ? ब्रह्माण्डको मूलमन्त्र ओम्सँग शरीर जति मात्रामा लयमा जाँदैन, त्यति मात्रामा रोग देखा पर्छ। ओम्सँग लयमा भइनँ वा लयबाट तलमाथि भएँ भने शरीरमा रोग देखा पर्छ।
शरीर स्वयं मन्त्र
मनमा विभिन्न प्रकारका समस्या भए वा मन कमजोर भयो भने निवारण गर्ने मन्त्रहरू प्रयोग गर्नु पर्छ। त्यसैगरी, चेतना ठिक ठाउँमा छैन वा आफूभित्र स्थिर वा शान्त अनुभव गर्दिनँ भने मेरो चेतनाको मन्त्र बिग्रियो भनेर बुझ्नुपर्छ। त्यसलाई ठीक पार्ने मन्त्र छन्। शरीर स्वयं मन्त्र हो। शरीर र व्यक्तित्व ओम्को मूलमन्त्रबाट बनेको हुन्छ। यसरी नै पूरै सृष्टि एक हो। ओम् अद्वेत (दुई छैन, एक हो) मन्त्र हो। मन्त्रको दुरुपयोगले मान्छेलाई असर गर्छ नै। कसैले नराम्रो मन्त्रले प्रहार गर्यो भने त्यसबाट कसरी बच्ने ? भन्ने विधि पनि छ। हामी ‘जीवन विज्ञान’मा जे सिकाउँछौं, त्यसमा मान्छेले दुरुपयोग गर्न सक्ने सम्भावना हुँदैन। दुरुपयोगको विज्ञानतिर हामी जाँदैनौं। जब ‘हामी’ स्थिर हुन सिक्छौं तब परमात्मा (आनन्द)मा जान सिक्छौं। अब आनन्द, कल्याण र सर्वहितबाहेक केही पनि रहँदैन। यसकारण आध्यात्मिक व्यक्तिले कसैलाई र कहिल्यै पनि हानि पुर्याउन सक्दैन, कसैको कुभलो गर्दैन। आध्यात्मिक व्यक्तिले सबैमा आफ्नै फैलावट देख्छ। यस्तो एकाकारमा भावमा पुगेको मानिसले गल्तीसम्म गर्दैन।
मन्त्रको सदुपयोग÷दुरुपयोग
पानी पनि एक प्रकारको मन्त्र हो। रसायनको ‘संरचना’ नै मन्त्र हो। विचारका कणहरूले पानी बन्छ। मन्त्र पनि विचारको कण हो। मैले विचारका कण सम्प्रषित गरें भने त्यो पानी पनि प्रभावित हुन्छ। सबैभन्दा राम्रो अनुसन्धान जापानमा छ, पानीको बारेमा। पानी क्रिस्टलजस्तो मिलेर परमाणुहरू बन्छ, कसैलाई गाली गरें भने ती परमाणु एकछिनमै बिग्रिन थाल्छन्। त्यो पानी कसैले खायो भने उसलाई पेट दुख्ने समस्या हुन्छ वा थाहै नपाई उसलार्ई केही न केही नराम्रो गर्छ। प्रार्थना गरें, राम्रो भाव प्रकट गरें वा नमस्कार गरें भने फेरि पानी अर्कै प्रकारले प्रभावित हुन्छ। रमाइलो कुरा के छ भने जापानिजहरूले के भेटे भने सबैभन्दा राम्रो मन्त्र ‘ओम्’ रहेछ। जापानमा भएको यो अनुसन्धानको पुस्तक नै छ। एउटा होइन, सयौं खोजहरू छन्, यस विषयमा।
युरोपमा लामो समय एउटा संस्कृति चल्यो। जो व्यक्ति सफल हुन्छ, उसले लगाएको लुगाको सानो झुत्रो पनि घरमा लगेर राख्यो भने व्यक्ति सफल हुन्छ। यसमा धेरै हदसम्म सत्यता छ। किनभने सफलता पनि एउटा मन्त्र हो। व्यक्तिभित्र एउटा मन्त्र बनेको छ र उसको लुगामा त्यो व्यक्तिको मन्त्र विस्तारै सर्छ, प्रसारित गर्छ। त्यो मन्त्रले त्यो लुगालाई प्रभावित गर्छ। त्यो लुगाको