नेभिगेसन मेनु

शिवरात्रिमा एक करोडको फूल र बत्तीले सजाइँदै पशुपति
सम्पादक:南亚网络电视
समय:2023-02-13 13:46

pasupati2023-02-13-08-41-46

शिवरात्रि आउन केही दिन मात्रै बाँकी छँदा पशुपतिनाथ मन्दिरपरिसरमा सजावट कार्य सुरु भएको छ । ६ फागुनको महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले मन्दिरपरिसरमा फूलमाला र बत्तीले सजावट गर्ने, शिव–पार्वती, गणेश र पशुपतिनाथ मन्दिरसँग सम्बन्धित चित्रकला कोर्ने, आसपासका सडक मर्मत गर्ने, लाइन व्यवस्थापनका लागि डोरी टाँग्ने, गेट निर्माण गर्ने, साधुसन्तका लागि बसोवास व्यवस्थापन गर्नेलगायत कार्य थालेको हो । 

कोषले यसपटक फूल र बत्तीको सजावटका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ । यसबाहेक सजावटका कार्यका लागि दाताहरूले आर्थिक सहयोग गर्ने बताइएको छ । कोषले यो वर्ष शिवरात्रिका लागि ८० लाख रुपैयाँ छुट्याएको थियो भने २० लाख कोषको मौज्दात खाताबाट खर्च हुनेछ । यसबाहेक मन्दिरपरिसरमा रहेका पर्खाल र सडकका लागि कोषले १० लाख छुट्याएर काम गरिरहेको छ । कोषले साधुसन्त व्यवस्थापनका लागि करिब १० लाख छुट्याएको छ । 

शिवरात्रिका दिन भक्तजनको भिड व्यवस्थापन, सुरक्षा, यातायात सहजीकरण, विदेशी आगन्तुकहरूलाई बसोवासलगायत तयारीसम्बन्धी कार्य भइरहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनका अनुसार यस वर्ष शिवरात्रिका अवसरमा भारतबाट आउने भक्तजन तथा साधुसन्तको संख्या धेरै हुने भएकाले सोहीअनुसार तयारी गरिएको छ । कोषले यसपटक शिवरात्रिका दिन वेदको व्याख्या सम्बन्धित विशेष प्रवचनका लागि भारतको जग्गानाथपुरी मठका मठाधीश जगद्गुरु निश्चलनान्द सरस्वतीलाई डाकेको छ । भारतका चारवटा प्रसिद्ध हिन्दू मठमध्येका एक मठका मठाधीशलाई शिवरात्रिका दिन डाकिएको हो । जगद्गुरु निश्चलनान्दले हिन्दू दर्शन, वेद र शिव पार्वतीको कथामा तीन दिन प्रवचन दिनेछन् ।  

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारी भन्छन् – शिवरात्रिका दिन भक्तजनको भिड व्यवस्थापन, सुरक्षा, यातायात सहजीकरण, विदेशी आगन्तुकलाई बसोवासलगायत तयारीसम्बन्धी कार्य भइरहेको छ । यस वर्ष भारतबाट आउने भक्तजन तथा साधुसन्तको संख्या धेरै हुने भएकाले सोहीअनुसार तयारी गरिएको छ ।

शिवरात्रिका दिन साँझ ५ः२० बजे राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथ मन्दिरमा दर्शन र विशेष पूजामा सहभागी हुनेछिन् । राष्ट्रको शान्ति र समृद्धिका लागि पूजा आयोजना गरिएको हो । राष्ट्रपतिको सवारी हुने वेलामा अन्य भक्तजनलाई मन्दिर प्रवेशमा रोकिनेछ । 

 गाँजा बाँड्ने साधुसन्तदेखि भक्तजनसम्मलाई कारबाही गरिने
शिवरात्रि पर्वमा गाँजा प्रयोगमा कडाइ गरिने भएको छ । विगतका वर्षहरूमा गाँजाको प्रयोग बढी भएको भन्दै कोषले यो वर्ष थप कडाइ गर्न लागेको हो । कोषले भारतीय साधुसन्तहरूलाई गाँजा बाँड्न कडाइ गर्न प्रहरीसँग समन्वय गरेको छ । कानुनले नै लागुपदार्थ ठम्याएकाले त्यसलाई कडाइ गरिने कोषका प्रवक्ता अधिकारीले बताए । उनले गाँजा बाँडेको पाइएमा साधुसन्तदेखि भक्तजनसम्मलाई कारबाही हुने बताए । ‘विगतमा गाँजाको प्रयोग हुनेमा धेरै कडाइ गर्न सकिएन, तर यसपटक गाँजा बन्देज गरिएको छ,’ उनले भने, ‘गाँजा बाँड्ने र सेवन गर्ने दुवैलाई प्रहरीले पक्राउ गर्नेछ ।’ 

 दर्शन गर्न तीनवटा लाइन र चारवटा ढोकाबाट प्रवेश गर्न पाइने
कोषले शिवरात्रिका दिन भक्तजनको सहजताका लागि तीनवटा लाइन र चारवटा ढोकाबाट प्रवेश गराउने तयारी गरेको छ । जयबागेश्वरी, तिलगंगा र गौशाला हुँदै लाइन बसेका भक्तजनहरूलाई चारवटा ढोकाबाट दर्शनका लागि प्रवेश गराइनेछ । भिड कम गर्न चारैतिरका ढोका खोलिने कोषका प्रवक्ता अधिकारीले जानकारी दिए । उनका अनुसार सो दिन बिहान तीन बजेदेखि नै भक्तजनलाई मन्दिर प्रवेश गराइनेछ । वृद्धवृद्धालगायतको हकमा भने लाइन बस्नुपर्नेछैन । 