एउटा टुक्रा लिएर आएँ भने त्यो मन्त्रजस्तै हुन्छ। त्यसबेलाका विश्वविख्यातहरूको जीवनी पढ्यौं भने उनी बाहिरबाट फर्केर घर आइपुग्दा करिबकरिब नग्न हुन्थे। मान्छेहरू जबर्जस्ती उनको लुगाको सानो टुक्रा भए पनि लिएर जान्थे। मन्त्रको सानो भाग पायो अर्थात् आशीर्वाद। त्यो मन्त्र हो। त्यो व्यक्तिभित्र आफैं मन्त्र बनिरहेको छ, छुट्टै मन्त्र बनाउनु पर्दैन। मन्त्रले आशीर्वाद दिन मिल्छ।
जीवन विज्ञानभित्रको विज्ञान
‘जीवन विज्ञान’ले जीवनको जुन मूलमन्त्र छ, ‘ओम्’ यसको अद्भुत चमत्कार हुँदोरहेछ भनेर सिकाइरहेछ। यो मन्त्र जसले आफूभित्र अनुभव (चार प्रकार)ले गर्छ, उसको हृदयको गहिराइमा ओम्को अनुभव आफैं आउँछ, अजपा गायत्रीको रूपमा। तर बाहिर चाहिँ जपा गायत्रीको रूपमा कि विराट कि हिरण्यगर्भ कि ईश्वरको रूपमा आउँछ। एक पटक त्यो मूल अजपा गायत्री वा बिज ब्रह्मको अनुभव गर्ने हो भने जीवनमा यति आनन्द, शान्ति र स्वास्थ्य फलित हुन्छ कि व्यक्तिको जीवन हरप्रकारले सफल हुन्छ। तन–मन दुवै राम्रो हुन थाल्छ। उसका विचार, भावना र काम राम्रा हुन्छन्। उसको भाग्य नै खुल्छ। यसरी बल्ल ब्रह्माण्डको मूलमन्त्रसँग व्यक्ति जोडिन्छ। यसैले ‘जीवन विज्ञान’को अवधारणा मानिसलाई उनीहरूकै मूलमन्त्रसँग जोडिदिने हो। जीवन विज्ञान एउटा मन्त्रको फैलावट हो। ब्रह्माण्ड चल्ने तरिका नै मन्त्र हो। तर, सही प्रयोग हुन सकिरहेको छैन। मन्त्रको सही प्रयोग गर्न जानेको दिन त मनुष्य त दिव्य भइहाल्छ नि।
मन्त्र यसरी प्रभावकारी
मानिसलाई सिधै मन्त्र सिकाएर केही हुँदैन। पहिला व्यक्तिलाई ध्यान सिकाएर आध्यात्मिक बनाउनु पर्छ। आध्यात्मिक बनाउनु भनेको ओम्सँग एकाकार गर्नु हो। ‘ओम्’ हिन्दू धर्मको मात्र सम्पत्ति होइन। यो त ब्रह्माण्डीय मन्त्र हो। पछिल्लो समय मान्छेको बुझाइ कमजोर भएको हो। ओम्सँग जोड्न ध्यान, साधना र भक्तिको माध्यमबाट सम्भव छ। मन्त्र भावतरंग हो। जीवन विज्ञान एक आध्यात्मिक संस्था हुनुको नाताले हाम्रो काम व्यक्तिहरूलाई सकारात्मक जीवन ज्यून सिकाउने, साधना सिकाउने, आँट, जोस र जाँगर बढाउने, स्वास्थ्यलाई आफैं सक्रिय गर्ने विधि सिकाउने र सँगसँगै ओम्सँग लगेर जोडिदिने हो। यो मन्त्रको मूल विज्ञानमा आधारित प्रणाली हो।
मन्त्रका तीनवटा भाव मिल्नुपर्छ अनि बल्ल मन्त्र प्रभावकारी हुन्छ। पहिलो, मन्त्र उच्चारण गर्ने विधि। हिमालकै सफा पानी पनि फोहोर भाँडामा हालेर अर्को सफा भाँडामा हाल्न खोज्यो भने फोहोर नै हुन्छ। त्यसले मन्त्र वाचन गर्ने पण्डित÷गुरुको जीवन सादगी र सात्विकताले भरिएको छ कि छैन ? त्यो मन्त्रको भूमि सही हुनुपर्छ। मन्त्र सम्प्रेषित गर्ने वातावरण र विधि हुन्छ। सबै मन्त्रलाई शक्ति दिने देवता हुन्छन्। प्रत्येक मन्त्रको आफ्नो इष्टदेवता हुन्छन्। देवीदेवता सबै सही वातावरण बनायो भने बल्ल आकर्षित हुन्छन्। दोस्रो हो उपयुक्त वातावरण। तेस्रो हो मन्त्रको प्रयोग।
मन्त्र त शुद्ध विज्ञान हो। राम्रो खाना खुवाए पनि जिब्रो चल्दैन, मुख बन्द छ वा उसको पाचन प्रणाली बिग्रिएको छ भने भोजनले राम्रो काम गर्दैन। मन्त्र जप्न गुरुलाई अनुरोध गर्ने यजमानको नियत, शरीर, मन र चित्तसमेत शुद्धि हुनुपर्छ। होइन भने उसले मन्त्रको फाइदा पूरै लिन सक्दैन। यहाँ पण्डित, गुरु र महाराजहरूको मात्र समस्या होइन। वातावरण, सात्विकपन र आध्यात्मिक वातावरणको निर्माण सबै गर्न बाँकी छ।
कसैले कसैलाई ठग्यो भने ठग्नु नै उसको मन्त्र बन्छ। अब त्यसले सर्वप्रथम आफैंलाई हित गर्दैन। अब ठगी गर्नेहरूको चर्चै जरुरी भएन। मन्त्रहरूको दुरुपयोग गर्ने व्यक्तिले आफ्नै जीवनलाई दुरुपयोग गरेको हो। मन्त्रको नियम के छ भने तपाईंलाई अपमान गरें भने मेरै मन्त्र बिग्रिन्छ, तपाईंलाई धेरै असर गर्दैन। अरूको अपमान कालान्तरमा आफैंलाई अपमान गर्नु हो। अध्यात्मले के सिकाउँछ भने यहाँ तपाईंले कसैलाई ठग्न सक्नु हुन्न। ठग्ने भनेको आफैंलाई हो। कसैले यति मन्त्र पढ्छु, पाठ गर्दिन्छु भनेर कसैले कोहीबाट धन उठायो तर सदुपयोग गरेन भने उसकै मन्त्र बिग्रँदै जान्छ। हजार रुपैयाँ उठाउला तर उसलाई दस हजार घाटा भइरहेको हुन्छ, नदेखेर मात्र हो।
मन्त्र कसरी विज्ञान हो ?
जुन विज्ञानको आधारमा सम्पूर्ण ब्रह्माण्ड चल्छ। ब्रह्माण्डका स–साना अंगहरू चल्छन् जुन प्रणालीमा छ। त्यसैलाई हामी नियम भन्छौं। त्यसैलाई अध्यात्मले मन्त्र भन्छ। गुरुत्वाकर्षण एउटा मन्त्र हो। ऋतु एउटा मन्त्र हो। मान्छेका सन्तानले निश्चित प्रकारले बोल्छ, हिँड्छ। त्यसले उसको आफ्नै प्रकारको मन्त्र छ। माछा वा बिरालाको बच्चाको आफ्नै प्रकारको मन्त्र छ। तुलसी वा निमको बोटको आफ्नै प्रकारको मन्त्र हुन्छ। अर्थात्, सबैको आफ्नै मन्त्र हुन्छ। त्यसकारण यो ठीक विज्ञान हो। मन्त्र जस्तो छ, व्यक्ति र ऊ वरिपरिको वातावरण उस्तै हुन्छ।
जीवन विकास विशेषज्ञ शर्मा जीवन विज्ञानका संस्थापकसँग अन्नपूर्णकर्मी गोपीकृष्ण ढुंगानाले गरेको कुराकानीमा आधारित ।
मन्त्रसँग तालमेल गर्न सक्यो भने मानिसको विराट र हिरण्यगर्भ ठिक हुन्छ अनि ईश्वर पनि ठिक ठाउँमा रहन्छ। अर्थात् तीनैवटा मान्छेभित्रका लोकहरू ठिक ठाउँमा आउँछन्। यो विराटलोकलाई गायत्री मन्त्रमा ‘भू’ अथवा ‘भूर्’ भनिन्छ। दोस्रो रूपलाई ‘भूव’ भनिन्छ। तेस्रोलाई ‘स्व’ लोक भनिन्छ। यसरी ईश्वर भएको हो।