 झन्डै आठ सय सुरक्षाकर्मी 
महाशिवरात्रिका दिन सुरक्षा व्यवस्थापनको जिम्मा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान प्रहरी र नेपाली सेनालाई दिइएको छ । यी निकायबाट झन्डै आठ सय सुरक्षाकर्मी परिचालन हुने कोषले जनाएको छ । गाँजा सेवन तथा वितरण गर्नेमाथि प्रहरीले निगरानी राख्नेछ । नेपाल प्रहरी र नेपाली सेनाले खोजखबर कक्षसमेत त्यहाँ स्थापना गर्नेछन् । त्यस्तै, मारवाडी सेवा समिति, नेपाल स्काउट, नेपाल स्वयंसेवक संघले लाइन व्यवस्थापन र भक्तजनको सहजताका लागि काम गर्नेछन् । 

 तीन हजार साधुसन्त आउने अनुमान 
गत वर्षको तुलनामा यो वर्ष साधुसन्तको संख्या बढ्ने अनुमान गरिएको छ । गत वर्ष करिब दुई हजार साधुसन्त आएकोमा यसपटक तीन हजार हाराहारी साधुसन्त आउनेछन् । त्यसमध्ये झन्डै एक हजार दुई सय ‘नागा बाबा’ आउने अनुमान गरिएको कोषका प्रवक्ता अधिकारीले जानकारी दिए । उनका अनुसार साधुसन्तको भिड बढ्न सक्ने भएकाले उनीहरूलाई बसोवासका लागि ठाउँ व्यवस्थापन गर्ने कार्य पनि भइरहेको छ ।  

 यसरी हुनेछ सवारी व्यवस्थापन
शिवरात्रिका दिन सडक अस्तव्यस्त हुने भएकाले कोषले नेपाल प्रहरीसँग मिलेर सवारी व्यवस्थापनको तयारी गरेको छ । प्रहरी प्रधान कार्यालय, उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्रहरीवृत्त गौशालाले सवारी तथा पार्किङ व्यवस्थापन मिलाउनेछन् । कोषले चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा अवरोध नहुने गरी सवारी व्यवस्थापन गर्न ट्राफिक प्रहरीसँग समन्वय गरेको छ ।

भक्तजनको भिडका कारण सडक नै जाम भएमा वैकल्पिक मार्ग प्रयोग गरिनेछ । चक्रपथ हुँदै चल्ने सवारीसाधनलाई भित्री सडक तोकिनेछ । धोबी खोला करिडोर, ज्ञानेश्वर, मित्रपार्क ओरालोलगायत सडक वैकल्पिक रूपमा प्रयोग हुनेछन् । त्यस्तै, तिनकुनेतर्फ हुँदै आएका सवारीसाधन सिनमंगल, नयाँ बानेश्वरतर्फबाट गुड्न दिइनेछ । सो दिन मालबाहक सवारीसाधनलाई रोकिनेछ ।

कोटेश्वरतर्फबाट आएका मालवाहक गाडी तिनकुने र महाराजगन्ज हुँदै आएका मालवाहक सवारीसाधन चाबहिलमा रोकिनेछ । गौशाला चोकमा भिडभाड भएर सवारीसाधन चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ जाने सवारीसाधन रोकिनेछ । त्यस्तै, बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी, रातोपुल, सिफल चौर, जयबागेश्वरीबाट आउने सवारीसाधनलाई पनि रोकिनेछ । ती सवारीसाधनले वैकल्पिक मार्ग अपनाउनुपर्नेछ । 

 यी ठाउँमा तोकिएको छ पार्किङ 
भक्तजन चारैतिरबाट आउने भएकाले शिवरात्रिका दिन पशुपति क्षेत्रमा पार्किङको समस्या हुन्छ । कोषले ट्राफिकसँग समन्वय गरी वनकाली खुला चौर, गुह्येश्वरी, भण्डारखाल, सिफलचौर, अमलकोट, पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसर, तिलगंगा आँखा अस्पतालबाहिरको खाली ठाउँलगायतमा पार्किङको व्यवस्थापन गरेको छ । सरकारी निकायका पदाधिकारी र सुरक्षा निकायका सवारीसाधन गौशाला प्रहरीवृत्त, कोषको कार्यालय र कोषको भित्री खाली जग्गामा पार्किङ गर्न पाइनेछ । 

 सिसिटिभीमार्फत निगरानी राख्न निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले महाशिवरात्रिमा पशुपतिपरिसर क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएका छन् । महाशिवरात्रिको पूर्वसन्ध्यामा आइतबार आयोजित सरसफाइ अभियानमा उनले सुरक्षा व्यवस्था बलियो बनाउन सिसिटिभीमार्फत निगरानी राख्न निर्देशन दिएका हुन् । सरसफाइ अभियानका क्रममा मन्त्री किराँतीले यस क्षेत्रमा कुहिने र नकुहिने फोहोर व्यवस्थानका लागि छुट्टाछुट्टै ‘डस्टबिन’ राख्न कोषका पदाधिकारीलाई निर्देशन दिए । उनले पशुपति क्षेत्रमा आउने दर्शकका लागि सहज शौचालयको व्यवस्था गर्नसमेत आग्रह गरे । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर